आज नेपालमा “कम्युनिस्ट क्रान्ति हुँदैन”, “नेपालमा सर्वहारा नै छैन”, “कम्युनिस्टहरू सबै भ्रष्ट भए”, “स्वतन्त्र व्यक्तिले नै देश बनाउँछ” जस्ता भनाइहरू व्यापक रूपमा फैलाइएका छन्। यी भनाइहरू आकस्मिक रूपमा जन्मिएका विचार होइनन्। यी विचारहरू दलाल पूँजीवाद, साम्राज्यवाद र तिनका वैचारिक प्रतिनिधि,बुर्जुवा बुद्धिजीवी, अवसरवादी राजनीतिज्ञ र नवउदारवादी सञ्चार माध्यममार्फत सचेत र योजनावद्व रूपमा निर्माण गरिएका भ्रम हुन्।
यी भ्रमहरूले एकातिर जनतालाई क्रान्तिबाट विमुख बनाउने काम गरिरहेका छन् भने अर्कातिर कम्युनिस्ट आन्दोलनभित्रै वैचारिक विचलन, निराशा र आत्मसमर्पणवादलाई मलजल गरिरहेका छन्। त्यसैले आजको मुख्य प्रश्न कम्युनिस्ट क्रान्ति “हुन्छ कि हुँदैन” भन्ने भावनात्मक बहस होइन, बरु क्रान्ति कसले, कुन वर्गीय दृष्टिकोणबाट, कुन ऐतिहासिक आधारमा गर्छ भन्ने वैज्ञानिक विश्लेषण हो।
“नेपालमा सर्वहारा छैन” भन्ने दाबी : नेपालमा कम्युनिस्ट क्रान्ति सम्भव छैन भन्ने तर्कको मूल आधार “नेपालमा सर्वहारा वर्ग छैन” भन्ने भनाइमा आधरित छ। यो भनाइ रुपमा ‘तथ्यपरक’ जस्तो देखिए पनि सारमा हेर्दा यो मार्क्सवादको घोर विकृति हो।मार्क्सवादले सर्वहारा वर्गलाई केवल कारखानामा काम गर्ने, स्थायी तलब खाने मजदुरमा मात्र सीमित गर्दैन। सर्वहारा भन्नाले उत्पादनका साधनबाट वञ्चित भई देश र बिदेशमा आफ्नो श्रमशक्ति बेचेर जीवन निर्वाह गर्न बाध्य सम्पूर्ण वर्गलाई जनाउँछ। नेपालजस्तो अर्ध–सामन्ती, अर्ध–औपनिवेशिक समाजमा सर्वहारा वर्ग शुद्ध औद्योगिक रूपमा मात्र होइन, विकृत, मिश्रित र बहुआयामिक रूपमा अस्तित्वमा हुन्छ।
नेपालका उद्योग, निर्माण, यातायात, होटल, सुरक्षा, घरेलु श्रम, कृषि मजदुरी, वैदेशिक रोजगारी, अनौपचारिक क्षेत्र,यी सबै क्षेत्रमा काम गर्ने श्रमिकहरू वस्तुगत रूपमा सर्वहारा वा अर्ध–सर्वहारा वर्ग हुन्। थोरै जमिन भएका किसान, भूमिहीन किसान, साहु–महाजन, बैंक र सहकारीको ऋणमा डुबेका किसान पनि वस्तुगत रूपमा सर्वहारा वर्गकै नजिक छन्।यसरी हेर्दा नेपालमा “सर्वहारा छैन” भन्ने होइन, बरु सर्वहारा वर्ग बहुसंख्यक रूपमा छ, तर संगठित र सचेत छैन भन्ने कुरा सही हुन्छ। त्यसैले यो दाबी स्वयं पूँजीवादी दृष्टिकोणबाट उत्पन्न भ्रम हो, जसले वर्गीय यथार्थलाई ढाकछोप गर्न खोज्छ।
