टपर्टुया शव्दको नेपाली शव्दकोषमा ज्ञान नभएपनि पाण्डित्य देखाउन खोज्नु, धूर्त, उटपट्याङ भनी परिभाषित गरेको पाइन्छ । अर्थात टपर्टुया भन्नाले कुनै पनि घटना वस्तु वा विषयको तथ्यबाट सत्यमा पुग्ने भन्दा पनि तथ्य र सत्य सँग कुनै साइनो – सम्बन्ध नराखी आफुलाई लागेको वा मनोगतरुपमा कुनै घटना वा वस्तु विषयलाई बुझ्ने र सोहिअनुरुपको धारणा बनाउने प्रवृति भएको मानिन्छ ।
अहिले विज्ञान र प्रविधिको विकास र पहुँचले प्रेत्यक व्यक्तिको हातहातमा मोवाइल, ल्यापटप रहेका छन् । छिनछिनमा विश्वभरी घटेका नयाँ घटना, विचार,धारणा वा भनाइ, सुचना बारेमा फेसबुक, म्यासेण्जर, ह्वाटसफ, इमेल, टिभि, एफएम, अनलाईन पत्रपत्रिका र युटव वा विभिन्न सञ्चार माध्यमबाट पलभरमा संसारभरी फैलिन्छ । त्यसले कुनै न कुनै व्यक्तिलाई केही न केही प्रभाव पारी रहेको हुन्छ । तर हामीहरु यी घटना, विचार, धारणा, भनाइ वा सूचनाको तथ्यपरक हो होइन ? कति सत्य हो वा भ्रामक हो ? भन्ने बारेमा हामी कुनै विचार नै नगरी विश्वासमा परी पत्याएर लाईक, कमेण्ट, सेयर वा सस्क्राइव गर्ने गरेका हुन्छौँ ।
आफ्नो विचार, धारणा, भनाइ भएको अडियो, भिडियो, फोटो भाइरल होस् वा लाखौ लाख सेयर भ्यु होस् भन्नाका लागि वा के कसो गर्दा मार्केटमा आफ्नो फोटो, भनाइ विचार बढी खपत हुन सक्छ भन्नका लागि अवस्था परिस्थिति र समय हेरी तथ्यमा आधारित सत्य कुरा नभए पनि सामाजिक सञ्जालमा अपलोड गर्ने, संसारभरी पुर्याउने प्रयत्न गर्ने गरेको पाइन्छ । त्यसका लागि मानवीय आचरण नैतिकता समाजिक मूल्य मान्यता तथा आफ्नो संस्कार संस्कृति परिवारको विश्वास, आस्था विपरीत अनैतिक कार्य ( नाङ्गो वा सेक्सियल) हाउभाउ वा कार्य सहितको अडियो वा भिडियो अरुलाई अपमान, होच्याउने, बेइज्जति गर्ने वा मिथ्या आरोपका विषयवस्तुहरु पनि अपलोड गर्ने, देश, जनता, समाजमा जातीय, क्षेत्रीय, धार्मिक बिग्रह हिंसा, घृणा फैलिने कैयौ म्याटरहरु पनि अपलोड गरेर संसारभरी पुर्याउने गरेका छन् ।
दर्शन, सिद्धान्त, विचार विना राजनीतिमा आउने व्यक्ति भाइरल हुनका लागि विभिन्न उट्पट्याङ अशोभनीय आफ्नो जिम्मा र दायित्व नै नभए नरहेका गतिविधि (काम) गर्ने प्रत्येक दिन वा समयमा केही न केही आफु जोडिएर गर्ने र सामाजिक सञ्जालमा अपलोड गरी सामाजिक सञ्जाल संचालनकर्ता, मिडियाकर्मीहरुलाई रुपियाँ दिएर पनि भाइरल बनाउने प्रवृति व्यापक बढेर गएको छ । यसले समाजलाई प्रगतिशील परिवर्तन भन्दा पनि भ्रम सिर्जना गरेर भ्रमको गोलचक्करमा घुमाइ राख्ने गरेको छ । सामाजिक अभियान्ताका नाममा सार्वजनिक सरोकारका विषयहरु जनजीविका राष्ट्रियता स्वाधीनताका भन्दा नितान्त व्यक्तिगत विषय लोग्ने स्वास्नीका झगडा व्यक्तिका आनीवानी, स्वभाव, आचरण सम्बन्धी कुरा वा अश्लिल छाडा गीत, हाउभाउ, शव्द वा स्वरले बढी भन्दा बढी स्रोताहरुको ध्यान आफुतर्फ आकर्षण गर्ने गरेको पाइन्छ ।
