इरान—इजरायल युद्ध र अमेरिका

यो बेला विश्वयुद्धमा संलग्न प्रतिक्रियावादी शक्ति अमेरिकाको भण्डाफोर गरेर क्रान्तिको तयारीलाई गति प्रदान गर्नु क्रान्तिकारीहरुको एकमात्र दायित्व हो।

bimbonline क. वसन्त
२०८२ असार ११ १५:०० बजे

गत जेठ ३० गते इजरायलले इरानमाथि भीषण सैन्य आक्रमण गरेको छ । उक्त आक्रमणमा परी इरानका तीन जना सैनिक कमाण्डरहरु, एक जना रिभोलुसनरी गार्डका प्रमुख, दुई जना न्युक्लियर साइन्टिस्टहरु र केही राजनीतिज्ञहरु सहित १७ जना विशिष्ट व्यक्तिहरु मारिएका छन् । इरान यसको प्रतिकारमा उत्रिएपछि अहिले मध्यपूर्व भयानक युद्धको चपेटामा फसेको छ । दुवै तर्फ ठुलो मात्रामा हताहति र भौतिक क्षति भएका छन् । यसबाट मध्यपूर्वका देशहरु मात्र होइन पुरा विश्व नै तरङ्गित भएको छ । यसमाथि अमेरिकाले इरानका तीनओटा आणविक केन्द्रहरुमा बंकर बस्टर बम बर्षाएर क्षतविक्षत बनाएको छ । कतिपय राजनीतिक विश्लेषकहरुले यसलाई तेस्रो विश्वयुद्धको शङ्खघोष भनेका छन् भने कतिपयले यस युद्धले वर्तमान भूराजनीतिमा ठुलो परिवर्तन ल्याउने कुरा बताएका छन् । यो संक्षिप्त लेख यीनै विषयको सेरोफेरोमा केन्द्रित रहने छ ।

सबैभन्दा पहिला यी दुई देशको ऐतिहासिक पृष्ठभूमिबारे सामान्य जानकारी लिउँ । इजरायल ऐतिहासिक कालदेखिनै विकसित हुँदै आएको राष्ट्र होइन । यो दोस्रो विश्वयुद्धको अन्त्य भएपछि यहुदीहरुले प्यालेस्ताइनको केही भूभाग कब्जागरी बसोबास गरेको क्षेत्र हो । यहुदीहरुको एजेन्सीका प्रमुख डेभिड बेन गुरियोंले मई १४, १९४८ का दिन उक्त क्षेत्रलाई “इजरायली राज्य” भन्ने नाम प्रस्ताव गरे । उक्त प्रस्तावलाई त्यही दिन अमेरिकी राष्ट्रपति हेरी ट्र्युमनले स्वीकृति दिएपछि उक्त सानो इलाकाको नाम इजरायली राज्य हुन गएको हो र पछि यसलाई इजरायल भन्न थालियो । आफ्नो स्थापनाकाल देखि नै इजरायलले आजसम्म मध्यपूर्वमा अमेरिकी साम्राज्यवादकोे चेकपोस्टका रुपमा रही प्यालेस्तिनी भूभाग र अन्य छिमेकी देशहरुमाथि विस्तारवादी हैकम चलाउँदै आएको छ । यसरी इजरायल अमेरिकी साम्राज्यवादको संरक्षणमा बाँचेको र मध्यपूर्वमा अमेरिकी स्वार्थको पक्षमा उभिंदै आएको एउटा क्षेत्रीय चौकिदार हो । 

अर्कोतिर, ऐतिहासिक कालदेखि पर्सियाको नामले परिचित वर्तमान इरान मानव सभ्यताको उदय देखिनै सांस्कृतिक हिसाबले एउटा समृद्ध राष्ट्रका रुपमा रहिआएको छ । यहाँ मुश्लिमहरुको सिया समुदाय अत्यधिक बहुमतमा छन् । इरानमा १९७९ सम्म राजतन्त्रात्मक शासन प्रणाली थियो र अन्तिम राजा मोहम्मद रेजा पहलवी थिए । त्यतिबेला सम्म इरान र इजरायलका बीचको सम्बन्ध निकै राम्रो थियो । त्यसो हुनुमा दुवै शासकहरु अमेरिकी दलाल थिए । १९७९ मा इरानको इस्लामिक क्रान्तिमा राजतन्त्रको अन्त्य भएपछि त्यहा इस्लामिक गणतन्त्रको स्थापना भएको हो । 

