के विश्व पुनः मध्यकालीन अराजकता तर्फ जाँदैछ?
वर्तमान विश्व राजनीति यस्तो मोडमा पुगेको छ जहाँ जसको शक्ति, उसैको भक्ति भन्ने उखान चरितार्थ हुँदैछ। अन्तर्राष्ट्रिय कानुन र संस्थाहरू केवल कागजमा सीमित देखिन्छन् भने शक्तिशाली राष्ट्रहरूले साना र कमजोर राष्ट्रहरूको अस्तित्वमाथि प्रश्नचिन्ह खडा गरिदिएका छन्।
भेनेजुएला र अमेरिकी हस्तक्षेपको नयाँ रूप-हालै भेनेजुएलामा निकोलास मादुरो विरुद्ध अमेरिकाले चालेको कदम—उनलाई श्रीमतीसहित नियन्त्रणमा लिएर अमेरिका पुर्याउनु—अन्तर्राष्ट्रिय कूटनीतिमा एउटा ठुलो धक्का हो। अमेरिकाले उचित व्यवस्था नहुन्जेल भेनेजुएला आफ्नो अधिनमा रहने घोषणा गरे पनि त्यो उचित समय कहिले आउँछ भन्ने कुनै निश्चितता छैन। यो घटनाले सन् १९८९ मा पानामाका म्यानुएल नोरिएगालाई अमेरिकाले जसरी कब्जा गरेको थियो, त्यसैको झल्को दिन्छ। यसले प्रस्ट पार्छ कि अमेरिकाले ल्याटिन अमेरिकालाई अझै पनि आफ्नो ब्याकयार्ड (करेसाबारी) ठानेर हस्तक्षेप जारी राखेको छ।
युक्रेन युद्ध र रुसको विस्तारवाद-उता पूर्वी युरोपमा रुसले सन् २०१४ मा क्रिमिया कब्जा गरेपछि सुरु भएको विस्तारवादी यात्रा रोकिने छाँटकाँट छैन। विगत चार वर्षदेखि जारी भीषण युद्धका कारण युक्रेनको एक-तिहाइ भूभाग अहिले मस्कोको नियन्त्रणमा छ। भ्लादिमिर पुटिनको यो कदमले दोस्रो विश्वयुद्धपछिको युरोपेली सुरक्षा संरचनालाई ध्वस्त पारिदिएको छ। यसले के देखाउँछ भने, यदि कुनै राष्ट्रसँग आणविक हतियार र बलियो सेना छ भने उसले छिमेकीको भूगोल जतिखेर पनि बदल्न सक्छ।
मध्यपूर्व र एसियाको अस्थिरता-इजरायल र प्यालेस्टाइनको द्वन्द्व अब जमिनको लडाइँ मात्र रहेन, यो अस्तित्वकै लडाइँ बनेको छ। प्यालेस्टिनीहरूलाई उनीहरूको पुर्ख्यौली भूमिबाट विस्थापित गर्ने प्रयासले गम्भीर मानवीय संकट निम्त्याएको छ। उता एसियामा चीनले ताइवानलाई आफ्नो अभिन्न अङ्ग भन्दै सैन्य घेराबन्दी गरिरहेको छ। अमेरिकाको नजर पनि ग्रिनल्याण्डका प्राकृतिक स्रोत र क्यानाडाको उत्तरी जलमार्गमा पर्नुले भविष्यमा उत्तर अमेरिकाकै भूगोलमा पनि नयाँ समीकरण बन्ने संकेत गर्छ।
नेपाल र क्षेत्रीय सुरक्षा चुनौती-नेपाल जस्तो भू-परिवेष्ठित र राजनीतिक रूपमा अस्थिर देशका लागि यो परिस्थिति निकै घातक छ। यदि नेपालमा आन्तरिक अस्थिरता चरम सीमामा पुग्यो र बाह्य सुरक्षा चुनौती थपियो भने, भारतले सुरक्षाको बहानामा हस्तक्षेप गर्ने जोखिम सधैँ रहन्छ। आधुनिक प्रविधि र हाइब्रिड वारफेय? को जमानामा नेपाली सेनाले थाहै नपाई देशको सार्वभौमिकतामाथि प्रहार हुन सक्ने डरलाग्दो अवस्था छ। सिक्किमीकरणको इतिहास हाम्रा सामु एउटा तितो उदाहरणका रूपमा छँदैछ।
निरीह अन्तर्राष्ट्रिय संस्थाहरू र युरोपको मौनता-संयुक्त राष्ट्र संघ आज एउटा यस्तो क्लब बनेको छ जहाँ ठुला राष्ट्रहरूको स्वार्थ बाझिँदा केवल खेद प्रकट गर्ने बाहेक केही हुँदैन। अमेरिका र अन्य शक्तिशाली राष्ट्रहरू विरुद्ध बोल्ने हिम्मत कसैमा छैन। पश्चिमी युरोप, जो आफूलाई लोकतन्त्रको मसिहा मान्छ, ऊ पनि ट्रम्प प्रशासनको अगाडि निरीह देखिएको छ। युरोपेली नेताहरूले बन्द कोठाभित्र वा बाथरुममा बसेर रिस पोखे पनि सार्वजनिक मञ्चमा अमेरिकाको इसारामा नाच्नुपर्ने बाध्यता छ। उनीहरूको बोलीको न कुनै वजन छ, न कुनै मूल्य।
डोनाल्ड ट्रम्पको बाँकी तीन वर्षको कार्यकालमा विश्वको नक्सा अझै बदलिने निश्चित छ। अन्तर्राष्ट्रिय नियमहरू भत्किँदै जाँदा र शक्ति नै सत्य बन्दै जाँदा, हामी आधुनिकताबाट पछाडि हटेर मध्यकालीन युगको जंगलको कानुनु तिर फर्किँदै त छैनौँ? साना राष्ट्रहरूले आफ्नो अस्तित्व बचाउन अब नयाँ रणनीतिक सन्तुलन खोज्नुपर्ने बेला आएको छ।
प्रतिक्रिया