सन्दर्भ कुकुर तिहार

bimbonline बिम्ब अनलाइन
२०८१ कात्तिक १५ १३:४१ बजे

 प्रायःसहरी क्षेत्रमा रहरले कुकुर पाल्ने गरिन्छ। आर्थिक रुपमा सम्पन्न व्यक्तिले आफ्नो सोखका लागि कुकुर पाल्ने गर्छन्।यसरी पालन गरिने कुकुरको भूमिका खास नभए पनि ग्रामीण भेगका गोठमा पाल्ने कुकुर भने गोठालाका सुरक्षाको भरोसा बन्ने गरेका छन्।

परम्परागत रुपमा घुम्ती गोठ राखेर गरिने पशुपालनमा कुकुर गोठालाका सारथि बन्ने गरेका छन्। अनकन्टार जङ्गल, पहाड र हिमालका बुकीसम्म नै घुम्ती रुपमा गरिने भेडापालन र गाईभैँसीका गोठमा कुकुरलाई मुख्य हेरालुको रुपमा पाल्ने गरिन्छ। 

अन्नपूर्ण गाउँपालिका–५ का भेडापालक युवा प्रकाश पुनले भेडीगोठमा रहेका भेडाको हेरालु र गोठको सुरक्षाका लागि कुकुर पालिएको बताए। ‘हामी पनि गोठमा हुन्छौं, तर कहिलेकाहीँ जङ्गली जनावरले गोठमा रहेका भेडामाथि आक्रमण गर्नसक्ने जोखिम रहन्छ, जङ्गली जनावरको आक्रमणमा प्रतिकार गर्न र पशुधनको रक्षा गर्न कुकुरले ठूलो सहयोग पुग्ने गरेको छ’, उनले भने। 

खोप्रा र खयर क्षेत्रमा व्यावसायिक भेडापालन गरेका हरेक गोठमा ‘भोटे’ जातका कुकुर रहेका छन्। अधिकांश समय ज‌ंगलमै बिताउनुपर्ने भएकाले कुकुरको सुन्ने र सुँघेर पत्ता लगाउन सक्ने शक्ति बढी हुने भएकाले गोठमा गोठाला र गोठका भेडाबाख्राको सुरक्षामा कुकुरलाई द्वारपालकको रुपमा लिने गरिन्छ। 

खासगरी पहाडी क्षेत्रमा घुम्ती चरनमा लैजाने गरी राखिने गोठका गाईभैंसीपालन र भेडाबाख्रासँगै गोठमा रहेका गोठाला र हेरालुका समेत सारथी र साथी कुकुर नै हुन्। चरन क्षेत्रको लागि गोठको दूरी टाढा–टाढा राख्ने भएकाले गोठमा सुरक्षाको भरोसा कुकुरमै निर्भर हुने गरेको धौलागिरि गाउँपालिका–५ मल्कबाङका भेडापालक कृषक हिमबहादुर छन्त्यालले बताए।

जंगलका बाघ, चितुवा, भालुलगायतका हिंस्रक जनावरको आक्रमणले भेडाबाख्रामा पार्ने क्षति न्यूनीकरण गर्न कुकुरले महत्वपूर्ण भूमिका खेल्ने गरेको उनले सुनाए। ‘गोठदेखि जंगलमा चरन क्षेत्रसम्म नै कुकुरले भेडाबाख्रालाई घुमीघुमी रेखदेख गर्छन्, जंगली जनावरको आवाज र संकेत पनि कुकुरले नै छिटो थाहा पाउने भएकाले ठूलो स्वरमा भुकेर भगाउने गर्छन्, हामीगोठमा कुकुरकै भरमा हुन्छौं’, उनले भने। 

करिब ६ सय बढी भेडापालन गरेका छन्त्यालको गोठमा दुई जना हेरालु र चार कुकुरले भेडीगोठ धानेका छन्। चरन क्षेत्रमासमेत कुकुरले नै भेडाबाख्रालाई जोखिमपूर्ण ठाउँमा जानबाट रोक्ने र साँझ गोठतर्फ भेडाबाख्रा ल्याउन सहयोग गर्ने गरेको विगत ६० वर्षदेखि नै भेडापालनमा सक्रिय रहेका अन्नपूर्ण गाउँपालिका–५ का ७८ वर्षीय लालविर तिलिजा बताउँछन्। गोठका सारथि बनेका कुकुरलाई जंगली जनावरको आक्रमणबाट बचाउन कुकुरको घाँटीमा काँडेमाला लगाइदिने गरिन्छ। जिल्लाको लेकाली क्षेत्र समेटिएको क्षेत्रमा घुम्ती गोठ राखेर पशुपालन गर्ने प्रचलन रहेको छ।

घरपालुवा गुनिलो र आज्ञापालक तथा सुरक्षामा भरपर्दो जनावरको रुपमा चिनिने कुकुरको महत्वलाई तिहारको अवसरमा गरिने कुकुर तिहारको पूजा आराधानाले थप बढाउने गरेको छ। यमपञ्चक अर्थात् दीपावलीपर्वको कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरलाई मीठामीठा परिकार खान दिए यमराजको ढोकामा द्वारपालका रुपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो छोडिदिने धार्मिक विश्वासका आधारमा कुकुर तिहार मनाउने गरिएको धार्मिक मान्यता छ।




२०८१ कात्तिक १५ १३:४१ बजे

प्रतिक्रिया