यात्रा सस्मरण: प्यूठानको घुम्नै पर्ने मनमोहक ठाउँ गौमुखी

bimbonline नरेन्द्र देवकोटा प्रशान्त
२०८२ असार २८ १४:१९ बजे
नरेन्द्र देवकोटा प्रशान्त

घुम्नै पर्ने शुन्दर अनुपम स्थानहरू छन् प्यूठान जिल्लामा । प्यूठान जिल्लालाई चिनाउने अनेक प्राकृतिक, धार्मिक स्थल, पर्यटकिय एवं साँस्कृतिक दृष्टिकोणले केन्द्रबिन्दु मानिएका स्थान मध्ये एक गौमुखी पनि प्रमुख स्थान भित्र पर्दछ । नाम सुनेको थिएँ परिचित भने थिइन । प्यूठान आएपछि गौमुखीबारे धार्मिक साँस्कृतिक पर्यटकिय बिशेषता र महिमाबारे बुझ्दै थिएँ । नाम सुन्दानै एक चोटि पुगौँ पुगौँ भईरहेको थियो तर न साइत जुरेको थियो न समयले साथ दिएको थियो ।

प्यूठान जिल्लामा दुई नगरपालिका र सात गाउँपालिका रहेका छन् । तिनिहरू मध्ये प्यूठान र स्वर्गद्वारी दुई नगरपालिका रहेका छन् भने मल्लरानी, माण्डवी, सरुमारानी, ऐरावती, नौबहीनी, गौमुखी र झिमरुक समेत सातवटा गाउँपालिका रहेका छन् । प्यूठान जिल्लाका स्थानीय निकाय मध्ये गौमुखी गाउँपालीकामा रहेको गौमुखी गुफाको यात्रा बर्णनको चर्चा रहनेछ ।

पूर्वि नेपाल होस् या लुम्बिनी प्रदेश देखि पूर्व रहेको कोशी प्रदेश,  मधेस प्रदेश, बाग्मती प्रदेश र गण्डकी प्रदेशबाट गौमुखी दर्शन एवं कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशबाट भ्रमण गर्न आउँदा बुटवल हुँदै दाङको भालुवाङबाट उत्तरतर्फ लागि प्यूठानको सरुमारानी  र माण्डवी गाउँपालिका हुँदै चकचकेबाट उत्तरतर्फको माण्डवी खोलामाथी रहेको पक्की पुल पारगर्दै चेरनेटा, क्वाडी, जुम्री बजार, बिजुवार, पुण्यखोला हुँदै दुई ढाई घण्टामा बागदुलामा पुग्नु पर्दछ ।

लुम्बिनी प्रदेशका बाँके, बर्दिया, दाङ, पाल्पा नवलपरासी रुपन्देही कपिलबस्तु जिल्लाका तिर्थयात्री आउनु पर्दापनि दाङको भालुवाङ हुँदै प्यूठानका सरुमारानी र माण्डवी गाउँपालिका हुँदै प्यूठान नगरपालिकाको बागदुला बसपार्क सम्म पुग्न सकिन्छ । 

बागदुला बजारमा रहेको पक्की पुल नेर लागेका गौमुखी गाउँ पालिकाको वडा नं १ हुँदै वडा नं २ सम्मको अर्खागाउँ जाने बस, जिपको बिहान र दिउँसोको टिकट काटेर  बाटोमा पर्ने झिमरुक खोला, झिमरुक गाउँपालिकाका विभिन्न स्थान, गौमुखी गाउँ पालिकाका विभिन्न स्थान हेर्दै शुन्दर मनमोहक स्थान तर्फ आँखा डुलाउँदै नजर डुलाउँदै जान सकिन्छ ।

