काठमाडौं । दुई छिमेकी देश चीन र भारतमा ह्युमन मेटान्युमोभाइरस (एचएमपीभी) संक्रमणका कारण श्वासप्रश्वाससम्बन्धी रोग देखा परेपछि नेपाल पनि यसको मारमा पर्ने हो कि भन्ने आशंका बढेको छ ।
केही दिनयता उत्तरी चीनमा सरुवा प्रकृतिको एचएमपीभी संक्रमणका कारण अस्पतालमा भीड बढेको, सरकारले अनुगमन तीव्र पारेको र मानिशहरूमा चिन्ता बढेको समाचार अन्तरराष्ट्रिय सञ्चारमाध्यममा आएका छन् । चीनको वुहानमा कोभिड–१९ देखिएको ५ वर्षपश्चात् श्वासप्रश्वाससम्बन्धी अर्को सरुवा रोग देखापरेपछि यसले संसारलाई नै चिन्तित बनाएको छ । यो भाइरस सन् २००१ मै नेदरल्यान्डमा पत्ता लागे पनि अहिले व्यापक रूपमा फैलन थालेको समाचार आएको छ । कोभिड–१९ ले ठूलो संख्यामा मानिसको ज्यान लिनुका साथै विश्व अर्थतन्त्रलाई नै तहसनहस पारेका कारण नयाँ रोगप्रति संसारभरि चासो र चिन्ता बढेको हो । भारतमा पनि तीन जनामा यो रोग लागेको भारत सरकारले पुष्टि गरेपछि खुला सीमा रहेको नेपालमा चिन्ता बढाएको छ ।
दुई छिमेकी देशमा संक्रमण देखिइसकेकाले नेपालमा पनि चाँडै फैलन सक्ने सम्भावना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अधिकारीहरू बताउँछन् । तर, नेपाल छिर्न नदिन वा यसको फैलावट रोक्न तत्काल कुनै निश्चित योजना ल्याइनसकेको उनीहरूको भनाइ छ । मन्त्रालयका अनुसार हालसम्म यसको संक्रमण नेपालमा पुष्टि भइसकेको छैन ।
‘चीन र भारतमा संक्रमण देखिइसकेकाले नेपालमा पनि चाँडै नै संक्रमण फैलिन सक्ने सम्भावना छ,’ मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकी भन्छन्, ‘उत्तरी नाकाबाट नेपालमा हुने व्यापार व्यवसायमा संलग्न व्यवसायीहरू अहिलेको संक्रमणको उच्च जोखिममा छन् ।’ उनका अनुसार चीन र भारतबाट आएका संक्रमित जोसुकैले यो भाइरस सार्न सक्छ । भारतसँगको खुला सिमानाका कारण भारतबाट संक्रमण भित्रिने जोखिम अझ उच्च रहेको उनको भनाइ छ ।
यद्यपि यो भाइरस बिल्कुल नयाँ नभई पुरानै भएका कारण धेरै नै आत्तिहाल्नुपर्ने अवस्था नभएको उनले बताए । त्यसकारण सरकारले सावधानी अपनाए पनि छुट्टै तयारी केही गरेको छैन,’ बुढाथोकीले भने शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका डा. शेरबहादुर पुनका अनुसार एचएमपीभीले २ वर्षमुनिका बालबालिका र ६५ वर्षभन्दा माथिका वृद्धवृद्धालाई सबैभन्दा बढी असर गर्छ ।
‘नेपालमा सन् २०१४ मा अमेरिकी र नेपाली डाक्टरहरूको एक टोलीले गरेको अध्ययनले समेत त्यसबेला रुघाखोकी लागेर जाँच गर्न अस्पताल आएका करीब ५ प्रतिशत शिशुमा यो भाइरसको संक्रमण देखिएको थियो । अहिले यसका लागि छुट्टै जाँच गर्ने व्यवस्था सरकारले गरेको छैन,’ उनले भने ।
