इरानका सर्वोच्च नेता आयतोल्लाह अल खामेनीले इजराइली आक्रमणको जबाफ दिने बताएका छन्।शुक्रबार बिहान इजराइलले इरानमाथि ब्यालिस्टिक मिसाइल र ड्रोन हमला गरेपछि खामेनीले त्यसको जबाफ दिने बताएका हुन्।
उनले इरानले दिने जबाफ कडा र कठोर हुने चेतावनी दिएका छन्।यो अपराधका साथ यहूदी शासकले आफूलाई तीतो र पीडादायी भाग्यको लागि तयार पारेको छ र उसले यसको परिणाम भोग्ने निश्चित छ, खामेनीले भनेका छन्।
इरानमा आक्रमण गरेपछि इजराइलले देशभरि आपतकाल घोषणा गरेको छ।इजराइलले इरानको सम्भावित जबाफको पूर्वतयारीस्वरूप देशव्यापी आपतकाल घोषणा गरेको हो। विद्यालय बन्ददेखि अस्पतालमा समेत बहिरंगबाहेकका सेवा बन्द गर्न निर्देशन दिइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
मानिसहरूलाई अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन भनिएको छ भने भेला गर्न पनि रोक लगाइएको छ। साथै सेनालाई पनि तयार रहन भनिएको छ।इजराइली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले इजराइलमाथि सुरक्षा चुनौती देखिएका कारण हमला गरिएको भनेका छन्।
उनले इरानी आणविक भट्टी र हतियार कारखाना नष्ट नपारून्जेल आक्रमण जारी रहने पनि बताएका छन्।इरानमा आक्रमण गर्नुअघि प्रधानमन्त्री नेतन्याहूले आफ्नो मुख्य सहयोगी अमेरिकासँग परामर्श गरेका थिए।
अमेरिकालाई जानकारी गराएपछि इजराइलले इरानी आणविक भट्टी, हतियार कारखाना, आणविक हतियार उत्पादनमा खटिएका वैज्ञानिक र सैनिक उच्च अधिकारीहरूलाई लक्ष्य गरेर आक्रमण गरेको हो।
इजराइलको आक्रमणमा इरानको शक्तिशाली सैन्य संगठन इस्लामिक रिभोलुसनरी गार्ड कोर (आइआरजिसी)का प्रमुख मेजर जनरल हुसेन सलामीको मारिएका छन्। उनीसँगै सेनाका अरू तीन प्रमुख अधिकारी पनि मारिएको भनेर अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। हुसेनलाई सर्वोच्च नेता खामेनीले सन् २०१९ मा आइआरजिसीका कमान्डर इन् चिफ नियुक्त गरेका थिए।इजराइलले आइआरजिसीको मुख्यालयमै हवाई आक्रमण गरेको बताइएको छ। सोही आक्रमणमा उनको मृत्यु भएको बताइएको छ।
प्रतिक्रिया