संयुक्त अरब इमिरेट्स (यूएई) को अबुधाबीमा ड्रोनका अवशेष खस्दा घाइते भएका नेपालीहरूको अवस्थाबारे जानकारी लिन यूएईस्थित नेपाली दूतावासले पहल थालेको छ। दूतावासले घाइतेहरूको विवरण र स्वास्थ्य अवस्थाबारे स्पष्ट जानकारी माग्दै यूएईको विदेश मन्त्रालयलाई औपचारिक पत्र पठाएको हो।
यूएईका लागि नेपाली राजदूत तेजबहादुर क्षेत्रीका अनुसार घटनाबारे अहिलेसम्म औपचारिक जानकारी प्राप्त भएको छैन। उनले यूएईको सरकारी सञ्चारमाध्यममार्फत सात जना नेपाली घाइते भएको खबर आएपछि दूतावासले चासो लिएको बताए।
राजदूत क्षेत्रीले घाइते नेपालीहरूको अवस्था बुझ्ने प्रयास भइरहेको जनाउँदै सम्बन्धित निकायसँग समन्वय जारी रहेको जानकारी दिए। उनले भने, “सरकारी मिडियाबाट सात जना नेपाली घाइते भएको जानकारी आएपछि हामीले के भएको हो र उनीहरूको अवस्था कस्तो छ भन्नेबारे स्पष्ट विवरण माग्दै पत्र पठाएका छौं।”
दूतावासले पठाएको पत्रको जवाफ अझै प्राप्त भइनसकेको र बिदापछि सोमबारसम्म थप जानकारी आउने अपेक्षा गरिएको छ।शुक्रबार इरानले प्रहार गरेको ड्रोनलाई यूएईको वायु रक्षा प्रणालीले अवरोध गर्ने क्रममा अबुधाबीको अजबान क्षेत्रमा त्यसका अवशेष खसेका थिए। उक्त घटनामा ७ नेपालीसहित १२ जना घाइते भएका थिए, जसमा ५ जना भारतीय नागरिक पनि रहेका छन्। घाइतेमध्ये एक नेपालीको अवस्था गम्भीर रहेको जनाइएको छ।
घटनापछि यूएईका आपतकालीन टोलीले प्रभावित क्षेत्रमा पुगेर घाइतेहरूको उद्धार र उपचारको व्यवस्था गरेको थियो। यसअघि पनि यस्तै घटनामा अवशेष खस्दा हब्शान ग्यास सुविधा अस्थायी रूपमा बन्द गरिएको थियो।
प्रतिक्रिया