राम्चेवन’ पर्यटकीय गन्तव्य बन्दै

bimbonline बिम्ब अनलाइन
२०८१ माघ १६ १९:३१ बजे

पाल्पा ।राम्चे सामुदायिक वन पाल्पाको रामपुर नगरपालिका–५ मा रहेको राम्चे सामुदायिक वनहो।  यहिले वनले नयाँ स्वरूप धारण गरेर एउटा पर्यटकीय केन्द्रको रूपमा विकसित बनेको छ । अहिले यहाँको वनले पर्यटकलाई आकर्षित बनाएको छ ।

रामपुरको केन्द्र भागमा अवस्थित रहेकाले हराभरा, पर्यटक लोभ्याउने वनको दृश्यले मनलाई आनन्दमय बनाइरहेको हुन्छ । पर्यटनको गहना बनेको राम्चेवन अहिले उत्कृष्ट पर्यटकीय गन्तव्यस्थल बनेको देख्न पाउँदा खुसी छन्, ७४ वर्षीय नगिलाल पौडेल । उजाड नाङ्गो डाँडोलाई स्थानीयवासीले संरक्षणमा जोड दिएकाले वनको शीतलता, स्वच्छ हावापानी उपभोग गर्न, पर्यटकीय विकासको रूपमा उपभोग गर्न पाइँदैनथ्यो, एउटा पर्यटक घुम्ने मात्र भई यहाँ प्राकृतिक वस्तुको अध्ययन अवलोकन गर्ने, प्रकृतिको संरक्षण गर्ने थलो बनेको पौडेल बताउँछन् । 

‘अवलोकन गर्न लायकको नमुना बनेको छ, आफ्नै जीवनकालमा नाङ्गो डाँडोको रूपमा देखेको वन अहिले यति धेरै परिवर्तन देख्न पाउँदा म एउटा भाग्यमानी उपभोक्ता हुँ भन्ने आफैँलाई गर्व महसुस भएको छ’, उनले भने, ‘२०३९ सालमा उजाडिएको नाङ्गो डाँडो मात्रै थियो, रुख बिरुवा लगाएर यसलाई हराभरा बनाएर भविष्यमा एउटा नमुना वन बनाउन सकिन्छ भनेर स्थानीय बासिन्दा लागेपछि अहिले आफ्नै जीवनकालमा परिवर्तन देख्दा गरे के नहुने रहेछ र ?’, उनले भने ।

करिब एक सय दुई हेक्टर क्षेत्रफलमध्ये पाँच हेक्टर क्षेत्रफल पर्या–पर्यटन क्षेत्र छुट्टाएर पर्यटकीय पूर्वाधार विकासका कार्यहरू गरिरहेको वन उपभोक्ता समूहका अध्यक्ष दयाराम गैरेले बताए । जिल्ला डिभिजन वन कार्यालयको सहयोगमा दृश्यावलोकन (भ्युटावर) स्तम्भ, वनभोज गर्ने स्थान, शौचालय, रुखघर, झुला, पानीको फोहोरा, रामसीता र हनुमानको मूर्ति, प्रतीक्षालय, खानेपानीको सुविधा, पक्की पैदलमार्ग, फूलबारी तयार पारिएको अध्यक्ष गैरेले बताए । 

करिब तीन सय ५० जना अट्ने क्षमताको सभाहल रहेको छ । यहाँ विभिन्न सङ्घसंस्थाको सभा, समारोह, गोष्ठीजस्ता कार्यक्रम हुने गरेको छ । उनका अनुसार पर्यटकीय क्षेत्रमा दिनमा एक सय बढी अवलोकन गर्न आउने गर्छन् । शनिबार र बिदाको दिन धेरै भीड हुने गर्दछ । हाल भ्युटावर क्षेत्र प्रवेश र पर्या–पर्यटन क्षेत्र रेखदेखका लागि वन समूहबाट हेरालु राखिएको छ । ‘रामपुरको बजार नजिकै भएकाले यस क्षेत्रमा पछिल्लो समय धेरै टाढाबाट घुमघाम तथा वनभोज गर्न आउने क्रम बाक्लिदै गएको छ, तल बाक्लो वस्ती भएकाले दिउँसो र साँझको समय वनको शीतलता खोज्न आउनुुहुन्छ’, अध्यक्ष गैरेले भने ।

वनभित्र साल, चिलाउने, साज, साज, जामुनो, अमला, सर्पगन्ध, हर्रोबर्रोजस्ता प्रमुख प्रजाति छन् । यहाँ मृग, कालिज, कुखुरा, बाघजस्ता वन्यजन्तु छन् । प्रत्येक उपभोक्ताबाट वनको हेरचाह, रेखदेख भइरहेको छ । वन समूहमा हाल तीन सय २१ घरधुरी संख्या रहेको छ । सरकारले पर्यावरण र पर्यटन प्रवद्र्धनका लागि ‘एक सामुदायिक वन एक उद्यान’ कार्यक्रम अगाडि सारेकाले पनि सोही अनुरुप यस राम्चे सामुदायिक वनले धमाधम पर्यटकीय क्षेत्र विकासका काममा जोड दिएको छ । 

जङ्गली जनावरको डर, त्रास, आक्रमण सहेर आफूले दैनिक सेवा गरेर हुकाईएको वनमा हिजोआज वनभोज, घुमघामका लागि पर्यटक भित्रिदा रमाइलो अनुभूति गर्नुहुन्छ, ८० वर्षीय चन्द्रकला नेपाली । जीवनको धेरै समय उनले वनको रेखदेखको जिम्मेवारी लिएर बिताउनुभयो । साना बिरुवा अहिले बढेर ठूला भएको देख्दा आफूले जन्माएको सन्तान हुर्काए सरह नै वनप्रति माया बसेको उनले सुनाउनुभयो । ‘बिहान ४ बजे उठेर वनको रेखदेख गर्न जान्थँे, जङ्गली जनावरको डर हुन्थ्यो । चितुवा, बाँदरलगायतका जनावरको आक्रमणबाट बचेर घर फर्केका दिन धेरै छन्, दैनिक सबै वन हेरेर घर फर्कदा साँझ रात पथ्र्यो, निकै दुःख गरेर हुर्काएको वन अहिले यति धेरै परिवर्तन र ठूलो वन बनेको देख्दा खुशी लागेको छ’ उनले भने । रासस


२०८१ माघ १६ १९:३१ बजे

प्रतिक्रिया