भारतीय सञ्चारमाध्यम इन्डिया टुडे का पत्रकार आनन्द सिंहले प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’को राजनीतिक लोकप्रियतामा गिरावट आउन थालेको दाबी गर्दै विशेष सामग्री प्रकाशित गरेका छन्।
उक्त सामग्रीमा सरकार बनेको करिब १५० दिनमै बालेन जेन–जी पुस्ताका नायकबाट ‘खलनायक’ बन्ने दिशातर्फ अघि बढिरहेको दाबी गरिएको छ। यद्यपि, यो निष्कर्ष इन्डिया टुडेले प्रस्तुत गरेको विश्लेषण र मूल्यांकन हो।
पूर्व भूमिगत र्यापर, स्ट्रक्चरल इन्जिनियर तथा काठमाडौं महानगरपालिकाको मेयरका रूपमा स्थापित बालेन नयाँ राजनीतिक आशा बोकेर सत्तामा पुगेको उल्लेख गर्दै भारतीय मिडियाले उनीमाथि रहेको सुरुआती आकर्षण र अपेक्षा अहिले कमजोर बन्दै गएको विश्लेषण गरेको छ।
इन्डिया टुडेले बालेनको राजनीतिक यात्रामा देखिएका सात प्रमुख कारण प्रस्तुत गर्दै उनको नेतृत्वमाथि प्रश्न उठाएको छ।
जेन–जी आन्दोलनबाट बढ्दो दूरी-समाचारमा बालेन जेन–जी पुस्ताको समर्थन र नयाँ राजनीतिक शक्तिको प्रतीकका रूपमा उदाएको उल्लेख गरिएको छ। तर, पछिल्लो समय तिनै युवापुस्ताबाट असन्तुष्टि र विरोध देखिन थालेको दाबी गरिएको छ।गत असार–साउनमा भएका आन्दोलन तथा गणेश नेपालीको आत्मदाहपछिको घटनाक्रमलाई उदाहरणका रूपमा प्रस्तुत गर्दै इन्डिया टुडेले बालेनले जेन–जीको समर्थन गुमाउन थालेको विश्लेषण गरेको छ।
संसदसँग बढ्दो दूरी-बालेन संसदबाट निर्वाचित प्रधानमन्त्री भए पनि संसदसँग पर्याप्त संवाद र उपस्थितिको कमी देखिएको आरोप समाचारमा लगाइएको छ।संसदीय संरचनासँग दूरी कायम राख्नु उनको राजनीतिक कमजोरीमध्ये एक भएको इन्डिया टुडेले दाबी गरेको छ।
पाँच महिनामै संकटको चाप-सरकार बनेको पाँच महिनामै समाधानभन्दा चुनौती र विवाद बढी देखिएको भन्दै बालेन नेतृत्वको कार्यकालमाथि प्रश्न उठाइएको छ।जनअपेक्षाअनुसार परिणाम दिन कठिन भइरहेको र विभिन्न राजनीतिक तथा सामाजिक संकटले सरकारलाई घेरेको विश्लेषण समाचारमा गरिएको छ।
भारतसँगको सीमावर्ती व्यापारमा कडाइ-भारतसँग जोडिएका सीमावर्ती बजारमा हुने स्थानीयस्तरको किनमेल र व्यापारमा कडाइ गर्ने प्रयासपछि सरकार आलोचनामा परेको दाबी गरिएको छ।स्थानीयको दैनिक जीवन, खाद्यान्न तथा औषधि आपूर्तिमा समस्या उत्पन्न हुन सक्ने अवस्था बनेपछि सरकार पछि हट्न बाध्य भएको विश्लेषण समाचारमा गरिएको छ।
कूटनीतिक प्रोटोकलमा अडान र पछि ‘ब्याक-’भारतीय मिडियाको विश्लेषणमा बालेनले मन्त्रीभन्दा तल्लो तहका अधिकारीसँग भेटघाट नगर्ने तथा राजदूतसँग एक्लै भेट नगर्ने अडान लिएको उल्लेख छ।तर, पछि भारतीय र चिनियाँ राजदूतसँग छुट्टाछुट्टै भेट भएपछि प्रारम्भिक अडानबाट पछि हट्नुपरेको दाबी गरिएको छ।
हिन्दु–मुस्लिम तनावमा प्रत्यक्ष सम्बोधन-सुनसरीमा देखिएको हिन्दु–मुस्लिम तनावका विषयमा बालेनले अन्ततः सार्वजनिक रूपमा सम्बोधन गर्नुपरेको घटनालाई पनि इन्डिया टुडेले राजनीतिक परिवर्तनको संकेतका रूपमा प्रस्तुत गरेको छ।समाचारअनुसार आफूलाई परम्परागत राजनीतिक घेराभन्दा बाहिर राख्न खोज्ने बालेनलाई परिस्थितिले प्रत्यक्ष राजनीतिक मुद्दामा प्रवेश गर्न बाध्य बनाएको विश्लेषण गरिएको छ।
पोखरामा भारतीय सेनामा भर्तीसम्बन्धी प्रदर्शन-भारतका सेनापति नेपाल भ्रमणमा आएका बेला पोखरामा भएको प्रदर्शनलाई पनि इन्डिया टुडेले बालेन सरकारमाथि देखिएको असन्तुष्टिको संकेतका रूपमा व्याख्या गरेको छ।भारतीय सेनामा नेपाली नागरिकको भर्तीसम्बन्धी विषयलाई लिएर भएको प्रदर्शनलाई समाचारमा बालेन नेतृत्वको सरकारका लागि अर्को चुनौतीका रूपमा प्रस्तुत गरिएको छ।
भारतीय मिडियाको निष्कर्ष
इन्डिया टुडेले बालेनले छोटो समयमै ठूलो राजनीतिक अपेक्षा बोकेर सत्ता सम्हाले पनि सरकार सञ्चालन, संसदसँगको सम्बन्ध, युवापुस्ताको असन्तुष्टि, सीमावर्ती व्यापार, कूटनीतिक व्यवहार तथा सामाजिक तनावका विषयमा चुनौती सामना गरिरहेको निष्कर्ष निकालेको छ।
प्रतिक्रिया