काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामा नेपालमा विप्रेषण आप्रवाह २३.९ प्रतिशतले बढेर ४ खर्ब ३६ अर्ब ३६ करोड रुपैयाँ पुगेको छ ।
नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी प्रतिवेदनअनुसार गत आर्थिक वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ३३.१ प्रतिशतले बढेको थियो । गत वर्ष भदौसम्म ३ खर्ब ७४ अर्ब ६७ करोड रुपैयाँ विप्रेषण भित्रिएको थियो ।
चालु आर्थिक वर्षको भदौ महिनामा मात्रै २ खर्ब २१ अर्ब ३१ करोड रुपैयाँ विप्रेषण भित्रिएको राष्ट्र बैङ्कले जनाएको छ । गत आर्थिक वर्षको सोही महिनामा १ खर्ब ७४ अर्ब ६७ करोड रुपैयाँ विप्रेषण भित्रिएको थियो ।
अमेरिकी डलरमा हिसाब गर्दा समीक्षा अवधिमा विप्रेषण आप्रवाह १३.५ प्रतिशतले बढेर २ अर्ब ८५ करोड डलर पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह २७.६ प्रतिशतले बढेको थियो ।
यस अवधिमा खुद द्वितीय आय अर्थात् खुद ट्रान्सफर ४ खर्ब ६९ अर्ब ४४ करोड रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो आय ३ खर्ब ८४ अर्ब ८८ करोड रुपैयाँ रहेको थियो ।
राष्ट्र बैङ्कका अनुसार समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या ७८ हजार ३२० रहेको छ। गत आर्थिक वर्षको सोही अवधिमा यस्तो सङ्ख्या ९० हजार १९८ थियो ।
त्यस्तै, पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या ५२ हजार १६३ रहेको छ। गत आर्थिक वर्षको सोही अवधिमा पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या ४५ हजार ८८४ रहेको थियो ।
राष्ट्र बैङ्कको तथ्याङ्कले चालु आर्थिक वर्षको पहिलो दुई महिनामा विप्रेषण आप्रवाह बढेको देखाएको छ । वैदेशिक रोजगारीका लागि पहिलोपटक श्रम स्वीकृति लिनेको सङ्ख्या घटे पनि पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या भने बढेको छ ।
प्रतिक्रिया