प्यूठान जिल्ला स्थित झिम्रुक गाउँपालिका अन्तर्गत ओखरकोट वडा पर्दछ । यहि ओखरकोटको वडाको बिचमा ओखरकोटको अग्लो थुम्कामाथि बादीकोटओखरकोट खड्ग मन्दिर पर्दछ । बादीकोट वडादेखि उत्तरतर्फ पर्छ यो मन्दिर ।यहि मन्दिरको दर्शन गर्ने सोच बनाई आज बिहानै मल्लरानी गाउँ पालिका स्थित वडा नंवर- ४ मा रहेको खलंगा बजारबाट म र खरिदार कृत बि.क. मोटरसाइकलमा चढेर यात्रा गर्ने तय गर्यौँ । शनिवारको दिन सरकारी गाडी लिन मिल्ने थिएन । अरु दिनमा फुर्सद पनि नमिल्ने भएपछि शनिवारको दिन रोजेका थियौँ ।
कृतजिलाई ओखरकोट यात्रा गर्ने ईच्छा भएपनि कहिले घुम्न जाने भन्ने कुनै सोच थिएन । मैले भने झिम्रुक गाउँपालिकामा रहेको ओखरकोटको थुम्का र सोमा रहेको बादीकोट, ओखरकोट खड्ग मन्दिरको धार्मिक, ऐतिहासिक साँस्कृतिक एवं पर्यटकिय शुन्दरताबारे अरुको मुखबाट सुनेको थिँए । यसैले यस मन्दिरको दर्शन गर्न जाने कौतुहलता जागीरहेको थियो । झनै झिम्रुकको पूर्वमा रहेको गुल्मी जिल्लालाई क्षितिजबाटै हेर्न पाइने लोभले कुतकुत्याइरहेको थियो ।
अझै ओखरकोट र बादिकोट खड्ग मन्दिर रहेको टाकुरबाट नौबहिनी र प्यूठान नगरपालिका, दक्षिणतर्फका मल्लरानी गाउँ पालिका र नजिकैको अर्घाखाँची जिल्ला एकसाथ हेर्न पाइने उन्मादले मेरो भुँइमा खुट्टा थिएन । ओखरकोट पुग्नु पहिले बाटैमा पर्ने ओखरकोटको केन्द्र या झिम्रुक गाउँपालिकाको सरकार रहेको ठाउँ बाटैमा पर्ने रहेछ । एकगोली दुई निसाना भने झैँ सबैठाउँ एकैदिन एकै समय हेर्न पाउनु बास्तमा अहोभाग्य थियो ।
बिदाको दिन कहाँ जाने के गर्ने भन्ने खुलदुली लागिरहेको बेला ओखरकोटको याद आयो । यो कुरा आफ्नै अफिसका कर्मचारी कृतजिलाई सुनाएँ । उहाँ यो प्रश्तावले निकै खुसि हुनु भयो । अनि हामीले शाकाहारी खाना खाएर झिम्रुक गाउँपालिका लगायत ओखरकोटको यात्रा करिव पौने बाह्र बजेतिर शुरु गर्यौ ।
अलि ढिला भैसकेको थियो । यसैले हामीले छोटो बाटो रोज्यौँ । यसको लागि खलंगाबाट झिम्रुक खोलाको पक्की पुल पार गरि बिजुवार निस्केर बागदुला हुँदै बागदुलाबाट खलंगा जाने पक्की पुल पारे गरेर कच्ची सडक हुँदै यात्रा शुरु गर्यौ । जब झिम्रुक खोलाको उत्तर तर्फको बाटो हुुँदै ओखरकोट जान जाँदै थियौँ, सडक फराकिलो पार्न जेसिभिले भिरपाखो खनेर ढुंगा माटो खसाली बाटो अवरूद्व बनाएको रहेछ ।
दिउँसो २.०० बजेसम्म पनि बाटो नखुल्ने भएपछि झिम्रुक खोलाको पारीपट्टी दक्षिण किनार हुँदै हामीले दुइचोटी बाइक डोर्याउँदै खोला र जंघार तर्यौँ। फेरि उत्तरतिरबाट प्यूठान न. पा. को मरन्ठाना, चिसावाङ हुँदै अगाडि बढ्यौँ । हिउँदको समयमा कहिँ कच्चि बाटो थियो कहिँ पक्कि । कच्ची सडक सिताएर कहिँ हिलो कहिँ पानी जमेझैँ भएर हिड्न अलि कठिन मानिन्थ्यो । बाटोभरी घाम परेको थिएन । शरिरलाई निकै कस्टकर भएको आभाष भएको थियो । बाटो असहज भएपनि झिम्रुक खोला किनारका गाउँ बस्ती निकै रमाइला देखिन्थे । पुरानो सभ्यतालाई निरन्तरता दिँदै सुनौलो भविष्यलाई साकार पार्न अझै सभ्य आधुनिकीकरण हुँदै अगाडि बढिरहेका देखिन्थे ।
