इरानले इजरायलमा जवाफी आक्रमण गरेको छ । दुई देशले एक अर्कालाई निरन्तर आक्रमण गरिरहेका छन् । इजरायलले हिजो बिहानै इरानमाथि हवाई आक्रमण गरेपछि इरानले जवाफ फर्काएको छ ।तेल अभिभ र जेरुसलेममा विस्फोटका आवाजहरू सुनिएका छन् । इरानले यो अपरेशनलाई ‘ट्रू प्रमिस ३’ नाम दिएको छ । उसले ब्यालिस्टिक मिसाइल प्रयोग गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
इरानी आक्रमणबाट इजरायलमा भौतिक क्षति र मानिसहरू हताहत भएका सीएनएनले जनाएको छ । यससँगै तनाव पनि थप चर्किएको छ । इजरायल र इरान दुवैले पछिल्ला आक्रमणपछि आफूहरू पछि हट्ने अवस्थामा नरहेको जनाएका छन् ।
उनीहरूले युद्ध शुरू भएको भन्दै थप आक्रमण गर्ने सङ्केत देखाएका छन् । इजरायलले इरानको सैन्य संरचना, हतियार प्रणाली, एअर–डिफेन्स सिस्टम, आणविक भट्टी र वरिष्ठ अधिकारीमाथि एकै पटक आक्रमण गरेको थियो । इरानको राजधानी तेहरान आसपास इजरायलबाट आक्रमण भएको थियो ।
हिजो संयुक्त राष्ट्रसङ्घमा इरानका राजदूत अमिर सइद इराभनीले इजरायली आक्रमण र त्यसले इरानमा पुर्याएको क्षतिबारे ब्रिफिङसमेत गर्नुभएको थियो ।इजरायलको आक्रमणबाट इरानमा कम्तीमा ७८ जनाको ज्यान गएको उहाँको दाबी छ । ज्यान गुमाउनेमा इरानी सेनाका शीर्ष अधिकारीहरू पनि छन् ।
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले भीडीओ सन्देशमा थप आक्रमण बाँकी नै रहेको चेतावनी दिनुभएको छ ।त्यस्तै इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले देशभरका नागरिकलाई सुरक्षित ठाउँभन्दा धेरै टाढा नजान सचेत गराएको छ ।बीबीसीका अनुसार इरानबाट प्रहार गरिएका क्षेप्यास्त्र रोक्न सैन्य कारबाही चलिरहेको भन्दै सर्वसाधारणलाई सुरक्षित ठाउँमा बस्न भनिएको छ ।
इरानका प्रतिनिधिले अमेरिकालाई इजरायललाई हतियार दिएको आरोप लगाउँदै सुरक्षा परिषद्मा कारबाहीको समेत माग गरेका छन् ।इरानी सर्वोच्च नेता अली खामेनीले इजरायलको आक्रमणले ‘युद्धको शुरुआत’ गरेको बताउँदै ‘हिट एन्ड रन’ रणनीति अपनाएर सजिलै उम्कन नदिने चेतावनी दिनुभएको छ ।एजेन्सी
प्रतिक्रिया