थारू समुदायमा माघी पर्वको रौनक

bimbonline बिम्ब अनलाइन
२०८१ माघ १ ०८:५० बजे

धनगढी।  आज माघेसङ्क्रान्ति पर्व । बालबालिकादेखि वृद्धवृद्धाले यस पर्वलाई उल्लासमय तरिकाले मनाइरहेका छन् । विशेष गरी थारू गाउँबस्तीमा यतिबेला माघीको रौनक बाक्लिएको छ । माघ लहैली सुरिक सिकार खैली रे हाँ, सखीये हो माघक् पिली गुरी गुरी जाँर।।।

थारू गाउँबस्ती यतिबेला यस्तै गीतले गुञ्जायमान बनेको छ । विभिन्न ठाउँमा मेला लागेको छ । यो माघ (माघी) पर्वको रौनक हो । कैलालीसहित थारू समुदायका मानिसले हर्षोल्लासपूर्वक माघी पर्व मनाइरहेका छन् । मघौटा नाच, ढमार, ढुमरु गीतमा रमाउँदै यो समुमदायका मानिसले आफ्नो सबैभन्दा ठुलो माघ पर्व मनाइरहेका हुन् । 

गाउँघरमा माघको हर्षोल्लास छाएको धनगढी उपमहानगरपालिकास्तरीय नगर भलमनसा समितिका अध्यक्ष रोहितकुमार चौधरीले बताउनुभयो । थारू समुदायका व्यक्तिका अनुसार पुस अन्तिम दिनदेखि माघ २ गतेसम्म माघी पर्व धुमधामपूर्वक मनाउने चलन रहेको छ । माघको पहिलो दिन बिहानै जिता मार्ने गरिन्छ । हरेकको घरमा सुँगुरको मासुसहित मिठा परिकार पाक्ने गर्दछ । यस दिन ढमार, ढुमरु गीत र मघौटा नाचमा रमाउँदै मिठा मिठा परिकार खाने चलन रहेको धनगढी उपमहानगरपालिका–५, जाइँगाउँका भलमनसा कुलवीर चौधरीले बताउनुभयो । उहाँका अनुसार माघी पर्वको पहिलो दिन थारू संवत्को अन्तिम दिन हुने गरेकाले यस दिन वर्षभरिको दुःखपीडा बिर्सेर रमाउने गरिन्छ । “गाउँ गाउँ जिता मारेर घरपरिवार, इष्टमित्रबिच खुसियाली साटासाट गर्दै माघी पर्वको रमाइलो गरिँदै छ,” भलमनसा चौधरीले भन्नुभयो ।  

माघ १ गते थारू मङ्गलबारदेखि थारू संवत् २६४८ सुरु भएको छ । आफ्नो नयाँ वर्षको दिन यो समुदायका मानिस बिहानै नदी, तलाउ, खोलामा नुहाएर आफूभन्दा ठुलालाई ढोगसलाम गर्ने र सानालाई आशीर्वाद दिने गर्छन् । यस दिन रिस राग, आपसी वैमनस्य, झैझगडा सबै बिर्सेर एकआपसमा आत्मीयता दर्शाउनुका साथै शुभकामना आदानप्रदान गर्ने चलन छ ।

मासु, ढिक्री, तरुललगायतको परिकार खाने र आफन्तलाई खुवाउने गरिन्छ । यस दिन एकअर्कालाई सेवा ढोग गरेमा रिस राग, आपसी वैमनस्यको अन्त्य हुने विश्वास थारू समुदायमा रहेको छ । माघ २ गते अर्थात् माघी पर्वको अन्तिम दिन खोज्नीबोज्नी हो । यस दिन अघिल्लो आर्थिक वर्षको समीक्षा गर्दै नयाँ वर्षका लागि योजना बनाउने गरिन्छ । यही दिन गाउँको नेतृत्व गर्ने व्यक्ति चयन गर्ने चलन पनि छ । माघी पर्वको अन्तिम दिन नै आफ्ना विवाहित छोरीचेलीलाई उपहारका रूपमा चामल दिने गरिन्छ, जसलाई निसराउ भनिन्छ । गोरखापत्र अनलाइन


   


२०८१ माघ १ ०८:५० बजे

प्रतिक्रिया