काठमाडौं । नेपाल राष्ट्र बैङ्कका अनुसार चालु आर्थिक वर्ष २०८३/८४ को भदौ मसान्तसम्म नेपालको कुल विदेशी मुद्रा सञ्चिति ४० खर्ब ६५ अर्ब ७८ करोड रुपैयाँ पुगेको छ ।
असार मसान्तमा ३८ खर्ब ९७ अर्ब ६७ करोड रुपैयाँ रहेको विदेशी मुद्रा सञ्चिति दुई महिनामा ४.३ प्रतिशतले बढेको हो ।
अमेरिकी डलरमा गणना गर्दा विदेशी मुद्रा सञ्चिति असार मसान्तको २५ अर्ब ३१ करोड डलरबाट ४.६ प्रतिशतले बढेर भदौ मसान्तमा २६ अर्ब ४८ करोड डलर पुगेको छ ।
कुल विदेशी मुद्रा सञ्चितिमध्ये नेपाल राष्ट्र बैङ्कमा रहेको सञ्चिति असार मसान्तको ३४ खर्ब ३३ अर्ब १९ करोड रुपैयाँबाट ४ प्रतिशतले बढेर ३६ खर्ब १० अर्ब ७६ करोड रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैङ्कबाहेक बैङ्क तथा वित्तीय संस्थासँग रहेको विदेशी मुद्रा सञ्चिति ७.२ प्रतिशतले बढेर ४ खर्ब ५५ अर्ब १ करोड रुपैयाँ पुगेको छ। भदौ मसान्तसम्म कुल विदेशी मुद्रा सञ्चितिमा भारतीय मुद्राको हिस्सा २१.३ प्रतिशत रहेको छ ।
समीक्षा अवधिमा शोधनान्तर स्थिति १ खर्ब ८७ अर्ब ६८ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा शोधनान्तर स्थिति १ खर्ब ५३ अर्ब ६८ करोड रुपैयाँले बचतमा थियो ।
अमेरिकी डलरमा हेर्दा शोधनान्तर बचत अघिल्लो आर्थिक वर्षको सोही अवधिमा १ अर्ब १० करोड डलर रहेकोमा चालु आर्थिक वर्षको समीक्षा अवधिमा १ अर्ब २३ करोड डलर पुगेको छ ।
यसैगरी, समीक्षा अवधिमा चालु खाता १ खर्ब ६९ अर्ब ४ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा चालु खाता १ खर्ब ३० अर्ब ९७ करोड रुपैयाँले बचतमा थियो । अमेरिकी डलरमा चालु खाता बचत अघिल्लो वर्षको ९३ करोड ६७ लाख डलरबाट बढेर १ अर्ब ११ करोड डलर पुगेको छ ।
समीक्षा अवधिमा खुद पुँजीगत ट्रान्सफर १ अर्ब ५३ करोड रुपैयाँ रहेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो रकम २ अर्ब २० करोड रुपैयाँ थियो। प्रत्यक्ष वैदेशिक लगानी पनि बढेको छ । समीक्षा अवधिमा इक्विटीका रूपमा २ अर्ब ९८ करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको छ, जबकि अघिल्लो वर्षको सोही अवधिमा यस्तो लगानी १ अर्ब २७ करोड रुपैयाँ थियो ।
चालु आर्थिक वर्षको पहिलो दुई महिनाको आयातलाई आधार मान्दा बैङ्किङ क्षेत्रसँग रहेको विदेशी मुद्रा सञ्चितिले २०.९ महिनाको वस्तु आयात र १७.८ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त देखिएको छ ।
भदौ मसान्तमा विदेशी मुद्रा सञ्चिति कुल गार्हस्थ्य उत्पादनको ६१.६ प्रतिशत, कुल आयातको १४८.५ प्रतिशत र विस्तृत मुद्राप्रदायको ४४.९ प्रतिशत बराबर रहेको छ । असार मसान्तमा यी अनुपात क्रमशः ५९.१ प्रतिशत, १६३.४ प्रतिशत र ४३.८ प्रतिशत थिए ।
अन्तर्राष्ट्रिय बजारमा कच्चा पेट्रोलियम पदार्थको मूल्य उल्लेख्य बढेको छ । सन् २०२५ भदौ मसान्तमा प्रतिब्यारेल ६९.६९ अमेरिकी डलर रहेको ब्रेन्ट कच्चा तेलको मूल्य सन् २०२६ भदौ मसान्तमा ८३.४ प्रतिशतले बढेर १२७.८४ अमेरिकी डलर पुगेको राष्ट्र बैङ्कको प्रतिवेदनमा उल्लेख छ ।
त्यस्तै, अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य पनि बढेको छ । सन् २०२५ भदौ मसान्तमा प्रतिऔँस ३ हजार ६९५.४० अमेरिकी डलर रहेको सुनको मूल्य सन् २०२६ भदौ मसान्तमा १५.४ प्रतिशतले बढेर ४ हजार २६३.५५ अमेरिकी डलर पुगेको छ ।
२०८३ असार मसान्तको तुलनामा भदौ मसान्तमा अमेरिकी डलरसँग नेपाली रुपैयाँ ०.३ प्रतिशतले अवमूल्यन भएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा नेपाली रुपैयाँ २.७ प्रतिशतले अवमूल्यन भएको थियो ।
भदौ मसान्तमा अमेरिकी डलरको एकाइ खरिद विनिमय दर १५३ रुपैयाँ २४ पैसा पुगेको छ । असार मसान्तमा यस्तो दर १५३ रुपैयाँ ७२ पैसा रहेको राष्ट्र बैङ्कको प्रतिवेदनमा उल्लेख छ ।
प्रतिक्रिया