स्थानीय तहको निर्वाचनमा एमाले र नेकपाबीच सहकार्य हुने

bimbonline बिम्ब अनलाइन
२०८३ मंसिर ३ १५:२७ बजे

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाश ज्वालाले आगामी निर्वाचनमा नेकपा एमालेसँग चुनावी एकता र सहकार्य हुने लगभग पक्का भएको बताएका छन् । चुनावी सहकार्यपछि एमालेसँग पार्टी एकताको ढोका पनि खुल्ने उनको भनाइ रहेको छ ।

नेपाली कम्युनिस्ट पार्टी सल्यानले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा ज्वालाले आगामी स्थानीय तहको निर्वाचनमा सहकार्य हुने लगभग निश्चित भएको बताएका हुन् ।

कम्युनिस्ट आन्दोलनको एकतालाई आफ्नो पार्टीले मुख्य प्राथमिकतामा राखेको बताउँदै उनले अहिले एकता आवश्यक मात्र नभई अनिवार्य भएको बताए । यसका लागि आफ्नो पार्टीले वार्ता टोलीसमेत गठन गरिसकेको उनले जानकारी दिए ।

नेपालमा अहिले कम्युनिस्ट पार्टीमाथि विभिन्न कोणबाट आक्रमण भइरहेको बताउँदै उनले भने, ’हामी एमाले र नेपाली कम्युनिस्ट पार्टीबीचको एकताको विषयमा निष्कर्षमा पुगिसकेका छौँ। प्रदेशमा सहकार्य भइसकेको छ । अब चुनावी तालमेल र सहकार्य पनि हुन्छ ।’

विगतमा ओलीकै कारण कम्युनिस्ट पार्टीको एकता भङ्ग भएको इतिहास रहेको उल्लेख गर्दै ज्वालाले एकताका लागि खासगरी सिङ्गो एमाले र अध्यक्ष केपी शर्मा ओली तयार हुनुपर्ने बताएका छन् ।

 

२०८३ मंसिर ३ १५:२७ बजे

प्रतिक्रिया