मलाई गौमुखी घुम्न जान पाईएन भनेर खुल्दुली लागिरहेको थियो । निकैचोटी प्रयास गरेता पनि अनुकुल मिलेको थिएन । एक्कासी केही दिन अघि गौमुखी गाउँपालिकाको अध्यक्ष बिष्णु योगीले उपाध्यक्ष महावीर राना मगर सँग सरकारी वकील सरलाई छिटै बोलाउने चाँजोपाँजो मिलाउनुहोस् है भन्दै सल्लाह गर्नु भएछ ।

मलाई दिउँसो टिनिनी मोबाइलबाट फोन आयो । म गौमुखी गाउँपालिको उपाध्यक्ष महाविर बोल्दैछु, सरले केही दिनको समय मिलाएर गौमुखी पालिकामा हुने न्यायिक समितिको कार्यक्रम सँगै गौमुखी गुफा जानेगरि भोलि बिहान आउनुहोला, गाडी समेतको व्यवस्था भैसकेको छ । यति भनेपछि बर्षात शुरु हुनुभन्दा अघि यो उपयुक्त समय लाग्यो । मैले पनि  कार्यालयको चाँजोपाँजो मिलाई हवस् भनिदिएँ । उहाँले थप्नुभयो । कार्यक्रम र थप अन्य जानकारी बारे हाम्रो पालिकाको कानूनी सल्लाहकार अनिल रायमाझीले थप फोन गर्नु हुनेछ ।

यति भनेपछि हाम्रो अफिसको गुरुजीलाई लिएर भोलीपल्ट बिहान नौँ बजे बागदुलातर्फ प्रस्थान गर्यौँ । पालिकाबाट जीप आईसकेको रहेछ, हाम्रो गाडी उहीँ पार्किङ गरि हामी झिमरुक खोलाको किनारै किनार हजारौँ बर्ष अघिको झिमरुक प्यूठानको सभ्यता र बिकास नियाल्दै करिव १०.३० बजेतिर मरन्ठाना चिसा हुँदै मच्छि बजार पुग्यौँ । मरन्ठानामा प्रहरी चौकि रहेछ । यसलेनै सरकारको उपस्थितिको महसुस गराउने र स्थानिय ठाउँको खवर जिल्लालाई जानकारी गराउने गर्दछ । मरन्ठानाबाटै मल्लरानी गाउँपालिको मर्कावाङ जाने बाटो पनि रहेछ ।

मध्ये जेठ महिना हुँदै थियो उसो त गतेले १२ मात्रै छोएको थियो, खोला किनारका फाँटमा झिमरुक खोलाबाट आउने कुलोको सहायताले मानिसहरू धमाधम रोपाईँ गरिरहेका थिए । न गर्मी न बर्षात, हलिहरू गोरु जोतेर खेत नारीरहेका थिए । मान्छेहरू बीउ फालिरहेका थिए । रोप्नेरीहरू छुपुछुपु रोपी रहेका थिए । यो दृश्य गाडीबाट सहजै देखिन्थ्यो । यो बाटो अलि फराकिलो बन्दै गरेकोले बिच बिचमा डोजरले थुपारेको माटो पन्छाउन्जेल पर्खिनु पर्थ्यो । बेलाबेला अत्यास पनि लाग्दथ्यो ।

बाटोमा कहिलेकाहीँ नसोचेको कुरा पनि सुन्नु पर्दो रहेछ ।बागदुलामा मैले सरकारवादी फौँजदारी मुद्दा चलाएका मान्छेले आफुलाई फौँजदारी मुद्दा चलाएर थुनाउने मान्छे यहि हो भनेर मलाई देखाउँदै कानेखुसि गरेको पनि पाईयो । मलाई लाग्यो कतै मैले सहि तरिकाले त मुद्दा चलाएको थिइनकि कतै रिस साँधेको छ कि भन्ने पनि लागिरह्यो ।

