चिनियाँ मिसाइलद्वारा अमेरिकी लडाकू विमान खसालेको अमेरिकी दाबी

bimbonline बिम्ब अनलाइन
२०८३ ज्येष्ठ १८ ०८:२४ बजे

काठमाडौं । चिनियाँ मिसाइलद्वारा अमेरिकी लडाकू विमान खसालेको अमेरिकाले दाबी गरेको छ । पश्चिम एसियामा जारी तनावबीच गत महिना इरानको दक्षिण–पश्चिमी क्षेत्रमा खसालिएको अमेरिकी एफ–१५ लडाकू विमानलाई सम्भवतः चीनमा निर्मित मिसाइलले निशाना बनाएको दाबी गरिएको अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन् । 

यो दाबीले अमेरिका, चीन र इरानबीचको सम्बन्धमा नयाँ तरंग पैदा गरेको बताइएको छ । यद्यपि, चीनले यी आरोपहरूलाई अस्वीकार गर्दै यसलाई आधारहीन रूपमा बदनाम गर्ने प्रयास भनेको छ ।

एनबीसी न्युजका अनुसार, अमेरिकी एफ–१५ई स्ट्राइक इगल विमानलाई काँधमा राखेर प्रहार गरिने मिसाइलद्वारा खसालिएको थियो । अमेरिकी अधिकारीहरूका अनुसार विगत केही दशकयता पहिलोपटक शत्रुपक्षको गोलाबारीका कारण अमेरिकी लडाकू विमान खसेको हो । 

विमानमा सवार दुवै अमेरिकी सैनिक सुरक्षित रूपमा बाहिर निस्किन सफल भएका थिए । पाइलटको सात घण्टाभित्र उद्धार गरिएको थियो । अर्का अधिकारीलाई दुई दिनपछि पहाडी क्षेत्रबाट सुरक्षित रूपमा निकालिएको थियो ।अमेरिकी स्रोतहरूको दाबीअनुसार इरानले सम्भवतः चीनमा निर्मित मिसाइल प्रयोग गरेको थियो । यसबाहेक, चीनले इरानलाई स्टिल्थ विमानहरूलाई समेत पत्ता लगाउन सक्ने लामो दूरीको राडार प्रणाली उपलब्ध गराएको हुन सक्ने आरोप पनि लगाइएको छ । 

अमेरिकी अधिकारीहरूका अनुसार उक्त राडार प्रणालीले सामान्यतया राडारको पहुँचबाट बच्न सफल हुने विमानहरूलाई समेत पहिचान गर्न सक्छ । यद्यपि, यी सैन्य उपकरणहरू हालै उपलब्ध गराइएका हुन् वा इरानको पुरानो हतियार भण्डारकै हिस्सा थिए भन्ने विषय अझै स्पष्ट हुन सकेको छैन ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विमानलाई काँधबाट प्रहार गरिने मिसाइलले निशाना बनाएको यसअघि नै बताइसकेका छन् । ट्रम्पले चीनका राष्ट्रपति सी चिनफिङले चीनले इरानलाई हतियार आपूर्ति नगरेको भन्दै आफूलाई आश्वस्त पारेको दाबी गरेका छन् ।

चिनियाँ दूतावासले यी आरोपहरूलाई पूर्ण रूपमा अस्वीकार गरेको छ । चिनियाँ पक्षले सैन्य सामग्रीको निर्यातसम्बन्धी चीनले कडा नियमहरूको पालना गर्ने जनाएको छ । 



२०८३ ज्येष्ठ १८ ०८:२४ बजे

प्रतिक्रिया