चोलेन्द्रमाथि सम्पत्ति शुद्धीकरणमा अनुसन्धान, निकट व्यक्तिहरूको घरमा पनि छापा

bimbonline बिम्ब अनलाइन
२०८३ असोज २१ १६:३३ बजे

काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान अघि बढेको छ । अनुसन्धानकै क्रममा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र प्रहरीको टोलीले जबराको महाराजगञ्जस्थित निवाससहित उनीसँग निकट सम्बन्ध रहेको भनिएका केही व्यक्तिको घरमा समेत छापा मारेको छ ।

अनुसन्धानमा जबरासँग नियमित सम्पर्कमा रहेका व्यक्तिहरूको आर्थिक कारोबार तथा उनीहरूसँगको सम्बन्धका विषयमा अनुसन्धान सुरु गरिएको हो । 

विभागको टोलीले जबराका परिवारका केही सदस्यसहित नवीन बस्नेत, दीपक तिमल्सिना र नारायण दाहाललगायतका व्यक्तिका निवासमा पुगेर आवश्यक कागजात तथा प्रमाण खोजिरहेको हो । 

जबरासँग सम्पर्कमा रहेका केही कानुन व्यवसायी तथा अन्य व्यक्तिमाथि समेत निगरानी बढाइएको छ । अनुसन्धानका क्रममा टोलीले सम्बन्धित व्यक्तिको मोबाइल सम्पर्क तथा आर्थिक कारोबारसँग जोडिएका विवरणसमेत अध्ययन गरिरहेको विभागले जनाएको छ । 

यसअघि जबरा र जेलमा रहेका व्यवसायी दीपक भट्टसँग सम्बन्ध रहेको देखिएको भन्दै इनम सापकोटालाई पक्राउ गरिएको थियो । सापकोटाको मोबाइलमा भेटिएका सम्पर्क तथा अन्य विवरणका आधारमा जबरासँग जोडिएको आर्थिक गतिविधिबारे अनुसन्धान अघि बढाइएको हो । 

यही अनुसन्धानसँग जोडेर सशस्त्र प्रहरीका एआईजी वंशी राज दाहाललाई समेत निलम्बन गरिएको छ । अनुसन्धानको दायरा बढ्दै जाँदा थप व्यक्ति तथा कारोबारसम्बन्धी विवरणमा छानबिनमा तानिने देखिएको छ । 

यसअघि सरकारले जबरालाई मध्यराति उनको निवासबाट नियन्त्रणमा लिएर हिरासतमा लगेको थियो । यद्यपि, सरकारले उनलाई पक्राउ गरिएको नभई सुरक्षाका लागि नियन्त्रणमा लिइएको दाबी गरेको थियो ।

जबरासँग सम्बन्धित सम्पत्ति तथा आर्थिक कारोबारमाथि अनुसन्धान अघि बढिरहेका बेला उनका निकट मानिएका व्यक्तिहरूको घरमा समेत छापा परेपछि अनुसन्धान थप व्यापक बनेको देखिएको छ ।

२०८३ असोज २१ १६:३३ बजे

प्रतिक्रिया