नेपाल कानुन व्यवसायी परिषद् (बार काउन्सिल)ले न्यायाधीश राजकुमार कोइरालासँग घुस डिल गर्ने अधिवक्ता रुद्रप्रसाद पोखरेललाई नसिहत दिएको छ।व्यवसायी इच्छाराज तामाङको मुद्दामा सेटिङ गर्ने क्रममा पोखरेलले तत्कालीन काठमाडौँ जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइरालासँग टेलिफोनमै घुस डिल गरेका थिए।
व्यावसायी इच्छाराज तामाङलाई धरौटीमा छुटाउनका लागि भएको घूस लेनदेनबारेको अडिओ २०७९ असोज ८ गते सार्वजनिक भएको थियो। करिब १० मिनेटको उक्त अडिओमा कानुन व्यवसायी पोख्रेल र कोइरालाबीच न्यायाधीश इच्छाराजलाई छुटाउनेबारे मोलमोलाइ गरिएको थियो।उक्त अडिओमा पोख्रेलले इच्छाराजलाई १० करोड रूपैयाँ धरौटीमा छुटाउन प्रस्ताव गर्ने र काम मिलाए बापत आफूले दुई करोड रूपैयाँ दाबी गर्ने बताएका थिए। अडिओ सार्वजनिक भएपछि न्याय परिषद्ले कोइरालाउपर छानबिन गरेको थियो।
तर, न्याय परिषद्ले उनको पद जोगाउँदै निगरानीमा रहने गरी सचेत गराउने निर्णय गरेको थियो। उनले घुस खाएको प्रमाणित नभएको, अडिओमा भएको कुराकानीअनुसार आदेश पनि नगरेको तर न्यायाधीशको पदीय मर्यादाविपरीत मुद्दामा संलग्न कानुन व्यवसायीसँग कुराकानी गरेको देखिएको न्याय परिषद्को छानबिनको निष्कर्ष थियो।
कानुन व्यवसायीहरूको आचार संहिता अनुगमन गर्ने निकाय कानुन व्यवसायी परिषद् हो। यसका अध्यक्ष महान्यायाधिवक्ता हुन्छन्। विवादित न्यायाधीशमाथि छानबिन गरिएपछि कानुन व्यवसायी परिषद्लाई अधिवक्ता पोखरेलमाथि पनि छानबिन गर्न दबाब परेको थियो। कानुन व्यवसायी परिषद्ले पनि पोखरेलको प्रमाणपत्र जोगाउँदै नसहित दिने निर्णय गरेको हो ।
प्रतिक्रिया