बाटोभरी कलिला आँप फलेका देखिन्थे । सानासाना दाना रुखमा लत्रेको देख्दा खुवै आनन्द महसुुस भैरहेको थियो । मरन्ठानादेखि अलि अघिको घुम्नेठाँटि र  चिसावाङ पनि निकै शुन्दर लाग्यो । एकातिर मध्ये जेठ अर्कोतिर बर्खाको रापीलो घामको शुरुवात । गर्मी भएपनि चारैतिरको हरियाली दुश्यले मन मन्त्रमुग्ध पारेका थिए । 

बास्तमा मच्छिमा गौमुखिबाट बगेको पानीनै झिमरुकमा पुगे पछि झिमरुक खोला नामाकरण हुन्छ । मानिसहरू आफ्नो अनुकुलता मिलाएर निकै शुन्दर वस्ति बसाईरहेका थिए । अब किनमेलकै लागि बिजुवार जुम्री बजार बागदुला बजार र खलंगामा दुस्ख पाउनु पर्दैन । कुनै कुनै सामान बाहेक ।  मच्छि बजार बाँदीकोट ओखरबोट तुसारा आदिक्षेत्रकै संगमस्थल बनेको रहेछ ।

चिसावाङमा डोजरले बाटो खन्दै थियो हामीभन्दा अगि दुइटा टेक्टर लामै समयदेखि पर्खिरहेका थिए, गाडीमा माया लाउछौ लाउँदिनौ पाईन उत्तर भन्ने भाकाको गित पनि बजिरहेको थियो । हामी करिव १।३० बजेतिर गौमुखी गाउँपालिकादेखि केही वरै ठुलाबेशी बजारमा पुग्यौँ ।

ठुलाबेशी बजार गाउँपालिकाको मुख्य ब्यापारीक र आवास क्षेत्र रहेछ । गौमुखी गाउँपालिका स्थानिय सरकारको रुपमा स्थापना भएपछि स्थानीय बजारको  रुपमा ठुलाबेशी बजारको बिकास भएको रहेछ । गाउँबाट मानिसहरु बेशीतिर झरेर शिक्षा स्वास्थ्य लगायत बजार बिस्तार गरेको देख्दा अत्यन्तै खुसि पनि लाग्यो । केही समययपछि हामी बाटोको छेउमा रहेको गाउँपालिकामा पुग्यौँ । हामीलाई अध्यक्ष उपाध्यक्ष एवं कानून अधिकृत ले  स्वागत सँगै प्रेमपूर्वक आतिथ्यता गर्नुभयो खुसि र भलाकुसारी साँट्यौँ । गाउँपालिका अध्यक्ष नेपाली काँग्रेस जिल्ला सभापति पनि हुनुहुँदो रहेछ ।  

नेपाली काँग्रेस जिल्ला सभापति लाई गाउँपालिकाको  अध्यक्षको रुपमा पाउने गौमुखी गाउँपालिका जनता बहुतै भाग्यमानी रहेछन् भन्ने महसुस गरेँ । गौमुखी गाउँपालिका प्युठान जिल्लाका ७ गाउँपालिकाहरू मध्ये एक हो । २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा साविकका अर्खा, रजवारा, पुँजा, खुङ, लिवाङ ( वडा नं.१ देखि ६ सम्म ) र नारीकोट गाविस यसमा गाभिएका थिए । हाल यस गाउँपालिकाको अध्यक्ष पदमा विष्णुकुमार गिरी (नेपाली काङ्ग्रेस  पार्टीबाट) र उपाध्यक्ष पदमा महावीर राना मगर (नेकपा (माओवादी केन्द्र )पार्टी बाट ) निर्वाचित  हुनुभएको रहेछ  ।