सर्वहारा क्रान्ति भनेको सर्वहाराको मात्र क्रान्ति हो ? कम्युनिस्ट क्रान्ति भनेको “सर्वहारा वर्गले मात्र गर्ने क्रान्ति” हो भन्ने बुझाइ यान्त्रिक बुझाइ हो।मार्क्सवादमा सर्वहारा वर्गलाई क्रान्तिको नेतृत्वकारी वर्ग मानिन्छ, तर क्रान्तिलाई कहिल्यै पनि संख्यात्मक रूपमा शुद्ध सर्वहारा वर्गको एकल कार्यका रूपमा परिभाषित गरिएको छैन। लेनिनले रूसी क्रान्तिमा स्पष्ट रूपमा देखाए कि रूसमा मजदुर अल्पसंख्यक थिए, किसान बहुसंख्यक थिए, तर क्रान्ति सम्भव भयो किनभने किसानहरू सर्वहारा विश्वदृष्टिकोणको नेतृत्वमा आए।
माओले चीनमा अझ स्पष्ट रूपमा प्रमाणित गरे ,जहाँ मजदुर वर्ग सानो थियो, किसान विशाल बहुमतमा थिए। तर क्रान्तिको निर्णायक पक्ष वर्गको संख्या होइन, वर्गीय दृष्टिकोण थियो। किसानहरूले सर्वहारा विश्वदृष्टिकोण अंगीकार गरेपछि नै नयाँ जनवादी क्रान्ति सम्भव भयो।यसको अर्थ के हो भने,क्रान्ति सर्वहारा वर्गको नाममा होइन, सर्वहारा वर्गदृष्टिकोणको आधारमा हुन्छ। त्यसैले कम्युनिस्ट क्रान्ति सर्वहाराले मात्र होइन, सर्वहारा दृष्टिकोणले लैस सम्पूर्ण उत्पीडित वर्गले गर्छ।
भ्रष्ट कम्युनिस्ट र कम्युनिज्म प्रतिको जन–निराशा:आज नेपाली समाजमा कम्युनिस्ट शब्दप्रति व्यापक नकारात्मक धारणा बनाइएको छ। यसको मुख्य कारण सत्तामा पुगेका नामधारी कम्युनिस्टहरूको भ्रष्टाचार, विलासिता र जनविरोधी आचरण हो। तर यहाँ गम्भीर वैचारिक छल गरिन्छ कि व्यक्तिगत वा समूहगत पतनलाई सम्पूर्ण कम्युनिस्ट विचारको असफलता भनेर प्रस्तुत गरिन्छ।
द्वन्द्वात्मक भौतिकवादी दृष्टिकोणले हेर्दा, ती भ्रष्ट नेताहरू वर्गीय रूपमा सर्वहाराबाट बुर्जुवामा रूपान्तरण भइसकेका छन्। उनीहरू पूँजीवादी राज्यसत्ताको अंग बनेपछि पूँजीवाद र साम्राज्यवादको सेवा गर्न थालेका छन्। त्यसैले उनीहरूको भ्रष्टाचार कम्युनिज्मको परिणाम होइन, कम्युनिज्मबाट विचलनको परिणाम हो।तर दलाल पूँजीवादलाई यही भ्रम आवश्यक छ कि जनताले विचार र अवसरवादबीच भेद गर्न नसकून्। त्यसैले आजको कम्युनिस्ट आन्दोलनको पहिलो काम नै यही भ्रम चिर्नु हो,कम्युनिस्ट विचार असफल भएको होइन, अवसरवादी कम्युनिस्टहरू असफल भएका हुन्।
“स्वतन्त्र व्यक्तिले नै देश बनाउँछ”: यो तर्क बुर्जुवा व्यक्तिवादको वैचारिक आक्रमण हो।आज व्यापक रूपमा फैलाइएको अर्को भ्रम हो,अब वर्ग होइन, व्यक्ति महत्वपूर्ण छ। स्वतन्त्र, उद्यमशील व्यक्तिले नै देश बनाउँछ। यो विचार नव–उदारवादी पूँजीवादको वैचारिक उत्पादन हो। यसले समाजका संरचनागत शोषणलाई लुकाएर सबै समस्यालाई व्यक्तिगत क्षमतामा सीमित गर्छ।
