पार्टी एकता, संघर्ष र रूपान्तरणको द्वन्द्वात्मक बाटो

दुई पार्टी एक भए भन्दैमा उनीहरूका पुराना राजनीतिक अनुभव, संगठनात्मक संस्कार, कार्यशैली, वैचारिक प्रभाव र वर्गीय दृष्टिकोण तुरुन्त एउटै हुँदैनन्। ती सबै एउटै संगठनभित्र प्रवेश गर्छन्। त्यसैले पार्टी एकतापछि अन्तर्विरोध झन् नयाँ स्तरमा प्रकट हुन्छ। एकता आफैँमा समस्या होइन एकताभित्र पैदा हुने अन्तर्विरोधलाई कसरी समाधान गरिन्छ भन्ने नै निर्णायक सवाल हो।

bimbonline लक्ष्मन उप्रेती
२०८३ भदौ २८ १२:४६ बजे

खराब विचारसँगको संघर्ष मानिस मानिस अर्थात व्यक्ति व्यक्ति वीचको संघर्ष विल्कुल होइन, यो त मानिसभित्र र समाजभित्र विकसित हुने गलत चेतना, गलत प्रवृत्ति र त्यसलाई जन्म दिने सामाजिक सम्बन्धसँगको संघर्ष हो। कुनै पनि विचार सून्यतावाट एक्कासी आउदैन अर्थात  मानिसको चेतना उसको सामाजिक अस्तित्वबाट अलग हुँदैन। मानिसले उत्पादन गर्ने तरिका, उत्पादनका साधनसँग उसको सम्बन्ध, समाजमा उसको स्थान, उसले भोग्ने शोषण र अवसर, उसको वर्गीय अनुभव र राजनीतिक संघर्षले उसको चेतनालाई प्रभावित गर्छ। त्यसैले कुनै खराब विचारलाई समाप्त गर्न त्यसको वाहक व्यक्तिलाई मात्र निशाना बनाउनु पर्याप्त हुँदैन। त्यस विचारको सामाजिक, आर्थिक र राजनीतिक आधार पहिचान गर्नुपर्छ।

हामीले खराब विचारसँगको संघर्षलाई द्वन्द्वात्मक भौतिकवादको धरातलमा बुझ्न आवश्यक छ। भौतिक जीवनका परिस्थितिले सामाजिक चेतनालाई प्रभावित गर्छन्, तर चेतना आफैँ पनि निष्क्रिय वस्तु होइन। विकसित विचारले मानिसलाई संगठित गर्छ, संघर्षको वाटो देखाउछ र सामाजिक सम्बन्ध परिवर्तन गर्ने शक्ति पैदा गर्छ। त्यसैले हामीले वताइरहनु पर्ने आवश्यकता छैन कि गलत सामाजिक सम्बन्धले गलत चेतनालाई जन्म दिन्छ र गलत चेतनाले फेरि त्यही सामाजिक सम्बन्धलाई निरंतरता दिने कोशिस गर्छ। यसरी आधार र अधिरचनाबीच निरन्तर पारस्परिक सम्बन्ध र संघर्ष हुन्छ। कम्युनिष्ट आन्दोलनको वैचारिक संघर्ष यही सम्बन्ध परिवर्तन गर्ने संघर्ष पनि हो।

समाज वर्गमा विभाजित छ भने वर्गीय प्रभाव विचारमा पनि प्रतिबिम्बित हुन्छ। श्रमजीवी वर्गको मुक्ति चाहने पार्टीभित्र पनि गैरसर्वहारा विचार प्रवेश गर्न सक्छ। व्यक्तिवाद, स्वार्थ, पदलोलुपता, गुटवाद, दक्षिणपन्थी अवसरवाद, संशोधनवाद, अराजकतावाद, आत्मकेन्द्रित प्रवृत्ति वा अनुशासनहीनता पार्टीबाहिर मात्र पाइने कुरा होइनन्। पार्टी समाजभित्रै बनेको संस्था भएकाले समाजमा विद्यमान वर्गीय सम्बन्ध र चेतनाका प्रभाव पार्टीभित्र पनि प्रवेश गर्छन्। त्यसैले कम्युनिष्ट पार्टीभित्रको वैचारिक संघर्षलाई समाजको वर्गसंघर्षबाट अलग गरेर बुझ्न सकिँदैन।यसको अर्थ पार्टीभित्र उत्पन्न हरेक मतभेदलाई वर्गशत्रुको प्रभाव भनेर घोषणा गर्नु होइन कि वैज्ञानिक दृष्टिकोणले सामान्य मतभेद, राजनीतिक मतभेद, कार्यशैलीसम्बन्धी असहमति र आधारभूत वैचारिक विचलनबीच भेद गर्नुपर्छ। फरक मत राख्नु आफैँमा खराब विचार होइन। बरु फरक मतलाइ दबाउनु आफैँमा गलत संगठनात्मक प्रवृत्ति हो। सवाल फरक मतको अस्तित्व होइन ससवाल त्यो मत कुन तर्क, कुन वर्गीय दृष्टिकोण, कुन राजनीतिक उद्देश्य र कुन व्यवहारबाट निर्देशित छ भन्ने हो।

