काठमाडौं। इजरायल र प्यालेस्टिनी लडाकु समूह हमासबीच गाजामा विनाशर्त स्थायी युद्धविराम गर्न र हमासको नियन्त्रणमा रहेका सबै बन्धक तत्काल रिहा गर्न माग गरिएको प्रस्ताव संयुक्त राष्ट्रसंघ महासभाले अत्यधिक बहुमतले पारित गरेको छ । १९३ सदस्यीय महासभामा १५८ राष्ट्रले प्रस्तावको पक्षमा मतदान गरेका थिए भने नौ राष्ट्रले यसको विपक्षमा मतदान गरेका थिए । १३ राष्ट्र भने यसमा तटस्थ बसे ।
नेपालले प्रस्तावको पक्षमा मतदान गरेको छ भने अमेरिका र इजरायल लगायतका नौ देशले विपक्षमा मतदान गरेका छन् । महासभाले गाजामा कार्यरत राष्ट्रसंघीय सहायता निकाय उनर्वाको पक्षमा समर्थन जनाउँदै अर्को प्रस्ताव समेत पारित गरेको छ । सो प्रस्तावमा उनर्वाको काम कारबाहीमाथि जनवरीको अन्त्यतिरदेखि प्रतिबन्ध लगाउने सम्बन्धी इजरायलद्वारा पारित नयाँ कानुनको आलोचना गरिएको छ ।
प्रस्तावमा उनर्वालाई प्राप्त राष्ट्रसंघीय म्यान्डेटको सम्मान गर्न, उनर्वालाई गाजामा विना अवरोध मानवीय सहायता प्रदान गर्नमा सहयोग पु¥याउन र अन्तर्राष्ट्रिय कानुनप्रतिको प्रतिबद्धता पालना गर्न इजरायलाई आह्वान गरिएको छ । यो प्रस्तावको पक्षमा १५९ र विपक्षमा नौ मत परेको थियो भने ११ राष्ट्र तटस्थ बसेका थिए ।राष्ट्रसंघ महासभाद्वारा पारित प्रस्ताव बाध्यात्मक नभए पनि यसले गाजा युद्धका सम्बन्धमा विश्वको दृष्टिकोण प्रतिविम्बित गर्ने भएकाले राजनीतिक रूपमा यसलाई महत्त्वपूर्ण मानिन्छ ।
इजरायलले विगत १४ महिनादेखि गाजामा जारी राखेको युद्धमा ४४ हजार आठ सयभन्दा बढी प्यालेस्टिनी मारिएका छन् । प्यालेस्टिनी लडाकु समूह हमासले गत वर्षको अक्टोबर ७ मा इजरायलमा अचानक गरेको आक्रमणमा करिब १२ सय मारिएका थिए भने २५१ जना बन्धक बनाइएका थिए । तीमध्ये ११७ जना बन्धक रिहा भइसकेका छन् भने ३८ जनाको शव इजरायली सेनाले फेला पारेको छ ।
हमास नियन्त्रणमा अझै पनि ९६ जना बन्धक रहेको इजरायलको विश्वास रहेको छ । नेपाली विद्यार्थी विपीन जोशी पनि हमासको नियन्त्रणमा रहेका छन् ।
प्रतिक्रिया