इरानको इस्लामिक शासन ढाल्ने उद्देश्यसहित अमेरिका र इजरायलले इरानका विभिन्न कुर्द समूहलाई हतियार उपलब्ध गराएर इरानभित्र स्थलगत आक्रमण गराउने तयारी गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
अमेरिका र इजरायलले शनिबार इरानमाथि संयुक्त सैन्य आक्रमण गरेपछि मध्यपूर्वमा तनाव चर्किएको छ। प्रारम्भिक आक्रमणमै इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीसहित उच्च सैन्य तथा राजनीतिक अधिकारीहरू मारिएको बताइएको छ। त्यसपछि पनि अमेरिका र इजरायलले इरानमाथि लगातार हवाई आक्रमण गरिरहेका छन्।
तर हवाई आक्रमण मात्रले इरानको धार्मिक शासन नढल्ने देखिएपछि इरानभित्रका अल्पसंख्यक कुर्द समूहलाई हतियार दिएर स्थल आक्रमण गराउने योजना बनाइएको बताइएको छ। अमेरिकी अनलाइन सञ्चारमाध्यम एक्सियसका अनुसार अमेरिकी गुप्तचर संस्था सीआईए र इजरायलको गुप्तचर संस्था मोसादले इरानको उत्तर–पश्चिमी क्षेत्रमा कुर्द समूहलाई प्रयोग गरी स्थलगत हमला गराउने तयारी गरिरहेका छन्।
विश्लेषकहरूका अनुसार अमेरिका प्रत्यक्ष रूपमा स्थल सेना पठाउँदा अमेरिकी जनमत र राजनीतिक विरोध बढ्न सक्ने तथा अमेरिकी सैनिकको ज्यान जाने जोखिम हुने भएकाले राष्ट्रपति डोनाल्ड ट्रम्पले कुर्द विद्रोहीलाई हतियार दिएर आक्रमण गराउने विकल्प रोजेको हुनसक्ने अनुमान गरिएको छ।
यद्यपि अमेरिकी प्रशासनले भने यस्तो योजना रहेको कुरा अस्वीकार गरेको छ। ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले अमेरिकी राष्ट्रपति ट्रम्पले इरानी शासनविरुद्ध कुर्द मिलिसियालाई प्रयोग गर्ने कुनै योजना स्वीकृत नगरेको बताएकी छन्। तर पछिल्ला दिनहरूमा विभिन्न अमेरिकी सञ्चारमाध्यमहरूले अमेरिका र इजरायल मिलेर यस्तो योजना बनाइरहेको दाबी गरेका छन्।
मिडिया रिपोर्टहरूका अनुसार इरानमाथि आक्रमण भएको भोलिपल्ट नै राष्ट्रपति ट्रम्पले इराकमा रहेका कुर्द नेताहरूसँग फोनमार्फत कुराकानी गरेका थिए। इरान र इराक दुवै देशमा कुर्दहरू अल्पसंख्यक समुदायका रूपमा रहेका छन्। इरानी शासनसँगको द्वन्द्वका कारण धेरै कुर्द विद्रोहीहरू इराकतर्फ भागेर बसिरहेका छन्।
विगतमा इराकमा रहेका कुर्द लडाकुहरूले अमेरिकी सेनासँग सहकार्य गरेका थिए। अहिले पनि इरानबाट इराक पुगेका कुर्द समूहलाई हतियार दिएर इरानभित्र आक्रमण गराउने सम्भावना रहेको अन्तर्राष्ट्रिय विश्लेषकहरूले बताएका छन्।
यद्यपि इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) निकै शक्तिशाली सैन्य संरचना भएकाले कुर्द विद्रोहीहरूका लागि प्रत्यक्ष युद्ध कठिन हुने अनुमान गरिएको छ। तर अमेरिकी र इजरायली वायुसेनाले हवाई समर्थन दिएमा कुर्द समूहले इरानी सेनामाथि दबाब सिर्जना गर्न सक्ने आकलन गरिएको छ।
मध्यपूर्वमा जारी तनाव र युद्धको अवस्थामा यस्तो योजना सफल भए इरानको राजनीतिक भविष्य र क्षेत्रीय शक्तिसन्तुलनमा ठूलो असर पर्न सक्ने विश्लेषकहरूले बताएका छन्।
प्रतिक्रिया