कैलालीमा स्थायी बन्ध्याकरण गर्नेमा ९१.४० प्रतिशत महिला रहेका छन् । स्वास्थ्य कार्यालय कैलालीको आयोजना र सुनौलो परिवार नेपालको सहकार्यमा ११ वटा पालिकामा भएको स्थायी बन्ध्याकरण घुम्तीमा सेवा लिनेको सङ्ख्या हेर्दा ९१.४० प्रतिशत महिला र ८.६० प्रतिशत मात्रै पुरुष रहेको पाइएको छ ।
टीकापुर नगरपालिका–७ स्थित सत्ती सहरी केन्द्रमा भएको स्थायी बन्ध्याकरण घुम्ती शिविरमा १७ जना महिलाले सेवा लिएका छन् । भजनीमा २१ जना, कैलारीमा २६ जना, लम्कीको पिपरकोटीमा १८ जना, दरखमा १० जना महिलाले सेवा लिएका छन् ।
चौमाला प्राथमिक स्वास्थ्य केन्द्रमा ४४ महिला र एक पुरुष, धनगढीमा ३० महिला र तीन पुरुष, मालाखेती अस्पतालमा १८ महिला र एक पुरुष, दुगौलीमा १३ महिला र एक पुरुष, चुरेमा पाँच महिला र १० पुरुष, फलेबिसौनामा दुई महिला र तीन पुरुषले स्थायी बन्ध्याकरण सेवा लिएका छन् । पहाडी पालिका चुरेमा मात्रै १० जना पुरुषले सेवा लिएका छन् । स्थायी बन्ध्याकरण गर्दा पुरुषलाई सजिलो हुने भए पनि बढी जसो महिलाले स्थायी बन्ध्याकरण गराएका हुन् ।
जिल्लाभरिमा २०२ जना महिलाले यो सेवा लिँदा १९ जना पुरुषले मात्रै सेवा लिएका छन् । स्वास्थ्य संस्थामा स्थायी बन्ध्याकरण सेवा बाह्रै महिना पाइने भएकाले निरन्तर पनि भइरहन्छ, स्वास्थ्य कार्यालय कैलालीका परिवार नियोजन अधिकृत ओलटनारायण चापागाईंले भन्नुभयो, “अस्थायी र लामो अवधिका परिवार नियोजनका साधन प्रयोग गरिरहेका ग्रामीण क्षेत्रका दम्पतीलाई सहयोग पुगोस् भनी स्थायी बन्ध्याकरण शिविर चलाएका हौँ, सेवा लिनेमा महिलाको सङ्ख्या धेरै छ ।”
पुरुष बाहिर जाने, गह्रुँगो काम गर्नु पर्छ भन्ने मान्यता र श्रीमान्लाई अप्ठ्यारो हुनुभन्दा मै गर्छु भन्ने महिलाको पनि मान्यता छ । टीकापुर नगरपालिकाका सिनियर अहेव शकुन्तला रोकाया पुरुषले स्थायी बन्ध्याकरण गर्दा आफूलाई खसीसँग तुलना गर्ने गरेको बताउनुहुन्छ ।
प्रतिक्रिया