ताइवानमा चिनियाँ आक्रमण भएमा सेना तैनाथ गर्ने सम्भावनामाथि जापानी प्रधानमन्त्री सनेई ताकाइचीले दिएको धम्कीलाई लिएर कूटनीतिक विवाद गहिरिँदै जाँदा चीनले आफ्ना नागरिकलाई जापानको यात्रा नगर्न आग्रह गरेको छ । चीनले बेइजिङमा रहेका जापानी राजदूतलाई पनि बोलाएको बीबीसीले जनाएको छ ।
चीनले ताइवानमाथि आक्रमण गरेमा जापानले आफ्नै आत्मरक्षा बल प्रयोग गरेर जवाफ दिन सक्छ भन्ने जापानी प्रधानमन्त्रीको भनाइपछि यो हप्ता दुई देशबीच वाकयुद्ध बढेको छ । दुवै देशका विदेश मन्त्रालयले एकअर्कासँग गम्भीर विरोध जनाएका छन् ।यो विवादले चीन र जापानबीच ऐतिहासिक शत्रुताका साथै स्वशासित ताइवानको सार्वभौमसत्तामाथि लामो समयदेखि रहेको रणनीतिक अस्पष्टतालाई छोएको खबरमा उल्लेख छ ।
गएको शुक्रवार संसदीय बैठकमा एक विपक्षी सांसदले ताकाइचीलाई ताइवानसँग सम्बन्धित कुन परिस्थिति जापानका लागि अस्तित्व खतराको स्थिति मानिनेछ भनेर सोधेका थिए । जवाफमा ताकाइचीले ताइवानमा युद्धपोत र बल प्रयोग हुन्छ भने त्यसले अस्तित्व खतराको स्थिति सिर्जना हुन सक्ने बताउनुभएको थियो ।एजेन्सी
प्रतिक्रिया