इस्लामिक गणतन्त्र इरानको स्थापना भएपछि यो देश अमेरिका विरोधी रहँदै आएको छ । तर यो साम्राज्यवाद विरोधी प्रगतिशील शक्ति भने होइन । यो दलाल तथा नोकरशाही पुँजीवादको विकास भएको एउटा प्रतिक्रियावादी शक्ति हो । मध्यपूर्वमा आफ्नो एकलौटी हैकम विस्तार गर्ने काममा इजरायल बाधक रहेको र इजरायलको संरक्षण अमेरिकाले गरेको हुनाले मात्र इरान अमेरिका तथा इजरायलका विरुद्ध उभिदै आएको हो । 

इरान र अमेरिकाका बीचको द्वन्द्व मुख्यतः गत ९०को दशकदेखि इरानले आणविक अस्त्र निर्माणको कार्यक्रम अगाडि बढाएपछि चर्किंदै आएको छ । अमेरिकाले इरान आणविक अस्त्र सम्पन्न मुलुक बनेको देख्न चाहँदैन । यसले आफ्नो सुरक्षा माथि खतरा हुने देखाएर इरानको आणविक कार्यक्रमको विरोध गरेको छ । तर इरान आफ्नो मिसनप्रति प्रतिबद्ध छ र यसबाट पछिहट्न तयार छैन । यो स्थितिमा अमेरिका र इजरायल इरानलाई आणविक अस्त्र बनाउन नदिने र आवश्यक परे शासन सत्तामा परिवर्तन गरेर भएपनि उक्त कार्यक्रम रोक्ने रणनीतिमा रहेका छन् । यसरी इरानको शासन सत्ताको परिवर्तन उनीहरुको एउटा अस्त्र बनेको छ । कुनै पनि देश ठुला वा साना, विकसित वा अविकसित हुन सक्छन् तर ती सबैको सार्वभौमिकता समान हुन्छ । अमेरिका, बेलायत, जर्मनी, फ्रान्स जस्ता देशले आणविक अस्त्र बनाउन हुने इरानले बनाउन नहुने कुरा इरानको सार्वभौम अधिकारका विरुद्ध छ । यो साम्राज्यवादी शक्तिहरुको दादागिरी हो । 

अर्कोतिर इजरायल स्थापना भएपछि विश्वभरि छरिएर रहेका यहुदीहरु इजरायलमा बसोबास गर्न आउने र प्यालेस्तिनी जनतालाई विस्थापित गर्ने प्रक्रिया निरन्तर जारी छ । वर्तमान इजरायली प्रधानमन्त्री बेन्जमिन नेतन्याहुका बाबु स्वयम् पोल्याण्डबाट इजरायल आएका यहुदी हुन् । १९४८ को विभाजनमा प्यालेस्ताइन तर्फ परेका गाजा पट्टी, वेस्ट बैंक र जेरुसेलमको पूर्वीभाग १९६७ देखि इजरायलको कब्जामा रहेका छन् । अमेरिकाले प्यालेस्तिनी जनतालाई आफ्नो भूमिबाट बलपूर्वक हटाएर प्यालेस्ताइनको पुरै भूभाग इजरायलमा गाभ्ने योजनामा काम गरिरहेको छ । १९४८ मा इजरायल राज्यको स्थापना र पछि यहुदीहरुबाट त्यसको विस्तार दुवै अन्यायपूर्ण रहेका छन् । आफ्नो गुमेको भूमि फिर्ता गराउनका लागि प्यालेस्तिनी जनताले इजरायलका विरुद्ध लामो संघर्ष चलाउँदै आएका छन् र त्यो न्यायपूर्ण संघर्ष अहिले पनि जारी छ ।  