लुम्बिनी प्रदेशको नक्सामा गौमुखी गाउँपालिकाको अवस्थिति हेर्दा २८.२४ड्ढ उत्तरी अक्षांश देखि ८२.९९ड्ढ पूर्वि देशान्तरसम्म फैलिएको देखिन्छ । यस गाउँपालिकाको जम्मा क्षेत्रफल १३९.०४ बर्ग कि.मी. ( ५३.६८ वर्ग माइल ) रहेको छ । राष्ट्रिय जनगणना २०७८ को तथ्यांकनुसार यहाँको जम्मा जनसंख्या २५,९८० रहेको छ भने अौसत घनत्व हेर्दा १९० र कि.मी. (४८०रवर्ग माइल)) रहेको छ ।

हामीले खाना खाएका थिएनौँ अघिल्लो दिनमै खाना पालिकामै खानेगरी निम्तो भएको थियो । हामीलाई खाना खान आग्रह गरेपछि तात्तातो मीठो स्वादको खाना गौमुखी पालिकाको पहिलो मौलिक परिकारको स्वाद लिनैे अवसर जुटेको थियो । मैले फेरि पनि धन्यवाद व्यक्त गरेँ ।

उपाध्यक्ष महादेव रानामगर र कानून अधिकृत अनिल रायमाझीले स्थानिय निकायमा निवेदक र पिडक पक्ष बिच हुने मेलमिलाप, स्थानिय सरकारका कामहरू, न्यायिक समितिका काम स्थानिय न्यायिक समिति समक्ष पर्ने निवेदन लगायत उजुरी दर्तादेखि कानूनी र कार्यबिधिगत जटिलता र समस्यामा कानूनी व्यवस्थाबारे प्रस्ट्याईदिन आग्रह गरेपछि मैले सहभागी पुरुष महिला सहित ३० र ४० जनालाई नयाँ बिषयमा सहजिकरण गर्ने मौकापाएँ ।

सरकारी वकीलसँग बिविध बिषयमा जिज्ञासा राख्न पाउँदा सहभागी र संञ्चालकहरूले आफुहरु अत्यन्त खुसि रहेको बिचार व्यक्त गर्नु भएको थियो । समय घर्कीसकेको थियो। त्योदिन गौमुखी गुफा दर्शन गर्न भ्याईएन ।भोलीपल्टको बिहान जाने सल्लाह भयो । त्यो दिन साँझ पालिका शेरोफेरोका स्थानहरू हेर्यौ । पालीकाबाट डाँडामाथी देखिने खुङ र लिवाङगाउँ  निकै शुन्दर देखिन्थे ।

प्यूठानमा मगरात भाषाबाट गाउँठाउँहरुको नाम रहने गरेको पाईन्छ । यहाँका गाउँठाउँका पछाडी वार बाङ जोडिने गर्दछ । बाङर वाङ भन्नाले मगरात भाषामा सम्म ठाउँ, बेशी,टार खोँच आवास र आवादी गर्न मिल्ने ठाउँ भन्ने बुझिन्छ । जस्तै लिवाङ, खवाङ, सारीवाङ, लुङ, खुङ आदि ।  प्यूठानमा मात्रै होइन, दाङ स्थित भालुवाङ, सल्यानमा खैरावाङ भगवती मन्दिर।रोल्पामा लिवाङ बाहेक अन्य वाङ जोडिएका थुप्रै ठाउँछन । गौमुखीमा सातवटा वडा रहेका छन् । प्राय वडामा वाङ र ङ अन्ति अक्षर भएका ठाउँ छन् ।

हामीलाई गाउँपालिकाबाट बोलेरो गाडी मिलाई दिएपछि गौमुखि गुफातिर लाग्यौ करिव  बिहानको८.०० बजेतिर । केही पर गुल्मी जिल्लाको एक गाउँ भएर हामी गाउँपालिकाको अर्खातिर जानुपर्दो रहेछ । हामी सरासर पहाडी गाउँले ट्याक खुलेको सिंगल गाडी आवत जावत हुने बाटो हुँदै वारि अर्खा र पारी हुँदै गौमुखी गुफा पुग्ने उकालो चढ्न थाल्यौँ । मलाई गौमुखिका सबैभन्दा राम्रा पाखामा बस्ति भएका अर्खा राम्रो लाग्यो ।

