भारत। भारतको हिमाञ्चल प्रदेशको दुर्गम चम्बा जिल्लाबाट वफादारी र भावनाले भरिएको एक हृदयविदारक घटना सार्वजनिक भएको छ। भर्मौर क्षेत्रअन्तर्गत भर्माणी माता मन्दिर आसपासको कुकुर काण्डा पहाडी क्षेत्रमा भारी हिमपात र तीव्र चिसोका बीच एक पाल्तु कुकुरले आफ्ना मालिकको शवछेउ तीन दिनसम्म साथ नछोडी बसेको दृश्यले सबैलाई भावुक बनाएको छ।
घटना माघ ९ गते भएको हो, जब १३ वर्षीय पियुष कुमार र उनका १९ वर्षीय काका भाइ विक्सित राणा भिडियो खिच्ने रिल वनाउने उद्देश्यले उक्त क्षेत्रमा गएका थिए। अचानक मौसम बिग्रिएपछि भारी हिमपात र हावाहुरीले उनीहरू पहाडमा अलपत्र परे।
सम्पर्कविहीन भएपछि स्थानीय प्रशासनले ठुलो खोज तथा उद्धार अभियान सुरु गरेको थियो। स्थानीय टोलीसँगै ड्रोन र हेलिकप्टर प्रयोग गरी तीन दिनसम्म खोजी कार्य चलाइयो। अन्ततः ड्रोनको सहयोगमा दुवै युवकको अवस्था पत्ता लाग्यो। दुर्भाग्यवश, पियुष कुमारको शव हिउँले ढाकिएको अवस्थामा फेला पर्यो भने उनका पाल्तु कुकुर भने शवछेउ बसेर पहरा दिइरहेका थिए। प्रत्यक्षदर्शीका अनुसार कुकुर तीन दिनसम्म त्यही स्थानमै बसेको थियो, अत्यधिक चिसो, हिमपात र हुरीका बाबजुद पनि उसले न स्थान छोड्यो न खाना नै खायो।
उद्धार टोलीले कुकुरलाई कम्बलले बेरेर सुरक्षित रूपमा हेलिकप्टरमार्फत शवसहित उद्धार गरेको थियो। जिल्ला प्रशासनका अनुसार उक्त कुकुरलाई पछि पियुषको परिवारलाई जिम्मा लगाइएको छ। घटनाका तस्बिर र भिडियोहरू सामाजिक सञ्जालमा भाइरल भएपछि देशभरका मानिसहरू भावुक बनेका छन्। धेरैले यसलाई निष्ठा र मायोँको दुर्लभ उदाहरण भन्दै कुकुरको साहस र समर्पणको प्रशंसा गरेका छन्। यो घटनाले मानिस र जनावरबीचको सम्बन्ध कति गहिरो र अमर हुन सक्छ भन्ने कुरालाई पुनः स्मरण गराएको छ।
प्रतिक्रिया