कविता कोर्द‌ैन भन्छु तर .............

bimbonline बिम्ब अनलाइन
२०८१ फागुन १३ १५:१७ बजे
नरेन्द्र देवकोटा प्रशान्त

कविता कोर्दैन भन्छु तर

एकान्तमा बसेर सम्झिन्छु 

अतितका दिन्

घोत्लिन्छु एकछिन् 

ती दिन सम्झेर,

छोरा एक्लै के सोच्दै छौ 

भनेर सोध्ने ती प्यारा बाबा

छोरा भनन मसँग सुटुक्क भन

भनेर सोध्ने ममताकी खानी आमा

ती दुबैको आजभोली अभाव छ

अहँ म सँग आजभोली 

यसरी प्यार गरी सोध्ने 

कसैलाई कहिँ भेटाएकै छैन ।


सर मैले होमवर्क गरिसकेँ,

अनि चरा, प्लेन र पाइलटको 

चित्र पनि बनाईँसकेँ

सर मैले नदी र न्यायमूर्तिको 

चित्र पनि बनाईँसकेँ भनेर सुनाउँदा

स्यावास भनेर सरले धाप मार्नु हुन्थ्यो

सबैथोक पाएझैँ म 

खुसिले गद् गद्  हुन्थेँ ।


तर आज यसरी प्यार गर्नेको खडेरी छ

सरले झैँ मैले गरेको 

सानो कामको खुसिमा

मेरो थोरै उन्नति र प्रगतिमा

मन, मुटु र मष्तिस्क देखि

स्वस्फूर्त स्यावास भन्ने व्यक्ति

कहिँ कसैलाई भेटाएकै छैन ।

बालापनमासँगै माटो धुलोमा खेलेका

स्कुल कलेजमा सँगसँगै पढेका

साथीहरूसँग मनका कुरा साँट्ने गर्थेँ

चाहे केटा साथी या केटी साथी हुन्

तिनी सबैले म छुनि, चिन्ता नगर भन्थे

म आशा, हौसला र बिश्वासले 

बिना प्लेनमा उडेर खुसिले 

आकाशनै भेटाएको अनुभूति गर्थेँ 

सगरमाथाको शिखरमा पुगेझैँ उन्माद हुन्थेँ,

तर 

ती सबै साथी आज नियाल्दै जाँदा

बरु एकआपसमा हिज‍ो जस्तै नमिली

फरक फरक बिचारले भिड्दै गरेको देख्छु

अनेक कुरामा एक अर्कालाई भुत्ल्याउँदै 

खुइल्याउँदै गाली गर्दै गरेको सुन्छु ।

ती मैले बनाएका नदिका चित्र पनि

आजभ‍ोली दुई किनार बनेर

मिली बसेका मानिसका मन फाटेझैँ

कहिले नमिल्ने गरी स्वार्थले 

दुई किनार बनेर फाटेको देख्दा

अचम्मित र ताजुव हुन्छु म

साँच्चिकै एकोहोरो घोत्लिरहेको हुन्छु ।

आफैले बनाएको न्यायमूर्तिको चित्र तर्फ

टुलुटुलु एकोहोरो हेर्दै बसिरहेको हुन्छु

मान्छेहरू साना कुरामा बाझिरहेका हुन्छन्

तारिख लिदै बसेको पक्ष जसरी

आफ्नो मुद्वा के होला भनेर कुरेको 

एक अज्ञात पक्ष जसरी आफू आफू

मिलेर आफ्ना बिवाद नसल्टाई

वकीलको अफिस अफिस 

धाएको धायेइ गर्दा अमिलो मन हुन्छ 

दिनभरी अदालतमा कुरी बसेको देख्दा

किन किन मन बाउँडिएर आउँछ 

समय र प‌ैसाको कति धेरै 

बचत हुन्थ्यो ह‍ोला ?

अझै उसलाई ठीक पार्ने प्रमाण मसँग छ 

उसको हैसियत म देखाई दिन्छु भन्छन्

कहिले जीवनभर खोरमा राख्ने फूर्ति चल्छ

कहिले भएभरको सम्पत्ति खोस्ने कुरा हुन्छ 

यिँ सबभन्दा राम्रो हुन्थ्यो मिलेर बसेको भए,

तर पनि नसल्ट्याई बस्दा लाग्छ मलाई 

को व्यक्ति होला यो मुलुकको साझा 

समस्या सल्ट्याईदिने कुशल न्यायमूर्ति ?

(प्रशान्त)२०८१।११।०८



२०८१ फागुन १३ १५:१७ बजे

प्रतिक्रिया