भाकपा (माओवादी) का महासचिव बासवराजुको हत्याले उब्जाएको प्रश्न

जहिलेसम्म भारतीय समाजमा शोषण, दमन, अन्याय र विभेद रहनेछ त्यतिञ्जेलसम्म समाजमा कुनै न कुनै रुपमा अत्याचारी सत्ताका विरुद्धमा विद्रोह उठ्ने छ

bimbonline रामवहादुर वुढा
२०८२ ज्येष्ठ १६ १२:०१ बजे
रामवहादुर वुढा

गत मई २१ का दिन भाकपा (माओवादी) का महासचिव नम्बला केशवराव (बासवराजु) सहित २७ जनालाई कथित मुठभेडको नाममा भारतीय मोदी सरकारले छत्तिसगढमा सामूहिक हत्या गरेको छ । भाकपा (माओवादी) ले सरकारसित वार्ता गर्ने प्रस्ताव अगाडि सारिरहेको परिस्थितिमा सामूहिक हत्या गर्नुले भारतमा फासिवादी शासन चलिरहेको प्रष्ट हुन्छ । यो घटनाले भारतीय शासक वर्गको कथित लोकतन्त्र माथि आमरुपमा प्रश्न उठेको छ ।

भारतीय कम्युनिस्ट आन्दोलनमा माओवादी आन्दोलनको विकास कसरी भयो भन्ने बारेमा संक्षिप्त जानकारी राख्दा छत्तिसगढको मई २१ को उक्त हत्याकाण्डलाई बुझ्न सजिलो हुनेछ । जसरी नेपालमा नेकपाको स्थापना १९४९ सेप्टेम्बर १५ मा भएको हो वा १९४९ अप्रिल २२ मा भएको हो भन्नेबारेमा विवाद छ । त्यसरी नै भारतमा पनि भारतीय कम्युनिस्ट पार्टीको स्थापना १९२० मा रुसको तासखण्डमा भएको हो कि भारतकै पटनामा १९२५ मा भएको हो भन्ने विवाद रहँदै आएको छ । जे भए पनि १९४७ मा भारत र पाकिस्तान विभाजित भएपछि भारत र पाकिस्तानको १९४८ मा बेग्लाबेग्लै कम्युनिस्ट पार्टी बनेको घटनालाई छाडेर स्थापनाकालदेखि १९६४ सम्म भाकपा एउटै पार्टी थियो ।

विश्व कम्युनिस्ट आन्दोलनमा आएको रुसी धार र चिनियाँ धारको महाविवादको प्रभाव र १९६० को दशकको प्रारम्भमा भारत–चीन युद्धका कारणले भाकपामा विभाजन भएको थियो । भाकपाका नेता डाँगे लगायतले भारत–चीन युद्धमा पूरै भारतको पक्ष लिए । पि. सुन्दरैया लगायतले भारत–चीन युद्धमा चीनलाई मात्र दोष दिनुहुन्न, आलोचनात्मक दृष्टिकोण राख्नु पर्दछ भन्थे । १९६४ मा भाकपाबाट भाकपा (माक्र्सवादी) निर्माण भएको थियो । भाकपा (माक्र्सवादी) ले पनि किसान, मजदुरको पक्षमा काम गर्न नसकेको, संसदवादी बन्दै गएको भन्ने असहमति राख्दै पश्चिम बंगालमा किसान आन्दोलन, चिया वगानका मजदुरहरुको आन्दोलनको नेतृत्व गरेका चारु मजुम्दार, कानु सन्याल लगायतका भाकपा (माक्र्सवादी) भित्रकै नेताहरुले १९६९ अप्रिल २२ मा भाकपा(मा.ले) स्थापना गरे । त्यसरी भाकपाबाट भाकपा (माक्र्सवादी) र भाकपा (माक्र्सवादी) बाट भाकपा (मा.ले) को निर्माण भएको इतिहास छ । भाकपा (मा.ले)) ले चलाएको सशस्त्र किसान विद्रोहलाई भारतीय प्रतिक्रियावादी सरकारले निर्ममतापूर्वक दमन गर्यो ।

१९७२ मा भाकपा (मा.ले.) का महासचिव चारु मजुम्दारलाई कलकत्तामा हिरासतमै हत्या गरेपछि १९६७ देखि दार्जिलिङको नक्सलबारीबाट सुरु भएको नक्सलाइट आन्दोलनलाई दमन गर्न भारतीय सरकार सफल भयो । नक्सलाइट आन्दोलन विभिन्न पार्टीहरुमा विभाजित भयो ।

