५ किलोमिटर चट्टान फोडेपछि सडकसँग जोडिएका बस्तीहरू

bimbonline बिम्ब अनलाइन
२०८१ असोज २८ ०९:०० बजे

चट्टानका कारण निर्माणमा ढिलाइ भएको डोल्पाको मुड्केचुला गाउँपालिकाको मालुवाकुना सडक निर्माण सम्पन्न भएको छ । करिब पाँच किलोमिटर चट्टानले भरिएको सडक जगदुल्ला जलविद्युत आयोजनाले निर्माण गरेको हो ।

भेरी करिडोर सडकखण्डको तीन जिल्लाको संगमस्थल त्रिवेणीबाट जगदुल्ला जलविद्युत् आयोजनाको बाँधस्थलसम्म उक्त सडक पुर्‍याउने लक्ष्य छ । सडकखण्डको चुनौतीपूर्ण मानिएको ठाउँ पार गरेको मुड्केचुला गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाहीले जानकारी दिए ।

पाँच किलोमिटर चट्टान फोडेसँगै मुड्केचुला गाउँपालिका-१, २, ३ वडा सडक सञ्जालसँग जोडिएको अध्यक्ष शाहीले बताए । जगदुल्ला जलविद्युत् आयोजनामार्फत ठेक्का लगाई शेर्पा निर्माण सेवाले सडक निर्माण गरेको जलविद्युत् आयोजनाका प्राविधिक युवराज बोहराले जानकारी दिए । भेरी करिडोर सडक आयोजनासँग अब मुड्केचुला गाउँपालिका जोडिएको छ ।

जुम्लाको भालुलेक हुँदै मुड्केचुला गाउँपालिकामा सडक जोडिए पनि जाजरकोट हुँदै जाने भेरी कोरिडोरसँग बल्ल सिधा सडक जोडिएको गाउँपालिका अध्यक्ष शाहीको भनाइ छ । त्रिवेणीस्थित भेरी नदी माथिको पुल भने अझै निर्माण हुन सकेको छैन ।रासस



२०८१ असोज २८ ०९:०० बजे

प्रतिक्रिया