काठमाडौं । इजरायलमा आउँदो अक्टोबर २७ मा हुने चुनावअघि प्रधानमन्त्री बेन्जामिन नेतान्याहूलाई पूर्वसेना प्रमुख गादी आइजेनकोटको पार्टीबाट ठूलो चुनौती देखिएको छ ।
बिहीबार सार्वजनिक ‘जमान इजरायल’को नयाँ सर्वेक्षणमा आइजेनकोट नेतृत्वको विपक्षी पार्टी यसारले २५ सिट जित्ने अनुमान गरिएको छ । नेतान्याहूको लिकुड पार्टी २१ सिटमा सीमित हुने अनुमान छ ।
सर्वेक्षणानुसार यसारले लिकुडमाथि चार सिटको अग्रता लिने देखिएको छ । पछिल्ला केही हप्तामा सार्वजनिक अधिकांश सर्वेक्षणमा पनि यसार अगाडि रहँदै आएको थियो । यद्यपि, त्यस बेला दुई दलबीचको अन्तर निकै कम थियो ।
कतिपय सर्वेक्षणमा लिकुड र यसार बराबरीमा देखिएका थिए । केहीमा लिकुड एक–दुई सिटले मात्र पछाडि हुने देखिएको थियो । नयाँ सर्वेक्षणमा भने यो अन्तर बढेर चार सिटमा पुगेको हो ।
यसार सबैभन्दा ठूलो पार्टी बने पनि चुनावपछि सरकार गठन गर्न सहज हुने छैन । इजरायली संसद् नेसेटमा कुल १२० सिट छन् । सरकार बनाउन कम्तीमा ६१ सिट आवश्यक पर्छ ।सर्वेक्षणानुसार नेतान्याहूविरोधी दलहरूको ‘चेन्ज ब्लक’ले ५८ सिट जित्ने अनुमान छ । अर्थात्, यो गठबन्धन बहुमतका निम्ति आवश्यक ६१ भन्दा केवल तीन सिटले पछाडि देखिएको छ ।
अर्कोतर्फ, नेतान्याहू समर्थक दलहरूले कुल ५० सिट पाउने अनुमान छ । अरब पार्टीहरूले भने १२ सिट जित्न सक्ने देखिएको छ । तीमध्ये राम र हदाश–तालले ६र६ सिट पाउने अनुमान छ ।त्यसैले चुनावपछि सरकार गठनका निम्ति साना दलहरूको समर्थन वा नयाँ गठबन्धन निर्माण निर्णायक बन्न सक्ने सम्भावना छ ।
प्रतिक्रिया