गाजामा सीमित राहत पहुँचले बालबालिकाको पोषण सङ्कट गम्भीर - संयुक्त राष्ट्रसङ्घ

bimbonline बिम्ब अनलाइन
२०८२ साउन २५ १०:४४ बजे

काठमाण्डौ । संयुक्त राष्ट्रसङ्घको मानवीय समन्वय कार्यालय (ओसीएचए) ले गाजामा राहत सामग्रीको पहुँच अत्यन्त सीमित रहेकाले बालबालिकासहित नागरिक भोकमरी र कुपोषणको सङ्कटमा परेका जनाएको छ ।

साथै उसले गाजामा दिनप्रतिदिन भोकमरी र कुपोषणको सङ्कट गहिरिँदै गएकोमा चिन्ता व्यक्त गरेको छ । मानवीय क्षेत्रका साझेदार संस्थाहरूका अनुसार, गाजाका बालबालिकामा तीव्र कुपोषणको दर अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ ।संयुक्त राष्ट्रसङ्घका साझेदार संस्थाहरूले अत्यावश्यक पोषण सामग्री गाजामा पुग्न नसकेको र यसले स्थिति थप जटिल बनाउने चिन्ता व्यक्त गरेका हुन् ।

यसैबीच विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)) का प्रमुख टेड्रोस अधानोम गेब्रेयससले आधारभुत सेवामा पहुँच सीमित हुँदा  कुपोषण र भोकमरीसँग सम्बन्धित मृत्युका घटना बढिरहेका बताउनुभएको छ ।

अघिल्लो महिना जुलाईमा गाजामा पाँच वर्षमुनिका झन्डै १२ हजार बालबालिका तीव्र कुपोषणबाट पीडित भएको पहिचान गरिएको थियो । इजरायल र हमास लडाकू समूहबीच गाजामा लडाइँ चलिरहेको छ ।


२०८२ साउन २५ १०:४४ बजे

प्रतिक्रिया