नेपालको कम्युनिष्ट आन्दोलनको इतिहास वास्तवमै द्वन्द्वात्मक प्रक्रियाको एउटा लामो प्रयोगशाला हो।क. पुष्पलालको नेतृत्वमा नेकपाको स्थापनाका केही वर्ष पछि देखि नै नेपाली कम्युनिष्ट आन्दोलनभित्र विभिन्न राजनीतिक र वैचारिक प्रवृत्तिहरु देखापरे। समयसँगै ती अन्तर्विरोधहरू तीव्र हुँदै गए र विभिन्न चरणमा विभाजन तथा पुनर्गठनको रूप लिए। पछि अलग भएका धाराहरूले आफ्नै अनुभवबाट नयाँ संगठन निर्माण गरे, कतिपय अवस्थामा पुनःएकता गरे र फेरि नयाँ अन्तर्विरोधको सामना गरे। यसरी नेपालको कम्युनिष्ट आन्दोलनको इतिहासलाई एकता र विभाजनको सूचीका रूपमा मात्र हेर्नु पर्याप्त हुँदैन। यो विचार, संगठन, वर्गीय प्रभाव र राजनीतिक कार्यदिशाबीचको निरन्तर संघर्ष र रूपान्तरणको इतिहास पनि हो।

यस इतिहासबाट एउटा महत्वपूर्ण सत्य स्थापित हुन्छ कि एकता नै अन्तर्विरोधको अन्त्य होइन। दुई पार्टी एक भए भन्दैमा उनीहरूका पुराना राजनीतिक अनुभव, संगठनात्मक संस्कार, कार्यशैली, वैचारिक प्रभाव र वर्गीय दृष्टिकोण तुरुन्त एउटै हुँदैनन्। ती सबै एउटै संगठनभित्र प्रवेश गर्छन्। त्यसैले पार्टी एकतापछि अन्तर्विरोध झन् नयाँ स्तरमा प्रकट हुन्छ। एकता आफैँमा समस्या होइन एकताभित्र पैदा हुने अन्तर्विरोधलाई कसरी समाधान गरिन्छ भन्ने नै निर्णायक सवाल हो।त्यसैले कम्युनिष्ट पार्टीमा एकता–संघर्ष–एकताको द्वन्द्वात्मक विधिको महत्व हुन्छ। प्रारम्भिक एकता साझा उद्देश्य र आधारभूत राजनीतिक सहमतिमा निर्माण हुन्छ। त्यसपछि व्यवहारले नयाँ सवालहरु उठाउँछ। सवालवाट बहस जन्मिन्छ, बहसबाट मतभेद प्रकट हुन्छ र मतभेदबाट अन्तर्विरोध सतहमा आउँछ। यदि त्यो अन्तर्विरोधलाई तथ्य, तर्क, वर्गदृष्टिकोण, आलोचना–आत्मालोचना र जनवादी केन्द्रीयताको आधारमा समाधान गरियो भने पुरानो एकता नयाँ चेतना र नयाँ समझदारीमा रूपान्तरित हुन्छ। यही रूपान्तरित समझदारीले उच्च स्तरको नयाँ एकता कायम गर्छ।

