सर्लाहीका प्रहरी प्रमुख एसपी योगेन्द्रकुमार खड्कासँगकोे विवादपछि फरार भनिएका जनता समाजवादी पार्टीको मधेस प्रदेश अध्यक्ष अशोक यादवले आपत्तिजनक अभिव्यक्ति दिएका छन् । समाजिक सञ्जालमार्फत् जारी भिडियो सन्देशमा उनले ढिलो–चाँडो मधेस नेपालबाट अलग हुने दाबी गरेका छन् ।एसपी खड्कालाई ‘तँ’ भन्दै गालीगलौज गरेको अडियो सार्वजनिक भएपछि प्रहरीले जिल्ला अदालतबाट पक्राउ पुर्जी जारीसँगै यादवको खोजी भइरहेको छ । तर उनी भारतको विहारमा रहेको बताइन्छ ।
सार्वजनिक भिडियोमा पनि उनले आफू भारतीय राज्य विहारमा रहेको घुमाउरो तरिकाले जानकारी दिएका छन् । उतैबाट भनेका छन्, ‘हामीले धेरै पटक सोचेका थियौँ कि यो देशबाट मधेस अलग हुनुपर्छ, तर स्वाभिमानका लागि हामीले पनि यो देशको नागरिक हुनुमा गर्व गथ्र्यौँ,’ अगाडि भनेका छन्, ‘तर यो दमन र शोषणले आउने दिनमा ठूलो विद्रोह हुने सम्भावना बढाएको छ, मधेस आज नभए भोलि अलग हुनेछ । म रहूँ वा नरहूँ, आगामी सन्ततीको लागि नस्लवादी जुन चिन्तन मनन गर्ने र सोच राख्ने जुन मानिसहरू छन्, त्यसको अन्त्य हुनेछ ।’
मधेसलाई नेपालबाट अलग बनाउन बिहारले सहयोग गर्ने यादवको विश्वास छ । ‘हामीहरू जनताको लडाइँ लडिरहेका छौँ । भारतमा हाम्रो शरणस्थल छ, भारतको हामीलाई समर्थन मिल्नुपर्छ, मिलेको छ’, उनले भनेका छन्, ‘सीतामढीका एसपीसँग, बिहारका सिनियर पुलिस अधिकारी सबैलाई आग्रह गर्दछु कि अशोक यादवको परिवारमाथि कुनै प्रकारको समस्या हुने छैन, नेपालका एसपीको भनाइमा कुनै पनि कदम नउठाउनुहोस् ।’
प्रतिक्रिया