गाउँका अगाडि खेतीयोग्य जमिन, खेतहरुमा गहुँ उम्रेर हरियाली छाइरहेको देखिन्थे । गाउँमा फुलेका, हजारी फूल र लालुपातेले नयाँ पर्यटकलाई स्वागत गरेको आभाष झल्किन्थ्यो । गह्राभरी राताम्य लालुपाते फुलेर गाउँ निकै शुन्दर देखिन्थे । हामी शुन्दर गाउँ बस्ती हेर्दै झिम्रुक गाउँपालिकाको मच्छे बजारमा पुग्यौँ । त्यहाँ गाउँपालिकाको कार्यालय पनि रहेछ । ठुलठुला पक्कि घर, वडा कार्यालय, बिध्यालय, केही ठुलासाना होटेल र शुन्दर सानो बजार सहितको बस्ति रहेछ ।
झिमरुक गाउँपालिका प्युठान जिल्लाका २ नगरपालिका र ७ वटा गाउँपालिकाहरू मध्येको एक हो । लुम्बिनी प्रदेशमा पर्ने यो गाउँपालिका २२ फागुन २०७३ मा नेपाल सरकारबाट घोषणा भएको हो। गाउँपालिका घोषणा गर्दा साबिकका ओखरकोट, बादिकोट, वांगेमरोठ, तोरवाङ, तुषारा र लिवाङ (७--९) गाविस यसमा गाभेर बनेको हो ।
नेपालको संविधानको धारा २९५(३) बमोजिम गठित गाउँपालिका, नगरपालिका तथा बिशेष संरक्षित वा स्वायत क्षेत्रको संख्या तथा सीमाना निर्धारण आयोगले मिति २०७३ \ ०९\२२ मा पेश गरेको प्रतिवेदन र नेपाल सरकारको मिति २०७३\ १०\२२ को निर्णयानुसार माननीय संघिय मामिला तथा स्थानीय विकास मन्त्रीको संयोजकत्वमा गठित समितिले मिति २०७३ \ ११ \ २० मा पेश गरेको प्रतिवेदनको आधारमा यो गा.पा. हाल साविकका बाङ्गेमरोट, बाँदिकोट, ओखरकोट, तोरवाङ, तुषारा र लिवाङगाबिस मिलेर बनेको देखिन्छ ।झिमरुक गाउँपालिकाको पूर्वमा गुल्मी जिल्ला, पश्चिममा नौबहिनी गाउँपालिका र प्यूठान नगरपालिका, उत्तरमा गौमुखी गाउँपालिका र नौबहिनी गाउँपालिका तथा दक्षिणमा प्यूठान न.पा. र मल्लरानी गाउँपालिका पर्दछन् ।
भौगोलिक हिसाबले हेर्दा ८२ डिग्री ५४ मिनेट ३५.७६ सेकेण्ड देखि ८३ डिग्रि ३ मिनेट ३६.०३ सकेण्ड पूर्वी देशान्तर र २८ डिग्रि ६ मिनेट ७.१९ देखि २८ डिग्रि ११ मिनेट ४८.३१ सेकेण्ड उत्तरी अक्षांशमा अवस्थित झिमरुक गाउँपालिका लुम्बिनी प्रदेशको करीब १०६.९३ व.कि.मी. क्षेत्रफल ओगट्दछ । झिमरुकको अधिकतम तापक्रम ४६ डिग्रि, न्युनतम तापक्रम ० डिग्रि रहेको पाईन्छ ।
यहाँको शैक्षिक संरचना हेर्दा सामुदायिक र संस्थागत गरी १० वटा मा.वि, ८ वटा नि. मा. वि. र ३६ वटा प्रा. वि.गरी जम्मा ५३ वटा शिक्षण संस्था संचालित रहेको विभिन्न स्रोतबाट देखिन्छ । झिम्रुक गा.पा.को शैक्षिक संरचनाले यस पालिकाको शैक्षिक स्थिति सबल रहने देखिन्छ । उच्च शिक्षाको लागि भने प्यूठान जिल्लाको प्यूठान नगरपालिका, खलंगा स्थित मल्लरानी गाउँपालिकामा जानु पर्ने रहेछ ।
यो जिल्लाका प्राय सबै न.पा.र गा.पा.मा राष्ट्रिय राजनीतिमा अग्र स्थानमा रहेका राजनितीज्ञहरु हुनुहुन्छ । झिम्रुक गा.पा.को मात्रै नाम लिन सक्ने अवस्था रहँदैन । यस्तै विभिन्न मन्त्रालय, बिभागमा सचिव, सहसचिव उपसचिव, यस्तै न्यायपालिकामा न्यायाधीश, जिल्लामा बरिष्ठ अधिवक्ता, अधिवक्ता, डाक्टर, प्राध्यापक ईन्जिनियर उध्योगी, ब्यवसायी रहनुले प्यूठान आफैमा योग्य राजनितीज्ञ र दक्ष जनशक्तिको धनि जिल्ला पनि मानिन्छ ।