तर अन्तर्विरोधलाई दबाइयो भने त्यसको स्वरूप बदलिन्छ। आजको वैचारिक असहमति भोलि व्यक्तिगत अविश्वास बन्छ। अविश्वास गुटबन्दीमा बदलिन्छ। गुटबन्दी संगठनात्मक प्रतिस्पर्धामा बदलिन्छ र अन्ततः विभाजनमा पुग्न सक्छ। त्यसैले हामीले बुझ्नु पर्दछ विभाजन अचानक हुने घटना होइन विभाजन धेरैपटक लामो समयसम्म समाधान नगरिएको अन्तर्विरोधभित्र हुर्किरहेको  हुन्छ। बाहिर देखिने फुट अन्तिम परिणाम मात्र होस त्यसको वास्तविक कारण धेरै पहिलेदेखि संगठनको वैचारिक र राजनीतिक जीवनमा विकसित भइरहेको हुन्छ।यसैगरी विभाजनलाई पनि एउटै दृष्टिले हेर्न मनासिब हुदैन। गलत विचार, गलत कार्यदिशा वा गम्भीर राजनीतिक विचलनबाट मुक्त हुन आवश्यक वैचारिक सीमांकन कहिलेकाहीँ अपरिहार्य हुन्छ। तर व्यक्तिगत स्वार्थ, पदको प्रतिस्पर्धा, नेतृत्वको अहंकार वा गुटीय हितका कारण हुने विभाजनले क्रान्तिकारी आन्दोलनलाई कमजोर बनाउँछ। त्यसैले सवाल पार्टी बिभाजन भयो कि भएन भन्ने सवाल मात्र होइनस किन विभाजित भयो, कुन सामाजिक र राजनीतिक अन्तर्विरोधका कारण बिभाजित भयो, त्यसबाट कुन वर्गीय हित संरक्षण  भयो र आन्दोलनले त्यसबाट के शिक्षा लियो? भन्ने महत्त्वपूर्ण कुरा हो।

यी महत्त्वपूर्ण सवालहरुसङ्ग उत्पादन सम्बन्ध र वर्गसंघर्षको सवाल जोडिन्छ। उत्पादनशक्तिको विकाससँग उत्पादन सम्बन्धबीच अन्तर्विरोध उत्पन्न हुन्छ। समाजको आर्थिक आधारमा परिवर्तन आउँदा त्यससँग जोडिएका राजनीतिक, कानुनी र वैचारिक अधिरचनामा पनि परिवर्तनको दबाब पैदा हुन्छ। पुरानो सामाजिक सम्बन्धलाई कायम राख्न चाहने शक्तिहरू र नयाँ सामाजिक सम्बन्धका लागि संघर्ष गर्ने शक्तिहरूबीचको टकराव नै इतिहासको गतिशीलताको महत्वपूर्ण आधार हो। कम्युनिष्ट पार्टीले यही सामाजिक परिवर्तनलाई वैज्ञानिक दिशामा संगठित गर्ने दायित्व बोकेको हुन्छ। त्यसैले पार्टी स्वयं स्थिर, जड र परिवर्तनविहीन संस्था बन्न सक्दैन।पार्टीभित्रको विचार र संगठन पनि सामाजिक आधारबाट प्रभावित हुन्छ। श्रमसँग सम्बन्ध कमजोर हुँदै जाँदा, जनतासँगको सम्बन्ध खुकुलो हुँदै जाँदा, नेतृत्व र कार्यकर्ताबीच सामाजिक दूरी बढ्दै जाँदा वा संगठन व्यक्तिगत स्वार्थपूर्तिको माध्यम बन्दै जाँदा गैरसर्वहारा प्रवृत्तिका लागि ठाउँ खुल्छ। त्यसैले खराब विचारसँगको संघर्ष सामान्य र सीमित रुपमा मात्र रहन सक्दैन। पार्टीको जीवनपद्धति, कार्यकर्ताको सामाजिक सम्बन्ध, श्रमसँगको सम्बन्ध, जनतासँगको सम्बन्ध र संघर्षको व्यवहारमै त्यसको परीक्षण हुनुपर्छ।

यसैकारण कम्युनिष्ट पार्टीमा वैचारिक शुद्धताको सवाल संगठनात्मक सवालबाट अलग हुदैन। गलत विचारले गलत संगठन निर्माण गर्छ र गलत संगठनात्मक संरचनाले फेरि गलत विचारलाई संरक्षण गर्न पुग्छ। जहाँ निर्णय केही व्यक्तिमा केन्द्रित हुन्छ, त्यहाँ व्यक्तिवाद बढ्छ। जहाँ आलोचना निषेध हुन्छ, त्यहाँ चाकरी र आत्मसमर्पण बढ्छ। जहाँ संगठनात्मक अनुशासन कमजोर हुन्छ, त्यहाँ अराजकता र गुटवाद बढ्छ। त्यसैले विचार र संगठन एकअर्काबाट अलग होइनन्स दुवैलाई एकैसाथ रूपान्तरण गर्नुपर्छ।