उनका अनुसार चीन र भारतमा फैलिएको भाइरस पुरानै हो भने त्यो त्यत्ति धेरै जोखिमपूर्ण छैन । ‘तर, म्युटेसन (जिनमा परिवर्तन) भएर संक्रमण फैलिएको हो भने त्यसले ठूलो स्वास्थ्य जोखिम निम्त्याउन सक्छ । त्यसका लागि नेपाल पनि सचेत भएर बस्नुपर्ने अवस्था छ,’ पुनले भने ।
संक्रमण व्यापक भएमा आर्थिक जोखिम पनि उत्तिकै निम्तिन सक्ने अर्थविद्हरू बताउँछन् । भारतमा तीन जनालाई यो भाइरस संक्रमण भएको समाचार आएसँगै सोमवार शेयरबजार निकै ओरोला लाग्यो । सोमवार बम्बै स्टक एक्सचेन्जको सूचक सेन्सेक्स १ हजार २५८ बिन्दुले र नेशनल स्टक एक्सचेन्ज फिप्टी (निफ्टी) ३८८ बिन्दुले घटेको छ । भारतीय सञ्चारमाध्यमका अनुसार नयाँ एचएमपीभीबारे चिन्ताका कारण शेयर विक्री गर्ने क्रम बढेकाले बजार ओरालो लागेको हो ।
कोरोना महामारीमा आर्थिक गतिविधि लगभग ठप्प हुँदा नेपाललगायत धेरै देशको अर्थतन्त्र संकुचित भएको थियो । कोरोना शुरू भएको आर्थिक वर्ष २०७६र७७ मा नेपालको अर्थतन्त्र उपभोक्ता मूल्यमा २ दशमलव ३७ प्रतिशतले खुम्चिएको थियो । कोरोना महामारीपछि देशको अर्थतन्त्र अझै पूर्ण रूपमा माथि उठ्न सकेको छैन । कोरोना महामारी नियन्त्रण र आर्थिक पुनरुत्थानका लागि सरकारले अर्बौं रुपैयाँ खर्चनु पर्यो । त्यसका लागि ऋण पनि अत्यधिक लिनुपर्यो ।
त्यसैले अहिले देखिएको भाइरसले महामारीका रूप लिएमा अर्थतन्त्रमा ठूलो जोखिम हुने अर्थविद् केशव आचार्य बताउँछन् । यसले नेपालका अस्पताल, उद्योगधन्दालगायत लगानीका विभिन्न क्षेत्रमा असर गर्न सक्ने उनले बताए ।‘खासगरी अस्पतालहरूमा भीडभाड बढ्न सक्ने हुँदा राज्यको ठूलो स्रोत त्यसतर्फ खर्च हुन्छ । उद्योगधन्दा बन्द हुँदा ठूलो जनसंख्या बेराजगार हुन सक्छ । लगानीकर्ताले व्यवसायका नयाँ क्षेत्रमा लगानी गर्न सक्दैनन् र लगानी गरिएका क्षेत्रहरू पनि बन्द हुन्छन् । फलस्वरूप कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मै असर गर्न सक्ने हुन्छ,’ उनले आर्थिक अभियानसँग भने ।
के हो एचएमपी भाइरस ?
ह्युमन मेटान्युमोभाइरस (एचएमपीभी) एउटा सरुवा रोगको भाइरस हो । डा. पुनका अनुसार एचएमपीभीको संक्रमणले मुख्यतया श्वासप्रश्वास प्रणालीलाई असर गर्छ । विशेष गरी २ वर्षमुनिका बालबालिका र ६५ वर्षभन्दा माथिका वृद्धवृद्धा, कमजोर रोग प्रतिरोधात्मक क्षमता र दीर्घरोग लागेका जुनसुकै उमेरसमूहका मानिसलाई यसले असर गर्न सक्छ ।
भाइरसको संक्रमण भएमा ज्वरो, खोकी, घाँटी दुख्ने, घरघराहट हुने, सास फेर्न गाह्रो हुनेजस्ता समस्या देखा पर्छन् । यसबाट बच्न फोहोर वस्तु छोएपछि वा घरबाहिर गएर आएमा साबुन पानीले हात धुने, मास्क लगाउने र सामाजिक दूरी कायम गर्नेजस्ता सावधानी अपनाउनुपर्छ ।
प्रतिक्रिया