प्युठान। जीवनमा एकचोटी प्यूठानको स्वर्गद्वारी धाम, सदरमुकाम खलंगा र झिम्रुक जलबिधुत आयोजना लगायत बिजुवार बजार र बजार नजिक रहेको झिम्रुक किनारको खेतीयोग्य फाँट हेर्ने मनमा तृष्णा जागिरहेको थियो, अवसर जुरेको थिएन, सोच राखे अवस्य पुगिएला भन्ने दृढ बिश्वास लिई प्रतीक्षा भने गरिरहेको थिँए ।
यसपटक महान्यायाधिवक्ताको कार्यालयको सिफारिस अनुसार न्याय सेव आयोगले उच्च सरकारी वकील कार्यालय, नेपालगन्ज बाट जिल्ला सरकारी वकिल कार्यालय, खलंगा, प्युठानमा मिति २०८१\३\४ गते सरुवा निर्णय गरेको थियो । सो निर्णयानुसार गत अषाढ ३० गते शुक्रवार सहन्यायाधिवक्ता उमाकान्त पौडेल तथा उपन्यायाधिवक्ता देवराज भारती एवं सम्पुर्ण उच्च सरकारी वकिल कार्यालय परिवारले ससम्मान सहित बिदाई गरि सम्पुर्ण कार्यालय परिवारलाई धन्यवाद दिँदै रमानापत्र सहित बिदा भएँ ।
साविकको राप्ती अञ्चल स्थित पर्ने प्यूठान जिल्ला कुनैबेला चौविसे राज्य क्षेत्र भित्र पर्दथ्यो । यसकारण पनि मलाई प्यूठान पुग्नमा उत्सुकता जागिरहेको थियो । प्यूठान जिल्ला जानु अघि मोहनविक्रम सिंहले गाउँका गरिव असामीहरूले लिएको ऋणको तमसुक च्यात्दै हिँडेको, आफ्नै बाबु विरुद्ध विद्रोह गरी घरबाट बाहिर निस्केको, आफुले एम.ए. मा स्नातकोत्तर गरेपनि जागिरमा वास्ता मतलव नराखी देशको स्वतन्त्रता र जनताको मुक्तिका लागि जेल रोजेको, साँच्चिकै उनी नेपालको लागि लेनिन जस्तै थिए भन्ने कुरापनि सुन्दै आएको कारण समेतबाट प्यूठानको बस्तुस्थिति बुझ्न कौतुहलता जागिरहेको थियो म भित्र ।
श्रावण २ गते बिहानै प्यूठान हिँड्ने सल्लाह भएको थियो । अफिसको गाडी प्यूठानबाट रमाना भएर बर्दिया जाने साथी कर्ण बुढाले लिएर गएका थिए । जिल्ला प्रहरी कार्यालयका प्रहरी कर्मचारी बुद्वि शाहीले चलाएर जाने सल्लाह भएको थियो । सल्लाह अनुसार श्रावण २ गतेका बिहान मेरी धर्मपत्नी पुर्णलक्ष्मीले टीका लगाएर यात्रा शुभारम्भ गराएकि थिइन् । सानो छोरा मिराजले छुट्टिन मन गरेका थिएनन् । हामी दुई जहान बुढाबुढीलाई आपसमा छुट्टिन गाह्रो हुन्छनै । म गाडीभित्र पसेँ दायाँ हात हल्लाउँदै ।म्याडम पुर्लक्ष्मी भने मलाई पर पुगुञ्जेल दाँ हात हल्लाइरहृकि थिइन् ।
बाटोभरी खुल्दुली लागिरहेको थियो, आजको मौसम कस्तो रहला । मैले यात्रा प्रारम्भ अघिनै आफ्नो कुल देव ईष्टदेवसँग प्राथना गरिरहेको थिँँएकि मौसम सफा रहोस् , यात्रा मंगलमय रहोस् । हाम्रो गाडी कोहलपुरबाट अघि बढ्यो, ढकेरी, अघैया कुसुम अमिलियाले पनि हाम्रो यात्रालाई मनोरम बनाइरहेका थिए । श्रावण महिनाका घाँसे मैदान, हरिया सालका घना बृक्ष, चराहरुको चिरबिर, निलो आकाश कहिँकहिँ बादलुका सेता गुच्छा र लुकामारीले साँच्चिकै बर्षायामको रौनकता छाइरहेका थिए अर्कातिर हामीलाई प्रशस्त आनन्द दिँदै यात्रालाई रमाइलो बनाइरहेको अनुभूति भएको थियो ।
