पोखरा । नेपाली काँग्रेसका नेता डा. प्रकाशशरण महतले पार्टीको विवाद अदालत बाहिर मिलाउन खोजेपनि सफल नभएको बताएका छन् ।
पोखरामा देउवा समूहको सम्पर्क कार्यालय खोलेर पत्रकार सम्मेलन गर्दै नेता डा. महतले पार्टीको विवाद अदालत बाहिर मिलाउन खोजेपनि अहिलेको संस्थापन पक्षले इच्छा नदेखाएको आरोप लगाए ।
साथै नेता महतले अहिले पनि शेरबहादुर देउवा महाधिवेशन उद्घाटन गर्न आउने भन्दै झुट प्रचार गरिएको आरोप लगाउँदै आफूहरू सत्यको लडाइँमा रहेको बताउँदै पार्टीमा झुटको बोली चलिरहेको बताए ।
अहिले सत्यको मुख बन्द गरिएको बताउँदै बोलेपछि सामाजिक सञ्जालमा गालीको वर्षा हुने गरेको उल्लेख गरे ।
उनले आफूहरूले पार्टीको अहिलेको अवस्था नचाहँदा नचाहँदै आएको बताए । नयाँ नेतृत्व नआएसम्म पार्टीले जित हासिल गर्न नसक्ने भन्दै निर्वाचन अघि विशेष महाधिवेशन गरिएको बताउँदै उनले तर निर्वाचनको परिणाम त्यस्तो नआएको बताए । नेता महतले आफूहरूले विशेष महाधिवेशन पार्टीको विधान अनुसार नभएकोले नै पुनरावलोकनका लागि अदालतमा गएको बताए । आफूहरूले पार्टी एक भएर जानुपर्छ भन्ने विषयमा कोशिस गरेको र त्यो सफल नभएको बताउँदै अदालतका अहिलेसम्मका निर्णय सही नभएको कारणले आफूहरूलाई निस्सा दिइएको दाबी गरे ।
कांग्रेसको विवाद जारी रहेका बेला संस्थापन पक्षले असोज १८ गतेदेखि काठमाडौँमा १५औं महाधिवेशन गरिरहेको छ भने देउवा पक्षले मङ्सिरमा गर्ने महाधिवेशनका लागि भोली देखि वडा स्तरमा अधिवेशन सुरु गर्दै छ ।
प्रतिक्रिया