यसको समाधान भनेको दृढ्ता र अडान मात्र होइन,यो वैज्ञानिक अनुशासन हो। अनुशासनको अर्थ सवाल जवाफ गर्न नपाउनु होइन। अनुशासन भनेको सामूहिक निर्णयप्रति सामूहिक प्रतिबद्धता हो। त्यसैगरी जनवादको अर्थ प्रत्येक व्यक्तिले आफ्नो निर्णयलाई संगठनको निर्णयभन्दा माथि राख्नु होइन। जनवाद भनेको निर्णयअघि विचार राख्ने, बहस गर्ने र आलोचना गर्ने अधिकारस निर्णयपछि सामूहिक रूपमा कार्यान्वयन गर्ने जिम्मेवारी हो। यही जनवाद र केन्द्रीयताको द्वन्द्वात्मक सम्बन्धले संगठनलाई जीवित राख्छ।आलोचना–आत्मालोचना पनि यही प्रक्रियाको महत्वपूर्ण साधन हो। अरूको गल्ती खोजेर आफूलाई निर्दोष प्रमाणित गर्ने आलोचना कम्युनिष्ट आलोचना होइन। आलोचनाको उद्देश्य कमजोरी सच्याउनु हो। आत्मालोचनाको उद्देश्य आत्महीनता पैदा गर्नु होइनस आफ्नो व्यवहारलाई सिद्धान्तको कसीमा जाँच्नु हो। जसले अरूको आलोचना सहन सक्दैन, उसले अन्ततः आफ्नै विचारको विकास रोक्छ। जसले आफ्नै गल्ती स्वीकार गर्न सक्दैन, उसले संगठनलाई पनि गलत दिशातर्फ लैजान्छ।

त्यसैले खराब विचारसँगको संघर्षमा सबैभन्दा पहिले आफूभित्रको खराब प्रवृत्तिसँग संघर्ष गर्नुपर्छ। व्यक्तिवादको विरोध गर्नेले आफूभित्रको व्यक्तिवाद हेर्नुपर्छ। गुटवादको विरोध गर्नेले आफ्नो व्यवहार गुटीय त छैन भनेर जाँच्नुपर्छ।अवसरवादको विरोध गर्नेले परिस्थितिअनुसार आफ्नो सिद्धान्त बदलिरहेको त छैन भनेर हेर्नुपर्छ। अनुशासनको कुरा गर्नेले आफैँ सामूहिक निर्णय पालना गर्छ कि गर्दैन भन्ने प्रश्नको सामना गर्नुपर्छ। यही आत्मपरीक्षणले वैचारिक संघर्षलाई नैतिक वल प्रदान गर्छ।

नेपालको कम्युनिष्ट आन्दोलनको वर्तमान चुनौती पनि यही हो। विगतका विभाजनको पुनरावृत्ति रोक्ने हो भने विभाजनले व्यक्तिहरू मात्र बदल्ने होइन, विभाजन पैदा गर्ने राजनीतिक संस्कृतिलाई बदल्नुपर्छ। पार्टीभित्र अन्तर्विरोध उठ्नु समस्या होइन त्यसलाई समाधान गर्न नसक्नु समस्या हो। फरक मत आउनु समस्या होइन फरक मतलाई शत्रुतामा बदल्नु समस्या हो। नेतृत्वको आलोचना हुनु समस्या होइन आलोचनालाई दमन गर्नु समस्या हो। संगठनात्मक अनुशासन आवश्यक छ तर अनुशासनको नाममा विचारको स्वतन्त्र बहस समाप्त पार्नु पनि त्यत्तिकै घातक छ।