हामी वारि अर्खाबाट पारी अर्खातर्फ जाँदै थियौँ, बोलेरोको पछाडी पालिकाको सामान राख्ने खाली ठाउँ थियो । गाउँका मानिस पारी अर्खा जान खोजेपछि पालिकाका चालकले ४ र ५ जना गाउँलेलाई त्यसैमा बस्न लगाए गाडी अघि जाँदै थियो , पहाडको माथिबाट ढुङ्गा खसेर गाडीको बिचैमा खस्यो ।धन्नै पछाडी बसेका मान्छेका टाउकोमा लागेन ।नत इन्जिन भएको सिसामाथि खस्यो ।ढुङ्गा धेरै ठूलो वजनदार रहेनछ र हामी सबै दुर्घटना हुन बाट बच्यौँ । हामी सबैले एकचोटी ईश्वर र कुलदेवतालाई सम्झ्यौँ ।

अर्खामा ठुलाचौर भन्ने ठाउँमा गौमुखी मन्दिर रहेछ । समय अभाव भएकाले त्यहाँ गएनौँ त्यहाँ । माघिमा ठूलो मेला लाग्दो रहेछ । हामी फटाफट गौमुखीको नजिक पुग्दै थियौँ पारी र वारि दुबैतर्फ भिर थियो बिचमा गौमुखीको गुफाबाट निस्कने पानीको कतै छङछङ गर्ने खोला । कतै ठाडोझरेका झरनाका दृश्य देखिन्थे ।गौमुखि जाने भिरको भित्र ख‍ोप्दै सिँढी  र छेउमा रेलिङ हालेर सजिलै गौमुखी गुफा पुग्ने बाटो बनाएको रहेछ । जसले र जुन निकायले बनाएपनि एकदमै राम्रो काम गरेका रहेछन् ।  हामी लगभग ११.३० बजेको समयमा पहाडको टुप्पामा रहेको गौमुखी गुफाको बाहीरी पेरिफेरीमा पुग्यौँ जहाँ भित्रदेखि बाहिर मूल फुटेर पानीका झरना बगीरहेका थिए । गुफानजिकै नौवटा धारा बनाईएका थिए । 

हामीले लुगा फुकालेर नौवटै धााराबाट नुहाएर नजिकको मन्दिरमा गौमुखी दर्शन गर्दै गुफाभित्र पस्यौँ । गुफा अँध्यारो थियो । हामीले टर्च बोकेका रहेनछौ । चार जनाले मोवाईलको उज्यालो बाली गुफाभित्र पसेर जल सिचन गर्यौँ कताकताबाट पानी आउँथ्यो देखिन्थेन ।खुट्टटेक्ने ढुङ्गापुनी स्वच्छ सङ्लो पानी थियो जहाँ  हामीले जलसिचन समेत गरी गुफालाई ढोगेर बाहिर निस्क्यौँ । फोटो खिचेर खाना खान पुनः पालिका आईपुग्यौँ । 

खानापछि अध्यक्ष , उपाध्यक्ष र कानून अधिकृत अनिल रायमाझी भएर गौमुखिको मायाको चिनो, खादा र टिका लगाई अंगालोभरी बाँधी ससम्मान बिदाई गर्नुभयो ।  मनभरी उहाँहरुको माया मुटुभरी संङ्लो चित्र कुदेर, आँखाभरी गौमुखी र शेरोफेरोलाई सजाएर वाई गौमुखी भन्दै जिल्ला सरकारी वकील प्यूठान खलंगाको गन्तव्य तर्फ फर्कियौँ ।

 नरेन्द्र देवकोटा (प्रशान्त) २०८२।२।१२ खलंगा प्यूठान ।







  

२०८२ असार २८ १४:१९ बजे

प्रतिक्रिया