वैतडी। खेतबारीमा हराउँदै गएको हलगोरुको संस्कृति जोगाउन बैतडीका किसानलाई प्रत्यक्ष राहत पुग्ने कार्यक्रम अघि सारिएको छ ।
परम्परागत खेती प्रणालीलाई जोगाइराख्ने उद्देश्यसहित जिल्लाका चार स्थानीय तहमा हलगोरु पाल्ने किसानलाई प्रोत्साहन रकम वितरण गरिने भएको हो । जिल्लाको शिवनाथ, पञ्चेश्वर, सिगास र डिलाशैनी गाउँपालिकाका गरी दुई सय किसानलाई लक्षित गर्दै प्रतिकिसान पाँच हजार रुपियाँका दरले उपलब्ध गराइने भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख गुमानि दत्त पन्तले बताउनुभयो ।
छनोट भएका प्रत्येक पालिकाबाट ५०–५० जना किसानलाई यस योजनामा समेटिने उहाँले बताउनुभयो । कार्यक्रमका लागि इच्छुक किसानले सम्बन्धित पालिकाको पशु सेवा शाखामा तोकिएको मितिभित्र आवेदन दिनुपर्ने व्यवस्था गरिएको छ । हल गोरु पालेको प्रमाणका रूपमा फोटो, वडाको सिफारिस तथा परम्परागत रूपमा खेती गर्दै आएको विवरण अनिवार्य गरिएको कार्यालय प्रमुख पन्तले बताउनुभयो ।
कम आय भएका, दुर्गम क्षेत्रका र हल गोरुबाटै जीविकोपार्जन गर्दै आएका किसानलाई प्राथमिकतामा राखिने पन्तले बताउनुभयो । यस कार्यक्रमका लागि प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले सुदूरपश्चिमका सबै जिल्लामा बजेट विनियोजन गरेको बताएको छ ।
परम्परागत खेती प्रणाली संरक्षणसँगै किसानको आयस्तर सुधार गर्ने अपेक्षासहित यो कार्यक्रम लागू गरिएको सम्बन्धित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रकले जनाएको छ ।गोरखापत्र अनलाइन
प्रतिक्रिया