माओवादलाई पथप्रदर्शक सिद्धान्त मान्ने र जनयुद्धको बाटोबाट भारतमा नयाँ जनवाद स्थापना गर्ने उद्देश्य राखी कोण्डापल्ली सितारमैया महासचिव रहेको भाकपा पिपुल्स वार १९८० मा स्थापना भयो । कोण्डापल्ली सितारमैया र अर्का नेता गणपति बीचको विवादले १९९२ मा पिपुल्स वार ग्रुप विभाजित भयो । १९७५ मा भारतमा माओवादी कम्युनिस्ट सेन्टर (एमसीसी) स्थापना भएको थियो । सन् २००४ मा पिपुल्स वार र एमसीसीका बीचमा पार्टी एकता भई भाकपा ((माओवादी ) निर्माण भएको थियो । भाकपा (माओवादी) ले जनयुद्धको बाटोबाट सत्ता प्राप्त गर्ने उद्देश्य बोकेको छ । सन् १९१८ देखि भाकपा (माओवादी) का महासचिव वासवराजु थिए ।

मई २१ मा महासचिव वासवराजु सहित २७ जनाको हत्या भएपछि भारतको मोदी सरकारले ठूलो सफलता प्राप्त गरेको बताएको छ । सन् २०२६ सम्म माओवादी नक्सलाइटहरुलाई पूरै निर्मूल पार्ने भनेर वर्तमान मोदी सरकारका गृहमन्त्री अमित शाहले घोषणा गरेका छन् । के माओवादी÷नक्सलाइटहरुलाई हत्या गरेर मात्र समाजमा शान्ति स्थापना हुने छ र अमन चयन छाउने छ त ? माओवादीहरुको हत्या मात्र समस्याको समाधान हैन । जहिलेसम्म भारतीय समाजमा शोषण, दमन, अन्याय र विभेद रहनेछ त्यतिञ्जेलसम्म समाजमा कुनै न कुनै रुपमा अत्याचारी सत्ताका विरुद्धमा विद्रोह उठ्ने छ । भलै माओवादी जनयुद्ध कमजोर किन नहोस् । अर्को रुपमा विद्रोहको उठान हुनेछ । विगत ६०÷७० वर्षको भारतको इतिहासलाई हेरे पनि हामी त्यस निश्कर्षमा पुग्नेछौं । यदि समाजको असमानता र विभेदलाई हटाइँदैन भने एउटा विद्रोहलाई दमन गर्न शासकहरु सफल भए पनि शासकहरुका लागि अर्को प्रकारको विद्रोहको प्रतिक्षा मात्र हुने गरेको छ र हुँदै आएको छ र फेरि पनि अर्को विद्रोहको आगमन अनिवार्य छ । १९४६ देखि १९५१ सम्म आन्ध्र प्रदेशमा ठूलो किसान विद्रोह भयो । जो तेलंगना विद्रोहको नामबाट प्रख्यात छ । भारतीय शासकहरु त्यस विद्रोहलाई दमन गरे । तेलंगना विद्रोह दमन गरिएकाले नयाँ विद्रोह रोकिएन । १९६७ देखि १९७२ पश्चिम बंगालको नक्सलवारीबाट सुरु भएको नक्सलाइट आन्दोलन अर्थात् सशस्त्र किसान विद्रोह भारतको धेरै भागमा फैलियो । १९७२ मा नक्सलाइट आन्दोलन दमन गर्न सफल भएपनि पुनः १९८० को दशकदेखि फेरि माओवादी सशस्त्र संघर्ष सुरु भयो । भारतीय शासकहरुकै शब्दमा भन्दा माओवादी आन्दोलन भारतको आन्तरिक सुरक्षाको निम्ति ठूलो खतरा रहँदै आएको छ । माओवादी विद्रोहलाई दमन गरिए पनि नयाँ रुपमा जनताको विद्रोह अगाडि आउने छ । किनभने विद्रोहको आधारभूमि स्वयं पुँजीवादी शासकहरुले नै तयार पारेका हुन्छन् । भारतमा जुन बहुराष्ट्रिय पुँजीको शोषणलाई तेज पार्दै लगिएको छ, त्यसले आम रुपमा असन्तोष र विद्रोहको वातावरण पनि निर्माण गर्दै गएको छ ।

