छत्तीस सालको विद्यार्थी आन्दोलनपछि भएको जनमत संग्रहमा बहुदलका विरुद्ध झिनो मतान्तरबाट पञ्चायतले जितेको घोषणा गरियो । र, २०३८सालमा राष्ट्रिय पञ्चायतको चुनाव हुने भयो । हामी त्योबेला कीर्तिपुरमा एम ए अन्तिम वर्षतिरका विद्यार्थी थियौँ । छत्तीस सालको विद्यार्थी आन्दोलनको राप र तापले प्रभावित हामी।जनमत संग्रहमा पञ्चायतले जितेपनि व्यवस्थाप्रति आक्रोश घृणा र प्रतिशोध पालेका हामी पञ्च र पञ्चायतप्रति सकेसम्मै नकारात्मक थियौँ । पञ्चायत ढलेर बहुदलीय व्यवस्था लागू भएपछि देश र जनताले समस्या रहित सुखभोग गर्छन् भन्ने मान्यताले प्रेरित हामीलाई पञ्चायतको चुनाव मिथ्या नाटकमात्र लाग्यो ।
पञ्चायती व्यवस्थालाई कमजोर बनाउन र मजाक बनाउन चुनावमा नीति दर्शन दृष्टिकोण नभएका र सकेसम्म विकृत चरित्रका पात्रलाई उठाइदिने र व्यवस्थालाई विकृत मनोवृत्तिको थलो बनाइदिने सोच र नेगेटिव भोटको कन्टेनर बनाउने उद्देश्यले देशका विविध जिल्लामा त्यस्ता पात्र उठाउने काम भयो ।
उसैपनि जनमत संग्रहमा हार व्यहोरेको कुण्ठा र भर्खरै त्रिविले बढाएको शुल्कले हामी क्षुब्ध थियौँ । पञ्चायती चुनाव खासमा हामीलाई कागलाई बेल पाक्नु जस्तै थियो । उठेका वा उठाइएका उमेदवारमध्ये चाबहिलतिरकी नानीमैयाँ दाहाल नामकी एकजना अशिष्ट रअश्लील बोली-व्यवहारकी महिलालाई चुनावमा उठाइएको छ अरे भन्ने सुन्नमा आयो । उनका अशिष्ट व्यवहारले पञ्चायतलाई मजाकको केन्द्र बनाउन सकिन्छ भन्ने हल्लाको हावाले मानिसहरूमा गहिरो प्रभाव पाऱ्यो ।
अझ उनले एकदिन त कीर्तिपुर आई ‘नालायक शासकले शुल्क बढाएर विद्यार्थीमाथि अन्याय गरेको’ भनेर केही छाडा शब्दसहित भाषण गरिन् र हिँडिन् । त्यसपछि त हामी हुरीका पछि लागेको पातजस्तै तिनको समर्थनमा पछि लाग्यौँ ।
पञ्च र पञ्चायतसँग रिस उठ्यो भन्दैमा नानीमैयाँ जस्तालाई चुनेर पठाउँदा तिनका क्रियाकलापले गर्दा देश र जनताले दुस्ख पाउँछन् । तिनका खराब कामले वा नालायकीपनले मुलुकलाई पछि पार्छ । तसर्थ खराब व्यवस्थाको विरोध गर्ने तर खराब मान्छेलाई निर्वाचित नगराउने भनेर सम्झाउनेलाई मण्डले, दरबारको एजेन्ट, पञ्चायतको दलाल आदि शब्दले विभूषित गर्न र नानीमैयाँलाई देवत्वकरण गर्न कुनै कसर बाँकी राखेनौँ । निरपेक्षरूपले पञ्चायतप्रति नकारात्मक र बढेको शुल्कले आक्रोशित भएकै कारणले बदला लिन नानीमैयाँका पछि लाग्यौँ । आफैले नेगेटिव भोटका लागि समर्थन गरेकी र जनमत बढाउन देवत्वकरण गरेकी नानीमैयाँ केही दिनपछि आफ्नै आदर्श देवीतुल्य लाग्नथालिन् । उनको समर्थनमा बोल्नु, देख्न पाउनु देशभक्त हुनु, जनपक्षीय बन्नु हो जस्तो लाग्न थाल्यो । उनका विपक्षमा सानो आवाज उठाउने गुरु शत्रु जस्तो, मित्र बैरी जस्तो र विरोधी, देशघाती, पञ्चायतको एजेन्ट जस्तो लाग्न थाल्यो, र तथानाम गाली गर्न थाल्यौँ ।
हामीले विचार, चिन्तन, परिणाम र हाम्रो छनौटले देशको भविष्यमा पार्ने प्रभावलाई सोच्न छोड्यौँ अनि नानीमैयाँको चुनावी मोहिनीका पछि लाग्यौँ । आखिर काठमाडौँ यसरी नानीमैयाँमय बन्यो कि उनको विरोधीले मौन बस्नु बाहेक कुनै उपाय रहेन । उनको चुनाव चिह्न घडी थियो । त्योबेला मतपत्र सानो हुन्थ्यो, र धेरैतिर उस्तै मतपत्र हुनाले भक्तपुर र ललितपुरका जनताले पनि घडीमा छाप लगाए । जबकि त्यहाँ कसैको पनि चुनाव छिह्न घडी थिएन । नानीमैयाँले आखिर चुनाव जितिन् । तर, हाम्रो बढेको शुल्क घटेन, उनकै कारणले पञ्चायत पनि ढलेन, न त हामीले सोचेझैँ विकास भयो ।
राम्रो व्यवस्थामा पनि खराब पात्र चुनिए भने देश र जनताले दुस्ख पाउँछन् र खराब व्यवस्थामा पनि असल मान्छे चुनिए भने देश र जनताको कम क्षति हुन्छ ।
नानीमैँयालाई चुनेर देश र जनताको पक्षमा कुनै काम भएन । हाम्रो प्रतिशोध शान्त हुने काम पनि कुनै भएन । नेगेटिव भोटको भँडास पोख्ने ‘माकाफुइँ’बाहेक हाम्रो पुरुषार्थ के रह्यो र ?हामी त्योबेलाका विद्यार्थी चेतनाहीन थिएनौँ । विवेक र तर्कहीन पनि थिएनौँ । तर पनि उसै आवेग उत्तेजना अन्धविरोध र नेगेटिव मनोविज्ञानको मास हिस्टेरियाको शिकार बन्यौँ ।हो, बरु छायालीस सालमा पञ्चायत हामीले ढाल्यौँ । चाहेको बहुदललीय व्यवस्था ल्यायौँ । रोजेको उम्मेदवारलाई पनि जितायौँ, तर नानीमैयाँ प्रवृत्तिले आजसम्म हारेन । विकल्प खोज्यौँ, रोज्यौँ, रोजेर फेऱ्यौँ, तर नानीमैयाँको ठाउँमा नानीमैयाँ नै छनौट गऱ्यौँ ।
नानीमैयाँ आज छैनन्, उनको घडीचिह्न पनि उनको रहेन, तर राजनीतिको घडीको टिकटिक उस्तै रह्यो । घडी बाँधिने हातको कामगराइ पनि उही रह्यो र असन्तुष्टि, कुण्ठा र प्रतिशोधका लागि नानीमैयाँको सट्टा अर्की नानीमैयाँलाई कण्ठश्री भिराउने मेरो मानसिकता पनि फेरिएन ।(कृष्ण वस्तीको फेसबुकबाट)
प्रतिक्रिया