९:०० बजेतिर लमही बसपार्ककमा पुगेपनि त्यहाँ नबसेर हिँडि हाल्यौँ । बर्षायामका उत्तर तर्फका बिछट्टै हरियाली छाएको महाभारतको लेकले बिजौरी उपत्यका थप शुन्दर देखिन्थ्यो । आकाशमा देखिने फाट्टफुट्ट बादलका गुच्छाले चर्को घामबाट केही शितलता दिइरहेका थिए । लमही र भालुवाङको बिचमा पर्ने सिसनियामा हाम्रा आफन्त ज्वाँईसावको भिनाजु मीलन पाण्डे, लमहीको ब्यवसायी पनि, हामीलाई साक्षात्कार गर्न पर्खिरहनु भएको थियो । भलाकुसारी सहित चिया पिएर भालुवाङतर्फ बढ्यौँ । भालुवाङसम्म हाम्रो यात्रा नयाँ चरणभएपनि यसपटक भने नयाँ रौनक दिइरहेको थियो ।
भालुवाङदेखि प्यूठान खलंगा तर्फको यात्रा भने मेरो लागि जिज्ञासामूलक थियो । पत्रकारिता र साहित्यमा अभिरुचि राख्ने पत्रकार कृष्णसेनको दशबर्षे द्वन्द्वकालमा हत्याबाट मृत्यू भएको सुनेको थिएँ ,२०५९ जेठ १३ मा । उहाँको सम्झनामा भालुवाङ राप्ती नदीको पुल अगाडी प्यूठान जाने सडकको छेउ नजिक पुर्णकदको शालिक राखिएको थियो, उनको स्मरण गर्दै प्यूठान तर्फ लाग्यौँ ।
प्यूठान प्रबेश गर्दा शुरुमा सरुमारानी गाउँपालिका रहेछ । हामी खोलामाथिको पक्की पुल क्रस गरेर प्यूठान प्रवेश गर्यौ । त्यही मूलगेटले हामीलाई पहिलोचोटि स्वागत गरेको थियो । सडकका दायाँबायाँ केही मकैबारी थिए, मकै पसाउँदै थिँएँ ।
हामीले दाङमा नै खाना खाने भनेका थियौँ । प्यूठानको प्र.ना.उ. ईश्वर थापा सरले नमानेर दर्भान प्रहरी चौकी प्यूठानमा खाना बनाउन खवर गर्दिनु भयो । त्यो चौकीको नाम ढुङ्गेगढी प्रहरी चौकी रहेछ जसको स्थापनानै २०४४ सालमा भएको रहेछ । ढुङ्गेगढीका प्रहरी चौकीका ईन्चार्जले ससम्मान साथ खाना खुवाई बिदा गर्नुभयो । प्रहरी चौकीको भवन नयाँ रहेछ, चौकीमा २\४ जनाको लागि थुनुवा कक्ष रहेपनि थुनुवा भने थिएनन् । अन्य मुद्वा भन्दा पनि सवारी सम्बन्धि मुद्वा कहिलेकाहीँ पर्ने रहेछन् । हाइवेबाट चौकी पुग्न लगभग ६० मिटर जति पिच गर्नुपर्ने मलाई महसुस भयो ।
दर्भानको सानो बजारमा हाम्रो गाडीका चारैवटा टायरमा हावा भर्यौ । सबै टायरमा मापन पनि गर्यौँ, हावाको मात्रा १५ र १५ मात्रै रहेछ । हामी त्यसपछि खहरे खोला, डुम्रे खोला हुँदै माण्डवी गाउँपालिका प्रवेश गर्यौँ । केही मानिसहरु सडकका छेउछाउका खेतमा रोपाइँ गर्दै थिए । प्यूठानको चकचके भन्ने ठाउँमा दिउँसोको २ः०० बजे पुग्यौँ । चकचकेबाट रोल्पाको लिवाङ पुग्न ६३ कि. मी.स्वर्गद्वारी पुग्न ३२ किमी र प्यूठानको सदरमुकाम खलंगा पुग्न २५ किमी। लाग्ने रहेछ । चकचकेबाट केही पर झिम्रुक जलबिधुत आयोजना रहेछ । बाटोबाटै झिम्रुक खोला हेर्यौँ ।
