काठमाण्डौ। नेकपा(एमाले)का नेता रामबहादुर थापा ‘बादल’ ले सरकारको नीति तथा कार्यक्रममाथि कडा आलोचना गरेका छन्। मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सरकारले मुलुक र जनताविरुद्ध भएका गम्भीर घटनाबारे मौनता अपनाएको आरोप लगाए।
बादलले राष्ट्रिय झण्डा ओढेर देश जलाउने गतिविधिमा संलग्न व्यक्तिहरूप्रति सरकारको नीति तथा कार्यक्रम मौन रहेको भन्दै आश्चर्य व्यक्त गरे। उनले देश संकटमा पर्दा सुरक्षा निकायको भूमिकामाथि समेत प्रश्न उठाए।
“देश खरानी हुँदा र आफ्नै परमाधिपतिको मुख्यालयमा धावा बोल्दा नेपाली सेना राष्ट्रको प्रमुख रक्षक रहस्यमयी ढंगबाट किन मूकदर्शक बन्यो ?” उनले संसद्मा प्रश्न गरे।उनले नेपाली सेना माथि पनि टिप्पणी गर्दै लिपुलेकमा अतिक्रमण हुँदा मौन बसेको सेना सुकुम्बासी बस्तीमा भने सक्रिय देखिएको आरोप लगाए।
बादलले सरकारको आर्थिक नीतिमाथि पनि प्रश्न उठाए। “ऋण लिएर विकास हुँदैन भन्नेहरूले सरकारको पहिलो बैठकबाटै अर्बौं ऋण किन स्वीकृत गरे ?” उनले सोधे।उनले सोमबारको संयुक्त बैठकतर्फ संकेत गर्दै प्रधानमन्त्री बालेन्द्र शाह राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा बीचमै उठेर बाहिरिएको घटनाप्रति पनि असन्तुष्टि जनाए।
“सुशासन, सुसंस्कार र संस्कृतिको नमुना बन्नुपर्ने प्रतिनिधिसभामा बारम्बार असभ्य र अराजक आचरण प्रदर्शन भइरहेको छ,” उनले भने, “तर सम्मानित सदन र सभामुख किन लाचार र नतमस्तक हुनुपरेको हो उहाँले प्रश्न गरे।
प्रतिक्रिया