बैतडी । बैतडीको झुलाघाट सडकखण्ड चौडा बनाउन थालिएको छ । मध्यपहाडी लोकमार्गको अन्तिम विन्दुका रूपमा रहेको झुलाघाट सडक साँघुरो भएर दुर्घटना बढ्न थालेपछि सडकलाई चौडा पार्ने काम थालिएको हो । नेपाल–भारत सीमा क्षेत्रसमेत रहेको दशरथ चन्द नगरपालिका-८ को झुलाघाटमा पटक पटक दुर्घटना हुन थालेपछि २५० मिटर सडकखण्ड चौडा पार्ने कार्य भइरहेको सडक डिभिजन कार्यालय पाटन, बैतडीका सूचना अधिकारी लिलाधर भट्टले जानकारी दिए ।
झुलाघाट नाका भारतसँग जोडिएको पुरानो नाका भएकाले यो नाकाबाट बैतडीलगायत सुदूरपश्चिम र कर्णालीका सर्वसाधारण नेपाल -भारत आवतजावत गर्ने गरेका छन् । भारतबाट मजदुरी गरेर फर्कने बेला गत भदौमा यही सडकबाट चिप्लेर बैतडीको पुर्चौंडीका एक मजुदुरको महाकाली नदीमा खसेर मृत्यु भएको थियो । केही बर्ष अगाडि यही सडकबाट बोलेरो जिप महाकालीमा खसेको थियो । सीमासँग जोडिएको सडक साँघुरो हुँदा बेला-बेला दुर्घटना हुन थालेपछि सडकलाई स्तरोन्नती गर्ने कार्य भइरहेको सूचना अधिकारी भट्टले बताए ।
झुलाघाटको यातायात बिसौनीदेखि पिपल चौतारासम्म २५० मिटर सडकलाई ७ मिटर चौडा पार्ने काम भइरहेको छ । जय माँ भगवती निर्माण सेवाले ६५ लाखको लागतमा ठेक्का प्रक्रियाद्वारा सडक चौडा पार्ने कार्य गरिरहेको सडक डिभिजन कार्यालय पाटन,बैतडीका प्रमुख लक्ष्मणदत्त जोशीले बताए । झुलाघाटमा सडक चौडा भएमा सवारी साधन सञ्चालनमा सहज हुनुका साथै आवतजावत गर्न र सवारी साधन सञ्चालनमा समेत सहज हुने सवारी चालक दानबहादुर क्षेत्रीले बताए ।
प्रतिक्रिया