भारतीय सरकार पक्षबाट माओवादी÷नक्सलाइट दमनको नाममा कैयौं सर्वसाधारण जनता, आदिवासी, महिला, केटाकेटीहरु माथि चरम दमन गर्ने, जनताको भिडभाडमा अन्धाधुन्ध गोली प्रहार गर्ने, गिरफ्तार गरेर निर्दोष जनतालाई अंगभंग हुने गरी कुटपिट गर्ने र हत्या समेत गर्ने, सुरक्षाकर्मीहरुद्वारा आदिवासी वस्ती, दलित वस्तीमा पसेर सामूहिक बलात्कार गर्ने र हत्यासम्म गर्ने लगायतका कैयौं अपराधहरु भएका छन् । सरकारी पक्षको त्यसप्रकारको पाशविक दमनका कारण पनि कतिपय उत्पीडित समुदायका मानिसहरु माओवादी आन्दोलनमा लाग्न बाध्य छन् । माओवादीहरुले छापामार शैलीमा पटकपटक सरकारका सुरक्षाकर्मीहरुमाथि आक्रमण गर्दै आएका छन् ।

२००९मा भारतीय सरकारको रेकर्डमा १० राज्यका करिव १८० जिल्लामा नक्सलाइटहरु सक्रिय छन् भन्ने थियो । २०१० अगष्टमा कर्णाटकलाई सरकारले नक्सलाइट प्रभावित राज्यको सूचीबाट हटाएको थियो । २०११ जुलाईमा ९ राज्यको ८३ जिल्लामा मात्र नक्सलाइट प्रभाव रहेको भनियो । त्यसमा पनि २०१४ मा नरेन्द्र मोदीको सरकारले नक्सल र माओवादी आन्दोलनको प्रभाव २५ प्रतिशत घटेको दावी गरेको थियो ।  अहिले मोदी सरकारले नक्सल मुक्त भारत बनाउने बताइरहेको छ । माओवादी शक्ति कमजोर हुँदै गइरहेको यथार्थतालाई भारतीय माओवादीहरुले बुझ्न आवश्यक छ । शत्रुहरुले पूरै घेराबन्दी गरेको वा शक्ति कमजोर हुुँदै गएको अवस्थामा आफ्नो शक्तिको रक्षा र विकासका लागि संघर्षको नयाँ नयाँ तरिका अपनाउन जरुरी हुन्छ । चीनमा कम्युनिष्ट शक्तिलाई सखापै पार्नेस्थिति आएपछि माओले देशभरि फैलिन र जनतामा स्थापित हुनका लागि “लङ्ग मार्च” संचालन गरेका थिए । दशकौंदेखि भारतीय माओवादीहरु जंगलमा लुक्ने, आदिवासी र उत्पीडित समुदायको सहयोगमा छापामार शैलीमा प्रहरीमाथि आक्रमण गर्दै आएका छन् । लामो समयसम्म संघर्षको एकै खालको शैलीलाई कायम राख्दा अनुत्पादक हुन सक्छ । संघर्ष स्वरुप बदल्नु पर्दछ । संघर्षको स्वरुप बदल्नु पर्दछ भन्नुको अर्थ संसदवादमा भासिनुपर्छ भनेको हैन । भारतको बदलिंदो सामाजिक परिस्थितिलाई ध्यान दिएर जनताका बीचमा घुममिल भई संघर्ष अगाडि बढाउने शैली खोज्नु पर्दछ ।

नक्सलाइट आन्दोलनबाटै विकास भएका भाकपा (माले) लिवरेशन, भाकपा (मा.ले) जनशक्ति लगायतका पार्टीहरुले संसदीय चुनावलाई उपयोग गरेका छन् । भारतमा भाकपा र भाकपा (माक्र्सवादी) ले पहिलेदेखि नै संसद उपयोग गर्दै आएका हुन् । संसदवादले कम्युनिस्टहरुलाई कसरी समाप्त गर्दै लैजान्छ भन्ने उदाहरण भाकपा र भाकपा माक्र्सवादी हुन् । कम्युनिस्ट आन्दोलनमा कम्युनिस्टले संसदलाई उपयोग हैन प्रायः संसदले कम्युनिस्टहरुलाई उपयोग गरिदिएको पाइन्छ । त्यसबाट कसरी बच्ने र सही कम्युनिस्ट आन्दोलनको रक्षा गर्ने प्रश्न महत्वपूर्ण विषय बनेको छ ।

भारतमा वामपन्थी पार्टीहरुले छत्तिसगढको हत्या प्रकरणको विरोध गर्दै हत्या समस्याको समाधान हैन भनेका छन् । भारतका स्वतन्त्र बुद्धिजीवीहरुले पनि हत्या रोक्न माग गरेका छन् । संसारभरिका क्रान्तिकारी पार्टीहरुले हत्या काण्डको विरोध गरेका छन् । नेपालमा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाले भर्खरै सम्पन्न पोलिटव्यूरोको बैठकबाट भर्खरै छत्तिसगढमा सहादत प्राप्त भाकपाका महासचिव बासवराजु सहित सबै सहिदहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ ।



२०८२ ज्येष्ठ १६ १२:०१ बजे

प्रतिक्रिया