मच्छे बजार हेरौ हेरौँ लागिरहेको थियो । समय नभएकोले हामी पहिले बनेको कच्ची मोटर बाटोमा नाला खन्दै गरेको बाटो उक्लिदै वडा नं ५ मा पर्ने झिम्रुकको ओखरकोट गाउँको माथि थुम्कामाथि पुरानो पिपलबुटा सहितको चौतारामा पुग्यौँ । ठूलो वरिपरि बस्न मिल्ने चौतारी बिचमा रहेको पिपलको रुखले गर्मी याममा बटुक र यात्रुहरुलाई निकै शितल र आनन्द दिने रहेछ । घटिमा पनि करिव १५ र २० मिनेट जति उकालो हिँडेपछि ओखरकोट दरवार र मन्दिर परिसरमा पुगिने रहेछ । थुम्को ठाडो उकालो जस्तो भएपनि व्यवस्थित ढुंगाका शुन्दर स्लोटहरू बिछ्याइएका थिए । नागबेली पारेर बनाईएको सिँढिले एकातिर शुन्दर कलात्मक ढाँचाको प्रस्तुति दिइरहेको थियो भने अर्कोतिर ठाडो रुपमा नहिँडि पट्ट्याई मारी मारी हिड्न पाइन्थ्यो ।
मन्दिर पुग्नु पहिले त्यो खुड्किलाबाट क्षितिज पारीसम्म देखिने गुल्मीका डाँडा अर्घाखाँचीका डाँडा, यसैगरी प्यूठान जिल्ला सिङ्गै देखिएको महसुस हुन्थ्यो । त्यो सिँढिमाथि बनेको भिर हेर्दा भने कपालका जुम्रा झर्लान जस्तो शरीर सिरिङ सिरिङ पारिरह्यो ।हामी केही छिनमा थुम्को माथि पुग्यौँ । साँच्चिकै ओखरकोट माथि पुग्दा धेरै तल अरु बस्ति थिए । बिदेशमा रहेका बुर्ज खलिपा टावर, अफिल टावर, फ्रान्सेलि टावर भन्दा प्राकृतिक रुपमा बनेका हाम्रा ती थुम्का सँसारका कुनै टावर भन्दा कम्ति थिएनन् । थुम्काको बनोट हेर्दा कडा चट्टान माथिको बादिकोट ओखरकोट खड्ग मन्दिर र दरवारले साँच्चिकै भन्नुपर्दा कैलास शीखरको झल्को दिएको आभाष भयो ।
मानौँ कैलास पर्वतबाट मानसरोवर देख्न सकिन्छ भने यस थुम्काबाट कैलास मानसरोवर नदेखेपनि पुरै प्यूठान जिल्ला र वरिपरिका गुल्मी बाग्लुङ अर्घाखाँची, दाङ र रोल्पा जिल्ला देखेको अनुभूति भयो । साँच्चिकै अग्लो रमाइलो शुन्दर ठाउँमाथी बादिकोट ओखरकोट खड्ग मन्दिर रहेछ । ऐतिहासिक तथ्य अनुसार यहाँ नेपाल एकीकरण अघि यही बादीकोट ओखरकोट थुम्कामा बादिकोटे मगरको राज्य थियो रे । पछि टाकुरे राज्य गाभिएपछि बिस्तारै ओझेलपर्दै गएको सुनिन आयो ।
साविकमा बाँदिकोटमा पर्थ्योरे यो ठाउँ । पछि झिम्रुक गाउँपालिका बनेपछि वडा नंवर ५ मा पर्ने ओखरकोटमा यो थुम्का परेको रहेछ । यसैले बादीकोट बस्तीको र ओखरकोट दुवै ठाउँको अस्तित्व, महिमा र इतिहास कायम राख्दै साँस्कृतिक, धार्मिक, पर्यटकिय सम्पदाको संरक्षण सम्वर्दन गर्न यस मन्दिरको नाम बादीकोट ओखरकोट खड्ग मन्दिर राखिएको रहेछ । झिम्रुकको वडानं १ र २ गुल्मीसँग, र वडा नं ४ मल्लरानी गा.पा. को -१ चुँजासँग जोडिएको रहेछ । लामो आकारको सेतो रातो माटोले छिपिएको ढुङ्गाको स्लोटले छाइएको एक घर, घरको उत्तरपट्टी मोहडामा बिना ढोकाको सानो भान्सा जस्तो छाएको एक कोठा । घरको अगाडि चारैतिर बस्न मिल्ने ढुङ्गा बिछ्याई बनेका पेटी, बिचमा फराकिलो चौकोसे खाली जमिन, बलि दिन बुट्टेदार चारपाटे अग्लो मोटो मौलो रहेको छ ।