इरानको वर्तमान सरकारले इजरायल राज्यको कानूनी वैधतालाई स्वीकारेको छैन । सामान्यतः इरानको यो अडान तर्कपूर्ण देखिन्छ । तर, यहाँनेर बिर्सनै नहुने कुरा के हो भने इजरायल र इरानका बीचको अन्तर्विरोध इरान प्यालेस्तिनी जनताको न्यायपूर्ण सङ्घर्षको पक्षमा रहेको कारणले बनेको होइन, मध्यपूर्वमा आफ्नो प्रभाव विस्तार गर्न अमेरिका र इजरायल बाधक भएकोले हो । मध्यपूर्वको द्वन्द्व एउटा हैकमवादी शक्ति इरान र अर्को अमेरिकाको दलाल इजरायलका बीचको अन्तर्विरोधको परिणाम हो । 

यसरी एकातिर इजरायल तथा अमेरिका र अर्कोतिर इरान रहेर मध्यपूर्वमा एकले अर्कोको अस्तित्वलाई अस्वीकार गर्ने अन्तर्विरोध जुन बनेको छ त्यो शान्तिपूर्ण ढंगले समाधान हुने अन्तर्विरोध होइन । यो दुश्मनीपूर्ण अन्तर्विरोध हो र यसको समाधान केबल युद्ध हो । इरान र इजरायलका बीच हुँदै आएका बारम्बारका सैन्य टकरावहरुले यही तथ्यलाई पुष्टि गर्दछन् । यी टकरावलाई इजरायल र इरानका बीचको युद्धका रुपमा देखिएको वा देखाउन खोजिएको भए पनि सारमा यो अमेरिका र इरानका बीचको टकराव हो । अमेरिकाले जसरी पनि इरानलाई घुँडा टेकाएर मध्यपूर्वमा आफ्नो कठपुतली इजरायलको एकलौटी वर्चश्व स्थापित गर्न र उ मार्फत् त्यो क्षेत्रमा आफ्नो हैकम कायम गर्न चाहन्छ । अमेरिकी साम्राज्यवाद विश्वका उत्पीडित जनताको एक नम्बरको दुश्मन भएको र यो युद्धका कारण इजरायल र इरानका उत्पीडित जनताले अथाह मुल्य चुकाउनु पर्ने भएकोले यो अन्यायपूर्ण युद्ध थोपर्ने अमेरिका र इजरायलको विरोध गर्नु क्रान्तिकारीहरुको कर्तव्य हुन आएको हो । 

इजराययले गत जेठ ३० गते इरानमाथि आश्चर्यमा पारेर भीषण सैन्य आक्रमण ग¥यो । यस आक्रमणबाट इरानी राज्य सत्ताको नेतृत्व गर्नेे एउटा महत्वपूर्ण हिस्सा मारियो । यो एउटा सार्वभौम देशको स्वाधीनता, अखण्डता र सुरक्षा माथिको आक्रमण र बुर्जुवाहरुले नै बनाएको अन्तर्राष्ट्रिय कानूनको समेत गम्भीर उल्लङ्घन हो । युद्धको यस घटनाले साम्राज्यवादीहरु कति क्रुर, नृशंश र आपराधिक मानसिकताका हुन्छन् भन्ने देखाउँछ । क्रान्तिकारीहरुले यस प्रकारको युद्धको विरोध गर्दछन् र गर्नु पर्दछ । वर्तमान अमेरिका तथा इजरायल र इरानका बीचको युद्धको विरोध गर्नुको अर्थ इरानको प्रतिक्रियावादी सत्ताको समर्थन होइन, त्यसरी बुझियो भने त्यो सैद्धान्तिक गल्ती हुन्छ । 

