दक्षिणी फिलिपिन्समा सोमबार (८ जुन) बिहान ७.८ म्याग्निच्युडको शक्तिशाली समुद्री भूकम्प आएपछि सुनामीको खतरा उत्पन्न भएको छ । भूकम्पले प्रमुख तटीय क्षेत्रहरूलाई हल्लाउनुका साथै भवनहरूमा क्षति पुर्याएको, विद्युत् सेवा अवरुद्ध भएको र केही स्थानमा एक मिटर उचाइसम्मका सुनामीका छालहरू मापन गरिएको बताइएको छ ।
फिलिपिन्सका राष्ट्रपति फर्डिनान्ड मार्कोस जुनियरले जोखिमयुक्त तटीय क्षेत्रका बासिन्दाहरूलाई तत्काल सुरक्षित उच्च स्थानतर्फ जान आग्रह गरेका छन् । सुनामी चेतावनीलाई गम्भीरतापूर्वक लिन आग्रह गर्दै उनले मानिसको जीवनभन्दा महत्त्वपूर्ण अरू केही नभएको बताएका छन् ।
फिलिपिन्स ज्वालामुखी तथा भूकम्प विज्ञान संस्थानका अनुसार भूकम्प बिहान ७ः३७ बजे जनरल सान्टोस शहरको दक्षिणपश्चिम समुद्री क्षेत्रमा केन्द्रित भएर आएको थियो । करिब सात लाख जनसङ्ख्या रहेको यो शहर दक्षिणी फिलिपिन्सको प्रमुख व्यापारिक तथा टुना प्रशोधन केन्द्र मानिन्छ । भूकम्पको केन्द्र कोटाबाटो समुद्री गर्त क्षेत्रमा १० किलोमिटर गहिराइमा रहेको जनाइएको छ ।
अधिकारीहरूका अनुसार हालसम्म मानवीय क्षतिको पुष्टि भएको छैन । यद्यपि जनरल सान्टोसमा एउटा सानो व्यावसायिक भवन आंशिक रूपमा भत्किएको छ । उक्त भवनमा मानिस फसेका वा घाइते भएका छन् कि छैनन् भन्ने विषयमा अझै स्पष्ट जानकारी प्राप्त भएको छैन । स्थानीय रेडियो संस्था डिजेडआरएचले आफ्नो शाखा रहेको भवनको केही भाग ढलेको तर कर्मचारीहरू सुरक्षित रहेको जनाएको छ ।
प्रतिक्रिया