अबको एकता पनि यही अनुभवबाट निर्देशित हुनुपर्छ। नेपालका कम्युनिष्ट शक्तिहरूको एकता संगठन जोड्ने काममा सीमित हुनु हुँदैन। एकता वैचारिक स्पष्टता, साझा राजनीतिक कार्यदिशा, वर्गीय दृष्टिकोण, संगठनात्मक विधि र संघर्षको साझा आधारमा हुनुपर्छ। विगतमा अलग भएका धाराहरू एउटै संगठनमा आएपछि उनीहरूबीचका पुराना अन्तर्विरोध स्वतः समाप्त हुन्छन् भन्ने सोच अवैज्ञानिक हुन्छ। बरु ती अन्तर्विरोधलाई कसरी रचनात्मक बहसमा बदल्ने, नयाँ संश्लेषण कसरी निर्माण गर्ने र नयाँ संगठनात्मक संस्कार कसरी स्थापित गर्ने भन्ने विषय एकताको केन्द्रमा हुनुपर्छ।यस्तो एकताले विगतलाई मेटाउँदैनस विगतबाट शिक्षा लिन्छ। फरक अनुभवलाई कमजोरी ठान्दैन त्यसलाई सामूहिक ज्ञानमा बदल्छ। आलोचनालाई विभाजनको पूर्वसंकेत ठान्दैन सुधारको अवसर ठान्छ। तर आधारभूत राजनीतिक सवालमा अस्पष्टता पनि राख्दैन। साझा उद्देश्यमा दृढता र कार्यदिशामा स्पष्टता बिना संगठनात्मक एकता लामो समय टिक्न सक्दैन।

कम्युनिष्ट पार्टीको वास्तविक शक्ति जनताको श्रम, पीडा र संघर्षसँग जोडिएको राजनीतिक सम्बन्धमा हुन्छ। किसान, मजदुर, श्रमिक, उत्पीडित र परिवर्तन चाहने जनसमुदायको वास्तविक जीवनबाट पार्टी टाढिँदै गयो भने उसको विचार अवधारणा पत्र वा कागजमा सही भए पनि व्यवहारमा प्रभावहीन हुन्छ। त्यसैले खराब विचारसँगको संघर्षको निर्णायक मैदान जनताको बीच हो। जनताको जीवनमा सही विचारको परिणाम देखाउन नसक्ने संगठनले आफ्नै विचारको श्रेष्ठता प्रमाणित गर्न सक्दैन।यसरी हेर्दा विचार, संगठन र संघर्षबीचको सम्बन्धलाई छुट्टाछुट्टै हेर्न मिल्दैन। सही विचारले सही राजनीतिक दिशा दिन्छ। सही दिशाले संगठन निर्माण गर्छ। संगठित शक्ति जनतासँग जोडिएपछि संघर्षको शक्ति बन्छ। संघर्षबाट प्राप्त अनुभवले विचारलाई पुनः समृद्ध बनाउँछ। त्यसपछि विचार अझ विकसित हुन्छ, संगठन नयाँ रूपमा परिमार्जित हुन्छ र संघर्ष नयाँ स्तरमा पुग्छ। यही नै द्वन्द्वात्मक विकासको प्रक्रिया हो।

त्यसैले नेपालको कम्युनिष्ट आन्दोलनको अगाडिको बाटो न त अन्तर्विरोधविहीन एकताको कल्पना हो, न त निरन्तर विभाजनलाई स्वाभाविक नियति मान्नु।सहि बाटो हो,अन्तर्विरोधलाई स्वीकार गर्ने, त्यसको वर्गीय तथा राजनीतिक स्रोत पहिचान गर्ने, वैचारिक संघर्ष सञ्चालन गर्ने, गलतलाई सच्याउने, सहीलाई स्थापित गर्ने र त्यसबाट उच्च स्तरको नयाँ एकता निर्माण गर्ने।एकता संरक्षण गर्न संघर्ष आवश्यक छ। संघर्षलाई सही दिशामा लैजान एकता आवश्यक छ। र दुवैलाई रूपान्तरणमा परिणत गर्न जनतासँगको जीवित सम्बन्ध आवश्यक छ। त्यसैले एकता–संघर्ष–एकता कुनै यान्त्रिक सूत्र होइन यो निरन्तर चल्ने राजनीतिक र वैचारिक प्रक्रिया हो।खराब विचारसँगको संघर्षको अन्तिम लक्ष्य कुनै व्यक्तिलाई हराउनु होइन, गलत विचारको सामाजिक आधार कमजोर पार्नु हो। विभाजनको उद्देश्य विभाजनमा रमाउनु होइन, सही राजनीतिक दिशा पहिचान गर्नु हो। एकताको उद्देश्य भिड निर्माण गर्नु होइन, वर्गीय परिवर्तनको संगठित शक्ति निर्माण गर्नु हो। र रूपान्तरणको उद्देश्य पुरानोलाई नष्ट गर्नु मात्र होइन, पुरानो अनुभवका सकारात्मक पक्षलाई ग्रहण गर्दै नयाँ र उच्च स्तरको राजनीतिक शक्ति निर्माण गर्नु हो।

