ग्यासको आयात, भण्डारण र वितरण पूर्ण क्षमतामा सञ्चालन गर्न निगमको निर्देशन

bimbonline बिम्ब अनलाइन
२०८३ मंसिर ९ १३:२९ बजे

काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको सहज र नियमित आपूर्ति सुनिश्चित गर्न ग्यास उद्योगहरूलाई आयात, भण्डारण र बजार वितरण पूर्ण क्षमतामा सञ्चालन गर्न निर्देशन दिएको छ ।

निगमको एलपी ग्यास तथा हवाई इन्धन विभागले पत्र जारी गर्दै बजारको मागअनुसार ग्यास आयात बढाउन, उद्योगको भण्डारण क्षमता पूर्ण रूपमा उपयोग गर्न र भन्सारमा रहेका ग्यास बुलेट समयमै छुटाउन निर्देशन दिएको हो ।

त्यस्तै, बजारमा रहेका सिलिन्डर पूर्ण क्षमतामा भरी विक्रेतामार्फत उपभोक्तासम्म नियमित आपूर्ति सुनिश्चित गर्न पनि निगमले भनेको छ । आयात, भण्डारण र वितरणबीच समन्वय गरी आपूर्ति प्रणालीलाई व्यवस्थित बनाउन निगमले उद्योगहरूलाई आग्रह गरेको छ ।

निगमले उपभोक्तालाई आवश्यकताअनुसार मात्र ग्यास खरिद गर्न र अनावश्यक रूपमा सिलिन्डर सञ्चिति नगर्न आग्रह गरेको छ । कृत्रिम अभाव सिर्जना गर्ने गतिविधिमा संलग्न नहुनसमेत उपभोक्तालाई सचेत गराइएको छ ।

२०८३ मंसिर ९ १३:२९ बजे

प्रतिक्रिया