पाकिस्तानमा ४ सय ५० जना चढेको रेल अपहरण भएको छ । बलुच लिबरेशन आर्मी (बीएलए)ले गोलाबारी गरी रेल अपहरण गरेको हो । बलुचिस्तान सरकारका प्रवक्ता शाहिद रिन्दले घटनाको पुष्टि गरेको बीबीसीले जनाएको छ ।
क्वेटाबाट पेशावर जाँदै गरेको जाफर एक्सप्रेसमा भारी गोलीबारी भएको रिपोर्ट आएको उनले बताए । आक्रमणमा रेल चालक घाइते भएका बताइएको छ । क्वेटाका रेलवे सुरक्षा अधिकारी जिया काकरले त्यस क्षेत्रमा नेटवर्क समस्या भएकाले रेल चालक दलका कुनै पनि सदस्यसँग सम्पर्क हुन नसकेको बताएका छन् ।
उनले आक्रमण भएको रेलमा ४ सयभन्दा बढी यात्रु रहेको बताए । एक सरकारी प्रवक्ताले स्थानीय अस्पतालमा आपतकालीन अवस्था घोषणा गरिएको र एम्बुलेन्सहरू घटनास्थलमा पठाइएको बताएका छन् ।क्वेटास्थित रेलवे नियन्त्रण केन्द्रका वरिष्ठ अधिकारी मुहम्मद शरीफले हतियारधारी व्यक्तिहरूले आक्रमण गरेपछि रेल रोकिएको बताए । उनले भने, अहिलेसम्म प्राप्त जानकारीअनुसार आक्रमणमा रेल चालक घाइते भएका छन् ।
बीएलएले आफूहरूमाथि सैन्य कारबाही गरेमा रेलमा सवार सबै यात्रुको हत्या गर्ने चेतावनी पनि दिएको प्राप्त समाचारमा उल्लेख छ ।
प्रतिक्रिया