झिम्रुक खोला राप्ती नदीको प्रमुख सहायक नदी हो । अर्को सहायक नदी माडी हो । माडी र झिम्रुक खोलाबाटै राप्ती नदी बनेको छ । रोल्पामा पर्ने महाभारत पर्वत माडी खोलाको उदगम मानिदोरहेछ । यही माडी प्यूठानको मध्यभागबाट बग्दछ । प्यूठानमा पर्ने माडी र झिम्रुक खोला जल सम्पदाका दृष्टिले सम्पन्न मानिदारहेछन् ।
प्युठानको ऐरावती भन्ने ठाउँमा राप्ती नदीका प्रमुख सहायक खोला माडी र झिम्रुक खोला मिसिएपछि राप्ती नदी साँच्चिकै बृहत बन्दोरहेछ । प्युठान जिल्लामा पर्ने गौमुखी गाउँपालिका स्थित गौमुखी भन्ने ठाउँबाट झिम्रुक खोला उत्पन्न भएको रहेछ । अन्य स साना खोलानालाहरु गर्दन खोला, छोपेखोला, खप्रङ खोला समेत मिसिएर झिम्रुक खोला बनेको रहेछ । झिम्रुक खोला र माडी खोला प्यूठानको सभ्यताको बिकास रहेछन् भन्ने मलाई लाग्यो ।
बास्तमा प्यूठान जिल्ला लुम्बिनी प्रदेशमा अवस्थित एक पहाडी जिल्ला हो । पूर्व पश्चिम उत्तर दक्षिण क्रमशः अर्घाखाँची र गुल्मी, रोल्पा र दाङ, बाग्लुङ र रोल्पा तथा अर्घाखाँची र दाङ जिल्लाको बिचमा रहेको प्यूठानको आफ्नै ईतिहास, संस्कृति परम्परा र मौलिकता रहेका छन् भने यिनै संस्कृति भित्र अनेक बिविधता पनि रहेका छन् । देउखुरी उपत्यका र बाँके जिल्लालाई सिचांई सुविधा पुर्याउने यही राप्ती नदीलाई स्रोत नदी मानिन्छ यहाँ ।
स्वर्गद्वारी र प्यूठान नगरपालिका बाहेक गौमुखी, मल्लरानी, माण्डवी, सरुमारानी, ऐरावती, नौवहिनी र झिम्रुक गरि सात गाउँ पालिका रहेका छन् । प्रदेश सभाका लागि दुई र प्रतिनिधि सभाका लागि एक निर्वाचन क्षेत्र रहेको यस जिल्लाको आफ्नो छुट्टै परिचय र गरिमा रहेको देखिन्छ ।
क्षेत्रफल १३०९ कि.मी., जनसङ्ख्या (२०७८) अनुसार २३१८४८ रहेको प्यूठानको क्षेत्रफल र जनसंख्या को अनुपातलाई हेर्दा प्रतिबव्यक्ति जनघनत्व १८० जना देखिन्छ । यसैगरी शीत र शमशितोष्ण हावापानी पाइने यो जिल्ला समुन्द्र सतहबाट ३०५ मिटर देखि ३६५९ मिटर सम्म रहेको देखिन्छ । यहाँका पहाड थुम्का टार, वेशी र बस्ति एवं टोल चोकले प्यूठान जिल्लालाई अत्यन्तै शुन्दर र मनोरम देखाएका छन् ।
सरदर १३०० मी.मी. वार्षिक वर्षा हुने यस जिल्लामा न्युनतम १४.८ देखि २४.१ डिग्री सम्मको ताप रहेबाट यहाँ पाइने साल सिसौ देखि लेकाली जातका रूखबृक्षले अझ बढि महत्व दिएको पाइन्छ ।
