लघुकथा: बिरालोले ...........

bimbonline नरेन्द्र देवकोटा प्रशान्त
२०८१ पुष ३ ०८:३९ बजे
नरेन्द्र देवकोटा प्रशान्त

गोकुल निकै ब्यस्त थिए आजबिहानै देखि । आजकै दिनमा उनले अफिसको तर्फबाट सम्मन्न गरिसक्नु पर्ने महत्त्वपूर्ण निर्णय र अन्य कामहरु पनि गरिसक्नु पर्ने थियो । अदालतको बहस पैरवि देखि लिएर अभियोजन, प्रतिवेदन सम्म पनि । अफिसको प्रशासनिक काम पनि उनि आफैले भ्याउनु पर्थ्यो । उनले आज गर्नुपर्ने काम सबै सफलताका साथ सम्पन्न गरिसक्ने कुरामा बिश्वास पनि लिइरहेका थिए ।

उनले समयमै पिडितको तर्फबाट बहस पैरवि गरेर अफिस पुग्न लागि सकेका थिए । कार तिव्र गतिमै कुदिरहेको थिय‍ो । ठिक यसैबेला गोकुलले कारको अगाडी पश्चिमबाट पूर्वतर्फ बाटो काट्दै गएको बिरालोलाई नजिकैबाट देखे ।  बिरालोले बाटो काटेर गएको चालक गुरुले पनि देखिरहेका थिए ।  बिरालोले बाटो काटेर गएको सडकको पूर्व पश्चिम किनारामा रहेका मानिसहरुले पनि देखिरहेका थिए । पश्चिम किनारामा एकजना युवती थिइन, उनले पनि बिरालोले बाटो काटेर गएको यो दृश्य देखिरहेकी थिइन् । गोकुलले आफ्नो चालक गुरूलाई झ्याप्पै गाडी रोक्न लगाए । गुडीरहेको गाडी एक्कासि रोकिन पुगेपछि सडकमा भएका मान्छेहरुमा सन्नाटा छाइरहेको थियो ।

कार सडकमा केही बेरसम्म रोकिरह्यो । त्योबेला सम्म कोही पनि उत्तरबाट दक्षिण तर्फ र दक्षिणबाट उत्तरतर्फ जाने मानिस हिँडेका थिएनन् नत कुनै सवारी साधन र पशुवस्तु पनि । गाडी यसरी रोकिएको मनसाय सडकको पश्चिम किनारामा रहेकि तिनै युवतीले बुझेर पश्चिम किनाराबाट सडकको बिचमा आइ बिरालोले बाटो काटेको दोष मेटाउँदै उत्तरबाट दक्षिणतर्फ हिँडिदिएपछि चालकले गाडी अगाडि बढाई आफ्नो अफिसतिर गएका थिए । गाडीभित्रैबाट गोकुलले ती युवतीलाई एकदमै ठिक गर्यौ भनेर संकेत पनि गरिरहेका थिए ।

गोकुलका निम्ति यो दृश्यले उनको मानसपटललाई लखेटिरहेको थियो । उनि अफिस पुगेर आजै महत्त्वपूर्ण देशभरिको चासोको बिषयमा निर्णय गरि पठाईसक्नु पर्ने थियो सम्बन्धित निकायमा । यसैले उनी अरु काममा नलागी निर्णय टाइप गर्न आफ्नो स्टाफलाई लगाई आफुले पनि सघाईरहेका थिए । एतिञ्जेल दिउसोको एक बजिसकेको थियो । निर्णय हातले नलेखी कम्युटरबाट टाइप गर्दै इडिट गर्दै लेख्नु पर्ने थियो यसैले पनि समय लागिरहेको थियो । लगभग निर्णयको अन्तिम निश्कर्षमा पुगिसकेका थिए गोकुल ।

ठीक त्यसैबेला उनको मोबाइलमा टिनिनिनि घण्टी बज्यो । कसैले सोध्यो । निर्णय के भयो ?  निर्णय पठाउनु भयो कि भएन ? निर्णय फरक पर्यो भने स्थिति भयावह हुन सक्छ ? यो फोनको खवरले गोकुल झस्के ।  यो निर्णय सबैको लागि चासो र सरोकारको बिषय थियो । गोकलले राम्रो परिणाम नै निस्कोस भनेर एउटा निर्णय लिन लागिरहेका थिए ।

अब यो फोनले गर्दा निर्णय फरक गर्ने सोचमा पुगेर फरक ढंगले निर्णय कम्प्युटरमा टाइप गर्न लागे गोकुल । यो फरक निर्णय दोहोर्याएर लेख्नुपर्दा केही ढिला हुन पुगेको थियो । उनले केही छिनमै निर्णय सकेर सहिछाप गरि सम्वन्धित निकायमा पठाइदिए । निर्णय उनको अफिसबाट समयमै तयार गरि पठाएपनि अर्को निकायमा पुगुञ्जेल अरुहरूले ढिला भएको आभाष सम्म गरिरहेका थिए । तर कसैको लागि तत्काल त्यो निर्णय बेफाइदा जस्तो लागेपनि आम मानिसका लागि निर्णले असर पुर्याउने थिएन । 

यो निर्णय भने राष्ट्रिय स्तरको थियो । राष्ट्रिय मुद्वा त बन्न सक्थ्यो सक्थ्यो, कहिलेकाहीँ यो निर्णय नबदलेर पठाएको भए अन्तरास्ट्रिय रुप पनि लिन सक्थ्यो । निर्णय समाचारको मसला त बनिसकेको थियो तर उनले निर्णय समयमै नफेरेको भए स्थिति साँच्चिकै भयावह रुपमा विस्फोट हुने रहेछ । उनको साथमा कोही पनि नहुने रहेछ । निर्णयपछि केही मानिसले गोकुलप्रति गुनासो गरे । गुनासो गरे पनि गोकुलले निर्णय फेरेकै ठिक भएको महसुस गर्दै बिहान बिरालोले बाटो काटेको र त्यो दोष मेटाईदिने तिनी युवतीलाई भने मनमनै धन्यवाद दिइरहेका थिए ।

(प्रशान्त) २०८१\८\२३  प्यूठान ।


२०८१ पुष ३ ०८:३९ बजे

प्रतिक्रिया