जेठ ३१ गते इरानले इजरायलका सामरिक ठेगानाहरु माथि प्रत्याक्रमण गरेपछि यतिबेला मध्यपूर्वमा भीषण युद्ध चलिरहेको छ । दुवै तर्फ गरी पाँच सयको वरिपरि मानिसहरु मारिएका छन् र हजारौ मानिस घाइते भएका छन् । यस बीचमा हवाइ प्रतिरक्षामा अब्बल ठहरिएको इजरायलको आइरन डोमलाई इरानले क्षतविक्षत बनाएको छ, इजरायलका तेल अभिभ तथा हाइफा लगायतका प्रमुख शहरहरु खण्डहर बनेका छन् । अरवौ डलरको भौतिक सम्पत्ति क्षति भएको छ । सैन्य जानकारहरु इजरायलको सामरिक खजाना बाँकी १२ दिनका लागि मात्र पुग्ने कुरा बताउँदै आएका छन् । इरान तर्फ पनि जनधनको ठुलो क्षति नभएको होइन, तर उ आफ्नै बलबुतामा वर्षौसम्म युद्ध लड्न सक्ने खरखजाना लिएर बसेको छ । यसरी यो युद्धमा इरान इजरायलमाथि भारि पर्दै गएको प्रस्ट देखिन्छ ।

इरानले इजरायलमाथि प्रत्याक्रमण गरेर युद्ध चर्किएका बेला ट्रम्प जी ७ बैठकमा क्यानडामा थिए । उनी बैठकमा पुरा समय बसेनन्, भोलिपल्टै अमेरिका फर्किए । अमेरिका आएपछि उनले तीनओटा कुरा गरे । एक, अमेरिका युद्धमा सामेल हुन्छ कि हुँदैन भनी पत्रकारहरुले सोधेको प्रश्नको जवाफमा उनले अमेरिका युद्धमा सामेल हुन पनि सक्छ नहुन पनि सक्छ, त्यसबारे २ सातापछि मात्र निर्णय हुने बताए । दुई, उनले अन्तर्राष्ट्रिय आणविक उर्जा एजेन्सी  का महानिर्देशक राफेल ग्रोसीलाई तत्काल इरान आणविक अस्त्र बनाउने योजनामा छैन भन्न लगाए । ग्रोसीले फक्स न्यूजमा भनेका छन्, “हामीलाई थाह छ, इरानसँग अहिले पनि युद्धपोतहरुका लागि पर्याप्त सामग्री छ । तर, ..... यतिनै बेला हामीसँग इरानले आणविक हतियार निर्माण गर्ने योजना बनाएको छ भन्ने कुनै ठोस प्रमाण छैन ।” तीन, इरानले “आणविक हतियार बनाउँदैछ भनी अमेरिकाको खुफिया एजेन्सीले सरकारलाई दिएको सुचना” ट्रम्पले गलत प्रमाणित भएको छ भने । 

तर विडम्बना, उनी आफ्नो उपरोक्त दुई भनाइ र दुई साता समयको अडानमा टिक्न सकेनन् । उनले यी कुरा गरे गराएको दुई दिनभित्र इरानका तीनओटा आणविक केन्द्रहरु फोर्डो, नातान्ज र इस्फाहानमाथि बङ्कर बस्टर बम्ब प्रयोग गरेर आक्रमण गरे । अमेरिकाको खुफिया एजेन्सीले दिएको सुचना गलत हो र इरानको आणविक अश्त्र बनाउने योजना नै थिएन भने ती केन्द्रहरुमा आक्रमण किन गर्नु प¥यो ? उनले यसबारे केही बोलेका छैनन् । राष्ट्रपति जस्तो गरिमामय पदमा बसेको व्यक्तित्वले आज एउटा कुरा गरेर भोली अर्को काम जुन गरे त्यसले उनको त्यो भनाइ एउटा षडयन्त्र मात्र थियो भन्ने प्रस्ट भएको छ । 

आणविक केन्द्रहरुमा आक्रमण गरिसके पछि ह्वाइट हाउसमा उक्त कार्वाहीबारे ट्रम्पले भने, “हाम्रो उद्देश्य इरानको आणविक संवर्धन क्षमताको विनाश र विश्वको नम्बर एक राज्य आतंकवादको प्रायोजकले निम्त्याएको आणविक खतरालाई रोक्नु थियो ।” उनले थपे, “या त अब शान्ति हुनेछ या त इरानका लागि विगत आठ दिनमा हामीले देखेको भन्दा धेरै ठूलो त्रासदी हुनेछ ।” उनले फेरि थपे, “स्मरण रहोस् हाम्रा निशानाहरु धेरै बाँकी छन् ।” यो भनाइले राज्य आतङ्कवादको प्रायोजक इरान होइन स्वयम् अमेरिकी साम्राज्यवाद हो भन्ने स्पष्ट गर्दछ । 