हामी चकचकेबाट झिम्रुक खोलामाथीको पक्की पुल तरेर चेरनेटा हुँदै क्वाडी भन्ने स्थानमा पुग्यौँ । त्यहाँ बेलपत्रेश्वर महादेवको मन्दिर पनि रहेछ, गाडीबाटै ढोगेँ । क्वाडीबाट वारी जुम्री बजार, बिजुवार बजार बाघदुला पर्ने रहेछ । खेतियोग्य शुन्दर फाँटमा ठुलै बिजुवार बस्ति बनिसकेको रहेछ । जुन फाँट निकै ठूलो र शुन्दर लाग्यो । प्यूठानमा बिगतमा मगर जातीको बाहुल्यता रहेछ । यहाँका हरेक संस्कृति चालचलन सभ्यतामा मगरको सभ्यता मिसिएको छनक देखिन्छ । यहाँका बस्ति र गाउँ टोलका नाममा वाङ जोडिएर बन्दोरहेछ । जस्तो रोल्पामा लिवाङ भएजस्तै प्यूठानमा सारीवाङ, गोठीवाङ आदि ।
क्वाडीबाटै पारी डाँडाँमाथी खलंगा फैलिएर रहेको देख्यौँ ।
खलंगा प्यूठानको सदरमुकम हो । खलंगा डाँडामाथि रहेको छ । डाँडामाथी अग्ला शुन्दर घर छन् । केही पुराना सभ्यताका केही आधुनिक संरचनाका घरहरु छन् । खलंगाका थुम्का थुम्कामा बनेका सरकारी भवन, स्कुल र गाउँका घरहरुले मन लोभ्याई रहेका थिए ।
हामी बाघदुला माथि रहेको पक्की पुल पार गरेर सारीवाङ, धरमपानी हुँदै खलंगा माथी उक्लियौँ । बिच बजारमा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, राष्ट्रिय बाणिज्य बैंक , नेपाल बैंक लिमिटेड, खलंगा बजारको अलि पर जिल्ला सरकारी वकिल कार्यालय रहेछ, हाम्रो गाडी अफिसभित्र पसेर म मोटरबाट ओर्लने बितित्तिकै सहायक जिल्ला न्यायाधिवक्ता मदन शर्मा र अन्य कर्मचारी खरिदार कम्प्यूटर अपरेटर जानकी खड्का, कृत बि.क. लगायत अन्य कर्मचारी साथीहरुबाट फूलमाला र खादाले स्वागत गरेका थिए ।
नयाँ कार्यालय प्रमुखलाई यसरी फूलमाला, पुष्पगुच्छा र खादाले स्वागत गरिरहँदा एउटा अशल सँस्कार कर्मचारी भित्र रहेको पाउँदा अत्यन्तै खुसि लाग्यो । मैले हाजीर गर्नु पूर्व टेवुलमा कलम डायरी र केही थान सहि गर्नु पर्ने पत्र राखिएका थिए । स्टाफ साथीहरुले हाजिरसँगै चीठ्ठीपत्रमा सही गराएर कार्यालयको कार्यसम्पादनको यात्रालाई प्रारम्भ गर्न लगाएका थिए ।
लगत्तै जिल्ला प्रहरी कार्यालय प्यूठानका अनुसन्धान अधिकृत केशव के.सि. सहितका मुद्वा फाँटमा काम गर्ने प्रहरी कर्मचारीले खादा एबं पुष्पगुच्छा सहित स्वागत गरेपछि प्यूठान जिल्लाले देखाएको हार्दिकताको मिठो स्पर्श गर्दै खाजा र चिया पछि प्यूठान सम्बद्व सबै कर्मचारी साथिहरू सँगको भलाकुसारी एवं हार्दिकता आदानप्रदान गर्यौ ।
बिजुवार बाघदुलाबाट देखिने खलंगाको शुन्दरता र खलंगा बाट झिम्रुक खोला पारी देखिने बेशीको जुम्री बिजुवार र बाघ- दुलाको बस्ति एवं बजार पूर्व पश्चिम केही साँघुरो र बिचमा फुकेको किस्ति जस्तै शुन्दर देखिन्थ्यो । मैले यो दृश्यलाई आहाः प्यूठान, मनोरम प्यूठानू भन्दै मेरो प्यूठान खलंगा सम्मको यात्रालाई बिट मार्दै साथीहरू बिचबाट केही समयको लागि अलग्गिएको थिएँ ।
(प्रशान्त) २०८१\४\२७ खलंगा, प्यूठान ।
प्रतिक्रिया