मँगलसैन। अछामको ढकारीमा ट्याक्टर दुर्घटना हुँदा शनिबार सात जना घाइते भएका छन् । दुर्घटनामा दुई जना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा ढकारी गाउँपालिका –१ लयगाउँका ३२ वर्षीय दिनेश रिमाल, निजका १० वर्षीय छोरा लोकेश रिमाल, ४६ वर्षीय धने टमट्टा, ५७ वर्षीय मनराजे टमट्टा घाइते भएका छन् । यस्तै १६ वर्षीया कविता टमट्टा, १७ वर्षीया खिमा टमट्टा र १३ वर्षीया जनधरा टमट्टा छन् ।
उक्त दुर्घटनामा घाइते भएकामध्ये निधार, कम्मर र खुट्टामा चोट भएका दिनेश रिमाल र टाउको र घाँटीमा चोट लागेको धने टमट्टालाई थप उपचारका लागि सुविधासम्पन्न अस्पतालमा लगिएको र अन्यको ढकारी स्वास्थ्य चौकीमा उपचार भइरहेको बताइएको छ ।
ढकारीको चाइराबाट परालसहित ११ जना सवार सु.प.प्र.०१००२ त ५१८८ नम्बरको ट्याक्टर राउलासैनमा दुर्घटना भएको हो । पराल बोकेर आइरहेको ट्याक्टर राउलासैनको मोडमा पछाडिको ट्राली पल्टिएर दुर्घटना भएको अछाम प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ईश्वरीप्रसाद भण्डारीले जानकारी दिनुभयो ।
ट्याक्टरमा सवार रहेका अन्य चार जना भने सकुशल रहेको भण्डारीको भनाइ छ । दुर्घटना भएको ट्याक्टरका चालक सोही गाउँपालिका –१ का २९ वर्षीय लोकबहादुर बुढालाई प्रहरीले नियन्त्रणमा लिएको छ । खेतमा धान चुटिसकेपछि ट्याक्टरबाट धान र पराल बोक्नका लागि कच्ची सडकमा ट्याक्टर लग्ने गरिएको छ ।
प्रतिक्रिया