थुम्कोमाथि रहेको चौरमा ४ र ५ वटा अडेस लागेर बस्न मिल्ने व्यवस्थित हरियो रातो रंग पालिस लगाइएका बेञ्च, आजभोली लभको संकेत दिने पान आकारमा कुदिएको रंगिन पान जसको मुनि खुड्किला सहितको बेञ्च राखि फोटो खिच्न मिल्ने स्ट्याण्ड राखिएको । थुम्को माथिको चौर वरिपरि सल्ला र धुपि जातका केही रुखहरु लगाईएका छन् । जसले त्यति अग्लो स्थानमा रुख हरू कसरी हुर्के भनेर जो कसैलाई आश्चर्य चकित बननाएको आभाष हुन्छ ।
कपुरकोटका मानिसहरु कसैकसैले गाई गोरुनै लिएर त्यहाँ चराउन गएको देख्दा बहुतै चकित भएँ । त्यहाँबाट देखिने चारै तिरको शुन्दर दृश्यावलोकन बारे जति पनि व्याख्या बिश्लेषण गर्न सकिन्छ । त्यहाँ बसेर सर्जकहरूले जति पनि गजल, मुक्तक, कविता, काव्य, कथा, उपन्यास, नाटक, निबन्ध, गीत, लोकगित र संगितको रचना गर्न सक्दछन् ।ओखरकोटले झिम्रुक गाउँपालिकाको एउटा सिँगो पहिचान दिइरहेको छ, एउटा ईतिहास बोकिरहेको छ, संस्कृति र सम्पदा बचाईरहेको छ । स्वदेशी र बिदेशी दुवै किसिमका पर्यटकको लागि पर्यटनको हव मानिन्छ । यति थोरै कार्यले पनि झिम्रुक गाउँपालिकाको एउटा महत्त्वपूर्ण प्रयास रहेको देखिन्छ ।
यति धेरै महत्त्वपूर्ण स्थान मानिने यस ठाउँमा सरसफाई भने भएको देखिदैन । मानिसहरुले त्यहाँ गएर खानेकुरा खाई सके पछि फोहर राख्ने ठाउँ छैन, डस्टविन राखिएको छैन । फोहोर चिज, कागज प्लास्टिक, जहाँतहि देखिन्छ । थुम्का माथिको चौरमा बार बन्देज व्यवस्थित छैन । फूलबारी देख्न पाए अझ उत्कृष्ट देखिने थियो । यस्तै यहाँबाट खस्यो भने मानिस पशुवस्तु बच्चा जिवित रहने कुनै संभावना छैन, लास पनि भेटिने अवस्था देखिदैन । स्वस्थ्य पिउने पानीको अभाव, यस्तै मानिसलाई दीशा पिसाफ लागेमा के गर्ने शौचालयको अभाव देखिन्छ ।
मध्य पहाडको रुपमा रहेको प्यूठान जति प्राकृतिक स्रोत साधनले धनि मानिन्छ, उतिनै प्राकृतिक सुन्दरताले पनि धनि छ । स्थानिय तहमा मात्र होइन, राष्ट्रिय रुपमा पनि राजस्व आर्जन गर्न सकिने प्रचुर अवस्था देखिन्छ । स्वर्गद्वारी धाम जस्तै पर्यटन क्षेत्रमा सुधार गर्न सके कपुरकोट मन्दिरले बाह्रैमास पर्यटकको ओइरो लाग्ने देखिन्छ । यस्तै यो ठाउँमा छिट्टै सडक स्तरोन्नति गर्नुपर्ने देखिन्छ ।
हप्ताको शनिवारका दिनमा मात्रै भएपनि कपुरकोट गाउँमा हाटबजारको मेला गर्न सके मच्छे बजारमा बाख्लो मानिसको उपस्थितिले व्यापार व्यवशाय बढ्न जाने संभावना पनि उत्तिकै प्रवल देखिन्छ । यसका अलवा मन्दिर परिसरको सरसफाई, पानी धाराको जडान, बार, बन्धेज, शौचालयको व्यवस्था र निकास साथै फूलबारीको ब्यवस्थापन गर्न सके ओखरकोट वडा मात्रै होइन, झिम्रुक गाउँपालिकको पनि बिकास र संबृद्वि हुने कुरामा दुई मत देखिदैन ।
(प्रशान्त ) २०८१\८\२२ ओखरकोट, प्यूठान ।
प्रतिक्रिया