मार्क्सवादले व्यक्ति नकार्दैन, तर व्यक्तिलाई समाज र वर्गबाट अलग गरेर हेर्दैन। कुनै पनि व्यक्ति पूर्ण रूपमा स्वतन्त्र हुँदैन। श्रम बेच्न बाध्य व्यक्ति, ऋणमा डुबेको युवा, बेरोजगार मजदुर,यी सबै पूँजीवादी संरचनाभित्र कैद छन्।“स्वतन्त्र व्यक्ति” भन्ने अवधारणा वास्तवमा पूँजीवादी दासतालाई स्वतन्त्रताको रूपमा प्रस्तुत गर्ने वैचारिक भ्रम हो। यसले वर्गसंघर्षलाई विस्थापित गरेर जनतालाई सचेत र संगठित संघर्षबाट टाढा लैजान्छ।
युवामा फैलिएको उपभोक्तावाद र वैचारिक सम्बन्ध बिच्छेदःआजको युवा पुस्ता उपभोक्तावाद, करियरवाद र व्यक्तिवादी सोचले ग्रसित छ। यो स्वाभाविक विकास होइन, दलाल पूँजीवादको सचेत वैचारिक आक्रमण हो। उपभोगलाई स्वतन्त्रता र सफलता मान्न सिकाइन्छ, जबकि श्रम, शोषण र वर्गीय यथार्थ ओझेलमा पारिन्छ।युवालाई राजनीति “फोहोर” हो भन्ने सिकाइन्छ, ताकि उनीहरू वर्गसंघर्षबाट टाढा रहून्। यसको प्रतिवाद खाली नारा वा भावनाबाट होइन, द्वन्द्वात्मक भौतिकवादी शिक्षा र संगठनबाट मात्र सम्भव छ। युवाले आफ्ना व्यक्तिगत समस्याहरूलाई सामाजिक संरचनासँग जोडेर बुझ्न थालेपछि मात्र क्रान्तिकारी चेतना विकसित हुन्छ।
संश्लेषण नेपालमा क्रान्तिको वास्तविक शक्तिःयी सबै विश्लेषणहरूको संश्लेषण गर्दा स्पष्ट हुन्छ कि नेपालमा क्रान्ति न त शुद्ध सर्वहारा वर्गको संख्यामा निर्भर छ, न त नामधारी कम्युनिस्टहरूको उपस्थितिमा। क्रान्तिको निर्णायक तत्व हो सर्वहारा विश्वदृष्टिकोण,सर्वहारा दृष्टिकोणले लैस किसान, मजदुर, महिला, दलित, आदिवासी–जनजाति, उत्पीडित क्षेत्रका जनता, चेतनशील युवा र क्रान्तिकारी बुद्धिजीवीहरूको संयुक्त संघर्ष नै नेपालमा क्रान्तिको वास्तविक आधार हो। यस अर्थमा, क्रान्ति कुनै एक वर्गको एकल कार्य होइन, बरु सर्वहारा वर्गदृष्टिकोणको नेतृत्वमा सम्पूर्ण उत्पीडित जनताको ऐतिहासिक अभियान हो।
अन्ततः भन्नैपर्छ,क्रान्ति सर्वहारा व्यक्ति मात्रले होइन,सर्वहारा दृष्टिकोणले लैस जनताले गर्छन।वर्गीय चेतना र दृष्टिकोण बिना वर्गको नाम निरर्थक हुन्छ, र सचेत दृष्टिकोण सहित संगठित जनताले मात्र इतिहास बदल्छ।आजको कार्यभार यही हो,भ्रम चिर्ने, चेतना निर्माण गर्ने, र उत्पीडित जनतालाई सर्वहारा विश्वदृष्टिकोणमा संगठित गर्ने। यही बाटोबाट मात्र नेपालमा कम्युनिस्ट क्रान्ति सम्भव छ।
प्रतिक्रिया