जेल बस्ने पुर्व मन्त्रीबीच भेदभावपुर्ण ब्यवहार रविलाई विशेष सुविधा

bimbonline बिम्ब अनलाइन
२०८२ कात्तिक १ १८:०९ बजे

कानुनको नजरमा हरेक नागरिक समान हुन् भन्ने हो । कानुन र अधिकार सबैलाई बराबरी हुन्छ। सबै नागरिकले पाउने अधिकार समान हुन्छ । त्यसैगरी,अपराध गरेमा पाउने सजाय पनि एउटै हुन्छ । जेलको हकमा पनि त्यही नै हो । जेलमा भएका सबै कैदीबन्दीलाई दिने सेवासुविधा सराबरी हुन्छ । जतिसुकै विशिष्ट पदमा पुगेको व्यक्ति भए तापनि जेलभित्र गएपछि सबै कैदी बन्दी हुन्छन् । सबैलाई एउटै व्यवहार गरिनुपर्ने ठानिन्छ । 

तर, पछिल्लो समय लोकप्रियतावादको आधारमा जेलभित्र सेवासुविधा दिन थालिएको छ । जसको फ्यान बढी छ, उसलाई छुट्टै सेवासुविधा दिइन्छ । जसको जल्दोबल्दो उदाहरण हुन्, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने । उनी सहकारी ठगी प्रकरणअन्तर्गत नख्खु कारागारमा छन् । यसअघि भैरहवा कारागार बसेका उनलाई छुट्टै कोठा दिइएको थियो । अन्य कैदीबन्दी एउटै कोठामा कोचाकोच गरी बसिरहँदा सिंगो कोठा पाएका रविको सेवासुविधालाई लिएर राष्ट्रियस्तरमै बहस छेडिएको थियो । 

उनलाई पर्याप्त सेवासुविधा नदिएको गुनासोपछि राष्ट्रिय मानव अधिकार आयोगको टोलीले अनुगमन पनि गर्यो । र, झ्यालमा प्लाईको साटो जाली हाल्न निर्देशन दिइयो । हाल रविलाई स्थानान्तरण गरेर नख्खु कारागार ल्याइएको छ । यहाँ पनि कोठा छुट्टै छ । नख्खु कारागारको तीन वटा ब्लकमध्ये उनी सिआरसी ब्लकमा बस्छन् । एक हजार २८१ जना कैदीबन्दी रहेकोमा एउटै कोठामा दर्जनौं जसोतसो बसिरहेका छन् । 

कारागारका एक कर्मचारीले भने,‘उहाँलाई त पहिलेदेखि नै छुट्टै कोठामा राखिएको हो । अहिले पनि सो सुविधा दिइएको छ ।’ सुन तस्करी प्रकरणमा पूर्वसभामुख कृष्णबहादुर महरा अस्तिदेखि पुर्पक्षका लागि कारागार चलान भएका छन् । जिल्ला अदालत, काठमाडौंका न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलासले बहस सकिएपछि थुनामा पठाउने आदेश गरेबमोजिम उनलाई केन्द्रीय कारागार, सुन्धारा पठाइएको हो । 

केन्द्रीय कारागारका तीन वटा ब्लकमा झण्डै तीन हजार आठ सय कैदीबन्दी छन् । उनीहरुसँगै बस्छन्,महरा । महरालाई अन्य कैदीबन्दीसँगै राखिएको पारिवारिक स्रोतले जनाएको छ । हिजो उनलाई भेट्न पुगेका परिवारका एक सदस्यले भने,‘उहाँलाई अरु कैदीबन्दी जसरी बस्छन्,त्यसरी नै राखिएको छ । भेटघाटचाँहि सहज बनाइदिएको रहेछ । एउटा छुट्टै डायरी राखिदिएको छ ।’

महरा पूर्वउपप्रधानमन्त्री,गृहमन्त्री, अर्थमन्त्री,सूचना तथा सञ्चारमन्त्री, सभामुख भइसकेका व्यक्ति हुन् । पूर्वउपप्रधान,भौतिक योजना तथा निर्माण,शान्ति तथा पुनःर्निर्माण, स्थानीय विकास र ऊर्जामन्त्री बनिसकेका टोपबहादुर रायमाझी नक्कली भुटानी शरणार्थी प्रकरणमा डिल्लीबजार कारागारमा छन् । भदौ २३ गतेको जेनजी प्रदर्शन र भदौ २४ गतेको विध्वंशअघि सुन्धारा कारागारमा रहेका उनलाई त्यसपश्चात् डिल्लीबजार सारिएको छ । 

सुन्धारामा हुँदा टोपबहादुर अन्य कैदीबन्दीसँगै बस्थे भने डिल्लीबजारमा पनि उनी अरुसँगै रुम सेयर गरिरहेका छन् । काठमाडौंको सबैभन्दा सानो कारागार डिल्लीबजारमा दुई वटा ब्लक छन् । कारागारमा ५३८ कैदीबन्दी भएको जेलर बाबुराम अर्यालले बताए । भन्छन्,‘जेलभित्र आएपछि सबै सराबरी हुन् । उहाँलाई अरु कैदीबन्दीसँगै राखिएको छ । यहाँचाँहि क्षमताभित्रै कैदीबन्दी छन् ।’



२०८२ कात्तिक १ १८:०९ बजे

प्रतिक्रिया