भाइरल भएका विभिन्न टपर्टुया पात्रहरु मध्येका प्यूठानका भेलुबाजे नामले परिचित मिनबहादुर बुढामगरदेखि रवि लामिछानेसम्मका पात्रहरु देखिएका छन् । गत संसदीय चुनावको समयमा भेलुबाजेलाई विहान एमालेको प्रचार, दिउँसो कांग्रेसको प्रचार र साँझ माओवादी केन्द्रको चुनावी प्रचारमा उनलाई पैसा र रक्सी खुवाएर चुनावी प्रचार गराउने गरेका थिए । भाइरल भएका व्यक्तिले चुनावी प्रचार गरिदिएमा त्यसको प्रभाव व्यापक हुन्छ भन्ने मान्यता यी पार्टीहरुले राख्दै आएका छन् । आफ्नो दर्शन, सिद्धान्त, विचार ,कार्यक्रम आफैले प्रचार गर्दा जनताले विश्वास नगर्ने भएकोले पार्टीको चुनावी प्रचारका लागि भेलुबाजेको मद्दत लिन यी पार्टीहरु बाध्य मात्र नभइ एमाले, कांग्रेस, माओवादी केन्द्रको राजनीतिक स्तर पनि भेलुबाजे कै तहमा पुगेको देखिन्छ ।
समाजको असर पार्टीभित्र पनि पर्दै आएको छ । पार्टीका विभिन्न कार्यक्रम, गतिविधि, जिम्मेवारी बाडफाँड, कार्यकर्ता, कमिटीको मूल्याङकनमा कतै हामीले पनि टपर्टुया तरिका अवलम्वन गरेका त छैनौ ? किन क्रान्तिकारी आन्दोलनलाई हामीले प्रभावकारी विश्वसनीय तथा जनताको विश्वास जितेर विशाल संगठन निर्माण गर्न के समस्या वा दृष्टिकोणले बाधा पारेको छ ? अध्ययन, छलफल, बहस गर्नुपर्ने समय आएको छ ।
टपर्टुयाँकाबारे माओले भनेका छन्– टपर्टुया हुनुको अर्थ हो समग्र रुपमा कुनै अन्तर्विरोधका विशेषताहरुमा ध्यान नदिनु र त्यसका प्रत्येक विशेषताहरुमा पनि ध्यान नदिनु, त्यसको अर्थ हो कुनै वस्तुको गहनरुपले अन्वेषण गर्नुपर्ने र त्यसको अन्तर्विरोधका विशेषताहरुको विस्तृतरुपमा अध्ययन गर्नुपर्ने खाँचोलाई अस्वीकार गर्नु बरु त्यसलाई ठाढाबाट सरसरति मात्र हेर्नु र माटोमोटीहरुमा झलक पाएपछि तुरुन्त जवाफ दिनु, झगडा छिन्नु, काम सञ्चालन गर्नु, सैनिक कार्वाहीको निर्देशन दिनु । यस्तो दृष्टिकोणले काममा झन्झट मात्र नभइ गम्भीर गल्ती हुन्छ । यो एकांगी र टपर्टुय्या तरिका हो एकांगी टपर्टुयाँ हुनुको अर्थ मनोगतवादी हुनु पनि हो । (माओ त्से तङका चुनिएका रचना, अन्तविरोधबारे पृष्ठ २५९) माओको यो भनाइ विचारणीय तथा सान्दर्भिक नै छ । हामीले माओको यो भनाई लाई आत्मासाथ गरी आ–आफ्नो जीवन व्यवहारमा लागु गरेमा केही हदसम्म भए पनि सही तरिकाले कुनै पनि घटना, पार्टी गतिविधि, कार्यक्रम, जिम्मेवारी बाँडफाँड वा कमिटी वा व्यक्तिको मूल्याङ्कन वैज्ञानिक तरिकाले गर्न सकिन्छ कि जसको परिणाम सशक्त जुझारु विशाल क्रान्तिकारी पार्टी निर्माण गरी क्रान्तिलाई सफल पार्न सकियोस् ।
टपर्टुया प्रवृतिले समाजलाई विखण्डित, विभाजित, असहिष्णु मात्र होइन, कुनै पनि मूल्य, मान्यता एवं विचारविहीन बनाएर भ्रमको गोलचक्करमा घुमाइ रहेको छ । यस्तो विचारविहीन गोलचक्करमा परेको समाजलाई विचार उद्देश्य लक्ष्य सहितको दिशामा लिएर जानका लागि हामी आफु पनि टपर्टुया प्रवृतिबाट मुक्त भइ माओको दृष्टिकोणलाई आत्मासात गर्ने र समाजलाई पनि सोही दिशामा अगाडि लिन सकेमा अवश्य पनि क्रान्ति सम्भव छ, हुन्छ ,गर्न सकिन्छ भन्ने आशा र विश्वासका साथ अगाडि बढ्नु आजको अपरिहार्य आवश्यकता हो ।
प्रतिक्रिया