‘जेनजी’ आन्दोलन : बिमा दाबी २३ अर्ब ३९ करोड

bimbonline बिम्ब अनलाइन
२०८२ असोज १२ ११:०७ बजे

काठमाडौं । गएको भदौ २३ र २४ गतेको ‘जेनजी’ पुस्ताको आन्दोलनका कारण क्षतिग्रस्त भएका भौतिक संरचनाको बिमा दाबी २३ अर्ब ३९ करोड २७ लाख रुपैयाँबराबरको परेको छ ।

नेपाल बिमा प्राधिकरणका अनुसार, बिमा दाबीको सूचना आउने क्रम जारी छ । हालसम्म सम्पत्ति बिमा ५९४, मोटर बिमा दुई हजार २०९, इन्जिनियरिङ तथा ठेक्का जोखिम बिमा १४४, परिवहन बिमा ११ र अरू बिमाका ३० आवेदन परेको छ ।सबैभन्दा धेरै बिमा दाबी वाग्मती प्रदेशमा छ । यो प्रदेशमा एक हजार ६०८ बिमा दाबीको आवेदन परेको प्राधिकरणले जनाएको छ ।

कोसीमा ३७७, मधेसमा ३२३, गण्डकीमा २१९, लुम्बिनीमा २५४, कर्णालीमा २५ र सुदूरपश्चिम प्रदेशमा १८२ वटाको दाबी परेको छ । हालसम्म कुल दुई हजार ९८८ बिमा दाबीको आवेदन परेको छ ।  भौतिक क्षति धेरै भएकाले दाबीको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ ।प्राधिकरणको विवरणानुसार, सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा पाँच अर्ब ४५ करोड ९३ लाख रुपैयाँबराबरको दाबी आवेदन परेको छ ।

यस्तै, दी ओरियन्टल इन्स्योरेन्समा पाँच अर्ब २३ करोड २४ लाख, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीमा दुई अर्ब ७९ करोड ६६ लाख, शिखर इन्स्योरेन्समा दुई अर्ब ३९ करोड १३ लाख, सगरमाथा लुम्बिनी इन्स्योरेन्समा एक अर्ब ५७ करोड ५९ लाख रुपैयाँबराबरको बिमा दाबीको आवेदन परेको छ ।मुलुकभर १४ निर्जीवन बिमासहित चार  माइक्रो इन्स्योरेन्स कम्पनीमा ती आवेदन परेको प्राधिकरणले जनाएको छ । रासस



२०८२ असोज १२ ११:०७ बजे

प्रतिक्रिया