भारतिय प्रधानमत्री नरेन्द्र मोदी सवार विमान राजमार्गमा अवतरण

bimbonline बिम्ब अनलाइन
२०८२ फागुन ३ ०९:५९ बजे

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी सवार विमान आसामको डिब्रुगढस्थित मोरान बाइपास सडकमा अवतरण भएको छ।

भारतीय वायुसेनाको सी–१३०जे सुपर हरक्यूलिस विमान शुक्रबार आपतकालीन अवतरण सुविधायुक्त राजमार्गमा सफलतापूर्वक उत्रिएको हो। पूर्वोत्तर भारतमा हवाई जहाज अवतरण गर्न मिल्ने संरचना सहितको राजमार्ग पहिलोपटक सञ्चालनमा आएको भन्दै भारतीय सञ्चारमाध्यमहरूले यसलाई ऐतिहासिक क्षणका रूपमा व्याख्या गरेका छन्।

प्रधानमन्त्री मोदी फेब्रुअरी १४ मा चाबुवा हवाई अड्डाबाट उडान भरेर मोरान बाइपासमा अवतरण गरेका थिए। सम्बोधनका क्रममा उनले आफू रनवेमा नभई हाईवेमा उत्रिएको उल्लेख गर्दै यसले पूर्वोत्तर भारतको क्षमता र विकासको नयाँ सन्देश दिएको बताए। पहिले कमजोर पूर्वाधारका कारण चिनिने यो क्षेत्र अहिले रणनीतिक तथा पूर्वाधार विकासका दृष्टिले उदाहरणीय बनेको उनले बताए।

करिब १०० करोड भारतीय रुपैयाँ लागतमा निर्माण गरिएको इमरजेन्सी ल्यान्डिङ फेसिलिटी (ईएलएफ) सहितको उक्त सडक झण्डै साढे चार किलोमिटर लामो रहेको छ। सामान्य अवस्थामा सवारी साधन चल्ने यो राजमार्ग आवश्यक पर्दा विमानस्थलको रनवेका रूपमा प्रयोग गर्न सकिने गरी निर्माण गरिएको हो। आपतकालीन अवस्था, प्राकृतिक विपत्ति वा युद्धकालीन परिस्थितिमा यसले वैकल्पिक विमानस्थलको काम गर्नेछ। यस संरचनामा लडाकु विमान र यातायात विमान दुवैले सहज रूपमा उडान तथा अवतरण गर्न सक्ने जनाइएको छ।

मोरान बाइपासमा निर्माण गरिएको यो एयरस्ट्रिप चीन सीमासँग नजिक पर्ने क्षेत्रमै रहेकाले पूर्वोत्तर भारतको सुरक्षालाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ। रणनीतिक हिसाबले संवेदनशील मानिने यस क्षेत्रमा यस्तो पूर्वाधार निर्माण हुनु भारतीय सुरक्षा तयारीको संकेतका रूपमा हेरिएको छ।

यता नेपालले पनि केही वर्षअघि राष्ट्रिय राजमार्गलाई आपतकालीन अवस्थामा विमान उडान र अवतरण गर्न सकिने धावनमार्गका रूपमा विकास गर्ने योजना अघि सारेको थियो। तर आवश्यक पूर्वाधार, बजेट तथा कार्यान्वयनको स्पष्ट खाका अभावमा उक्त योजना हालसम्म कार्यान्वयन हुन सकेको छैन। भारतले रणनीतिक सडक–रनवे सञ्चालनमा ल्याइरहँदा नेपालमा भने यस्तो योजना कागजमै सीमित भएको छ।


२०८२ फागुन ३ ०९:५९ बजे

प्रतिक्रिया