मौसम प्रतिकूलताबिच धमाधम धान काटिँदै

bimbonline बिम्ब अनलाइन
२०८३ असोज २० १४:०५ बजे

कञ्चनपुर।मौसम अनुकूल नभए पनि यहाँका कृषक धमाधम धान कटाइमा लागेका छन् । धान पाकेर बाला झुलेपछि आकाशमा बादल देखिए पनि धान काट्न सुरु गरिएको यहाँका कृषकले बताएका हुन् । पुनर्वास नगरपालिका मोतीबस्तीका स्थानीय कृषक मानमती कुँवर केही दिन यता परिवारसँगै खेतमा धान काट्न व्यस्त हुनुहुन्छ । उहाँ भन्नुहुन्छ, “असोज पहिलो साता परेको पानीका कारण धान ढलेपछि छिटै काट्नु पर्‍यो । आकाशमा बादल देखिए पनि ढलेका धान झन् खराब हुने डर बढ्छ ।”

बेलौरीका स्थानीय गीता भट्टले गत शुक्रबारदेखि धान काट्न थालेको बताउनुभयो । धान कटाइ सकेर खेतमा तोरी लगाउने उहाँको योजना छ । बेलौरी नगरपालिका वडा नम्बर ९ का कृषक हरिसचन्द्र उपाध्यायले दुई बिघामा धानखेती गर्नुभएको छ तर खराब मौसमका बिच शनिबार ट्याक्टरले सबै धान काटिएको उहाँले बताउनुभयो ।  मौसमको यकिन जानकारी नभएपछि कोही प्रविधिको सहायताले त कोही हातले नै धान काट्न थालेको कृषक बताउँछन् । बेलौरीका कृषक मोतीराम चौधरीले दिनभर यहाँका कृषकका खेतमा ट्याक्टर लगेर धान काट्दै आएको बताउनुभयो । पानी पर्ने त्रासमा कृषकले धमाधम धान कटेर भित्र्याउन थालेको  बताउनुभयो । 

जिल्लामा यस वर्ष ४८ हजार ४९६ हेक्टरमा धान खेती गरिएको कृषि ज्ञान केन्द्रले जनाएको छ । यहाँका कृषकले राधाचार, सर्जु बाउन्न, हजारी, सुक्खा–३, साँवा मन्सुली, हर्दीनाथ एक, बहु गुणी दुईलगायत स्थानीय तथा उन्नत जातका धान खेती गर्दै आउनुभएको छ ।  कृषि ज्ञान केन्द्र कञ्चनपुरका सूचना अधिकारी धर्म साउदका अनुसार, गतवर्ष जिल्लामा ४।१ प्रतिहेक्टर मेट्रिक टन धान उत्पादन भएको थियो । यस वर्ष धान उत्पादनमा वृद्धि हुने अपेक्षा गरिएको सूचना अधिकारी साउदले बताउनुभयो । उहाँले भन्नुभयो, “जिल्लामा १० प्रतिशत धान कटाइ सकिएको छ । यस वर्ष धान उत्पादकत्वमा पनि वृद्धि हुने अपेक्षा गरिएको छ ।”  मौसमलाई दृष्टिगत गरेर मात्रै धान काट्न उहाँले कृषकलाई आग्रह गर्नुभयो ।  जिल्लामा सोमबारदेखि सामान्यता मौसममा बदली हुने जल तथा मौसम विज्ञान विभाग, महाकाली बेसिन फिल्ड कार्यालय अत्तरियाले जनाएको छ ।गोरखापत्र अनलाईन


२०८३ असोज २० १४:०५ बजे

प्रतिक्रिया