नेपालको कम्युनिष्ट आन्दोलनले विगतका एकता र विभाजनलाई अब व्यक्तिगत विजय–पराजयको कथाका रूपमा होइन, वर्गीय, राजनीतिक, वैचारिक र संगठनात्मक शिक्षाका रूपमा ग्रहण गर्नुपर्छ। विगतका गल्ती दोहोरिन नदिन विचारको शुद्धता मात्र होइन, त्यसलाई व्यवहारमा उतार्ने संगठनात्मक विधि निर्माण गर्नुपर्छ। नेतृत्वलाई व्यक्तिको हैसियतबाट होइन, सामूहिक जिम्मेवारीको संस्थागत भूमिकाबाट हेर्नुपर्छ। आलोचनालाई कमजोरी होइन, आत्मसुधारको शक्ति बनाउनुपर्छ। अनुशासनलाई दमन होइन, सामूहिक प्रतिबद्धताको रूप दिनुपर्छ।  एकतालाई संघर्षबाट प्राप्त उच्चस्तरीय सहमतिको अभिव्यक्ति बनाउनुपर्छ।

अन्ततः इतिहासको गति कुनै व्यक्तिको इच्छाले रोकिँदैन। समाज बदलिन्छ, वर्गसम्बन्ध बदलिन्छन्, उत्पादन सम्बन्ध बदलिन्छन्, चेतना बदलिन्छ र त्यससँगै राजनीतिक संगठनका रूप पनि बदलिन्छन्। कम्युनिष्ट पार्टीको सवाल भनेको परिवर्तनको यो गतिलाई बुझेर आफूलाई पनि परिवर्तन गर्न सक्नु हो। जुन पार्टी आफैँ रूपान्तरण हुन सक्दैन, उसले समाज रूपान्तरणको नेतृत्व गर्न सक्दैन।त्यसैले आजको निर्णायक आवश्यकता खराब विचारसँग संघर्ष गर्नु मात्र होइन, खराब विचार जन्माउने परिस्थिति र त्यसलाई संरक्षण गर्ने संगठनात्मक प्रवृत्तिसँग पनि संघर्ष गर्नु हो। व्यक्तिवादमाथि सामूहिकता, अवसरवादमाथि सिद्धान्त, गुटवादमाथि संगठनात्मक एकता, अराजकतामाथि जनवादी केन्द्रीयता, निष्क्रियतामाथि संघर्ष र जनतासंगको बलियो जनसम्बन्ध स्थापित गर्न सकियो भने मात्र कम्युनिष्ट आन्दोलनले आफ्नो ऐतिहासिक दायित्व पूरा गर्न सक्छ।

वताइरहनु पर्ने आवश्यकता छैन कि एकता भनेको मतभेद नभएको अवस्था होइन मतभेदलाई सही ढंगले समाधान गर्न सक्ने राजनीतिक क्षमता हो। संघर्ष भनेको फुट होइनस गलतलाई सच्याएर सहीलाई स्थापित गर्ने प्रक्रिया हो। र रूपान्तरण भनेको पुरानो सम्बन्धलाई जस्ताको तस्तै जोगाउनु होइन संघर्षबाट प्राप्त नयाँ चेतना र अनुभवका आधारमा अझ उच्च स्तरको एकता निर्माण गर्नु हो।यही हो खराब विचारसँगको संघर्षको वैज्ञानिक बाटो,एकताबाट संघर्ष, संघर्षबाट संश्लेषण, संश्लेषणबाट नयाँ एकता र नयाँ एकताबाट रूपान्तरण। नेपालको कम्युनिष्ट आन्दोलनको भविष्य यही द्वन्द्वात्मक प्रक्रियालाई कति सचेत, वैज्ञानिक र जनमुखी ढंगले आत्मसात् गर्न सक्छ भन्ने कुराले नै निर्धारण गर्नेछ। 


२०८३ भदौ २८ १२:४६ बजे

प्रतिक्रिया