यस आक्रमणपछि इरानका परराष्ट्र मामिला सम्बन्धी मन्त्री अब्बास अराघ्चीले भनेका छन्, “आज बिहान आइतबार भएका घटनाहरू अत्यन्तै घृणित छन् र यसका दीर्घकालीन परिणामहरू हुनेछन् । संयुक्त राष्ट्र संघका प्रत्येक सदस्यले यो अत्यन्तै खतरनाक, कानूनहीन र आपराधिक व्यवहारप्रति सतर्क हुनुपर्छ ।” उनले फेरि थपेका छन्, इरानले “आफ्नो सार्वभौमसत्ता, हित र जनताको रक्षा गर्न सबै विकल्पहरू सुरक्षित राखेको छ ।”

उक्त आक्रमण पछि एउटा टेलिभिजन अन्तर्वार्तामा इजरायली प्रधानमन्त्री नेतन्याहुले भने, “राष्ट्रपति ट्रम्पलाई बधाइ । संयुक्त राज्य अमेरिकाको अद्भूत र न्यायपूर्ण शक्तिका साथ इरानका आणविक केन्द्रहरुलाई निशाना बनाउने तपाइँको साहसिक निर्णयले इतिहास बदलिदिने छ ।” 

यस घटनाबारे संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले भने, “आज इरान विरुद्ध संयुक्त राज्य अमेरिकाले गरेको बल प्रयोगबाट म गम्भीर रूपमा चिन्तित छु । यो पहिले नै छेउमा पुगिसकेको क्षेत्रमा भएको खतरनाक वृद्धि हो र अन्तर्राष्ट्रिय शान्ति तथा सुरक्षाका लागि प्रत्यक्ष खतरा हो ।” उनले फेरि भने, यो द्वन्द्वमा नागरिक, क्षेत्र र विश्वका लागि विनाशकारी परिणामहरू सहित “छिटो नियन्त्रण बाहिर जान सक्ने बढ्दो जोखिम” रहेको छ । गुटेरेसले सदस्य राष्ट्रहरूलाई “तनाव कम गर्न” र “संयुक्त राष्ट्र संघको बडापत्र र अन्तर्राष्ट्रिय कानूनका अन्य नियमहरू अन्तर्गत आफ्ना दायित्वहरू पूरा गर्न” आह्वान गरेका छन् ।

यसै सन्दर्भमा अमेरिकी प्रतिनिधि सभाका शीर्ष डेमोक्रयाट हकिम जेफ्रीले भने, “राष्ट्रपति ट्रम्पले आफ्नो मनसायको बारेमा देशलाई भ्रमित गरे, सैन्य बल प्रयोगको लागि कङ्ग्रेसको अनुमति लिन असफल भए र मध्यपूर्वमा सम्भावित विनाशकारी युद्धमा अमेरिका फस्ने जोखिम उठाए ।” उनले थपे, “आफ्नो एकतर्फी सैन्य कारबाहीबाट हुने कुनै पनि प्रतिकूल परिणामहरूको पूर्ण जिम्मेवारी डोनाल्ड ट्रम्पले लिनुपर्छ ।”

आणविक हतियार नस्टगर्ने अन्तर्राष्ट्रिय अभियानले भनेको छ, “अमेरिकी गुप्तचर एजेन्सीहरूले इरानले आणविक हतियारको निर्माण गर्ने योजना बनाएको छैन भनेको स्थितिमा यो आक्रमण अर्थहीन र लापरवाहीपूर्ण काम हो । यसले आणविक हतियारको प्रसार रोक्ने काममा अन्तर्राष्ट्रिय प्रयासहरूलाई कमजोर बनाउन सक्छ ।”

रुस, चीन, उत्तर कोरिया, भेनेज्वेला, चिले लगायत थुप्रै देशहरुले इरानमाथि अमेरिकी आक्रमणको निन्दा र भत्र्सना गरेका छन् । इरानले जे माग्छ त्यो दिने रुसले घोषणा गरेको छ । आइएइएको सुरक्षा व्यवस्थामा रहेको इरानी आणविक केन्द्रमा अमेरिकाले गरेको आक्रमणको चीनले चर्को विरोध गरेको छ । त्यसैगरी, उत्तर कोरियाले इरानमाथि अमेरिकी सैन्य आक्रमणको कडा निन्दा गर्दछ र यसलाई संयुक्त राष्ट्र संघको बडापत्रको घोर उल्लङ्घन मान्दछ भनेको छ । शिया र सुन्नीलाई फुटाएर सधै फायदा लुटिरहेको अमेरिका यस पटक असफल हुने देखिन्छ । साउदी अरव, इराक, कतार, संयुक्त अरव इमिरेट्स लगायतका मध्यपूर्वका मुस्लिम देशहरु इरानको पक्षमा खुलेर लागि सकेका छन् र विश्वका ५७ ओटै मुस्लिम देशहरु इरानको पक्षमा लाग्ने राजनीतिक विश्लेषकहरुले बताएका छन् । 

इरानमाथि अमेरिकी आक्रमण पछि इरानले इजरायलमाथि मात्र होइन कतार, बहराइन र इराक समेतका अमेरिकी सैन्य अखडाहरुमा मिसाइल आक्रमण गरेर युद्धलाई अरु चर्काएको छ । यसै बीचमा डोनाल्ड ट्रम्पले इजरायल र इरान सिजफायर गर्न सहमत भएको भन्ने समाचार प्रेसित गरेका छन् । यसबारे इरानी परराष्ट्रमन्त्री अब्बास अराघचीको भनाइलाई ग्लोबल टाइम्सले “अहिलेसम्म, कुनै पनि युद्धविराम वा सैन्य कारबाही बन्द गर्ने बारेमा कुनै ’सहमति’ छैन ।” भनी उद्धृत गरेको छ । त्यसैगरी इरानी संसदको सभामुखका सल्लाहकार महदी मोहमदी यसको खण्डन गर्ने पहिलो इरानी अधिकारी भएको कुरा तेहरान टाइम्सले उद्धृत गरेको छ । उनले भनेका छन्, “अमेरिका र इजरायलले झुट बोलिरहेका छन् । इरानले आफ्नो सुरक्षा कम गरोस् र आक्रमण तेज गर्न सकियोस् भन्ने तिनीहरुले चाहना रहेको छ ।” जे होस, समय वित्दै जाँदा के हुन्छ भन्न सकिन्न, अहिलेसम्म इरानका प्रतिरक्षात्मक कार्वाहीहरु रोकिएका छैनन् र विश्व तेस्रो विश्वयुद्धको दिशामा अगाडि बढिरहेको छ । यसको एकमात्र जिम्मेवार अमेरिकी साम्राज्यवाद हो । 

यो लेख प्रकाशित हुनु पूर्व नै भिन्न परिस्थिति बनेन भने विश्व नरसंहारकारी तेस्रो विश्वयुद्ध तिर जाँदैछ भन्ने कुरा अहिले सम्मको यथार्थ हो । सम्मुख रहेको यो विश्वयुद्धको प्रमुख प्रायोजक शक्ति अमेरिकी साम्राज्यवाद र त्यसका नायक राष्ट्रपति डोनाल्ड ट्रम्प हुन् । यो बेला विश्वयुद्धमा संलग्न प्रतिक्रियावादी शक्ति अमेरिकाको भण्डाफोर गरेर क्रान्तिको तयारीलाई गति प्रदान गर्नु क्रान्तिकारीहरुको एकमात्र दायित्व हो । जति छिटो साम्राज्यवाद जनताको आंखाबाट नांगिन्छ त्यति नै छिटो सर्वहारा क्रान्ति अगाडि बढ्छ भन्ने कुरालाई आत्मसात गरी क्रान्तिको तयारीमा लागेर मात्र विश्वयुद्ध रोक्न सकिन्छ । यही नै अहिले क्रान्तिकारीहरुको दायित्व हो । 




२०८२ असार ११ १५:०० बजे

प्रतिक्रिया