चिनी भन्दा सख्खर किन स्वास्थ्यको लागि फाइदाजनक छ?

bimbonline बिम्ब अनलाइन
२०८१ असोज २२ १९:२२ बजे

सख्खर उखु वा खजुरको रसबाट प्राकृतिक तरिकाले बनाइने गुलियो पदार्थ हो। यो कम प्रशोधन (unrefined)  भएको कारण यसमा पोषण तत्त्वहरू यथावत रहन्छन्। उखुको रसलाई उमालेर पानी सुक्ने गरी पकाएपछि प्राप्त हुने गाढा पदार्थलाई सख्खर भनिन्छ । यसरी तयार भएको सख्खरमा फलाम, म्याग्नेसियम, पोटासियम, क्याल्सियम, र फस्फोरस लगायतका सूक्ष्म पोषकतत्वहरू र खनिज पदार्थहरु पर्याप्तमात्रामा पाइन्छ । सख्खरमा यी खनिजहरूको उपस्थिति, यसमा चिनी बनाउने प्रयोग हुने हानिकारक रसायनहरु नहुने हुनाले नै यसलाई चिनीभन्दा स्वस्थकर मानिन्छ ।

चिनीको तुलनामा सख्खर निक्कै स्वस्थकर विकल्प हो । सख्खर परम्परागत विधिबाट प्राकृतिक रूपमा तयार गरिएको हुन्छ भने चिनी अत्यधिक प्रशोधन गरिएको उत्पादन हो।  सख्खरमा कुनै रसायन वा परिष्कृत प्रक्रियाहरूको प्रयोग हुँदैन। परम्परागत रूपमा, विशेष गरेर आयुर्वेद र युनानी चिकित्साशास्त्रमा यसलाई स्वास्थ्यवर्द्धक गुणहरू भएको खाद्य पदार्थ मानिन्छ।

सख्खर र चिनीको तुलना

व्यवसायिक रुपमा सख्खर र चिनी दुवै उखुबाट नै बनाइन्छन्, तर त्यसको उत्पादन प्रक्रिया फरक हुने गर्छ ।  चिनी सफा, शुद्ध र पूर्ण रूपमा परिष्कृत हुन्छ । यसको उत्पादन प्रक्रियामा यसका प्राकृतिक खनिज र अन्य तत्वहरू धेरै मात्रामा हटेका वा नष्ट भइसकेका हुन्छन् ।  चिनीमा मूलत: सुक्रोस (साधारण कार्बोहाइड्रेट) हुन्छ, जसले शरीरलाई तुरुन्तै ऊर्जा दिन्छ तर यसमा कुनै महत्त्वपूर्ण पोषकतत्त्वहरु हुँदैन।

त्यसको विपरीत सख्खर प्रशोधन र परिष्कृत नहुने हुनाले यसमा पर्याप्त मात्रामा पोषकतत्त्वहरु विद्यमान हुने गर्छ । वास्तवमै सख्खर पोषक तत्वहरूको स्रोत हो। यसमा फलाम, म्याग्नेसियम, क्याल्सियम, र पोटासियम जस्ता खनिजहरू हुन्छन्, जसले गर्दा यसलाई सामान्यतया (बायोएक्टिभ) मानिन्छ। यो भनेको सख्खरमा चिनीमा जस्तो केवल ऊर्जा मात्र हुँदैन । त्यसमा त शरीरका लागि अति उपयोगी हुने  सूक्ष्म पोषकतत्त्वहरू पनि हुन्छन् ।

सख्खरको फाइदाहरु

ऊर्जाको राम्रो स्रोत- सख्खरले शरीरलाई प्राकृतिक रूपमा ऊर्जा प्रदान गर्दछ। यसमा रहेको प्राकृतिक कार्बोहाइड्रेटले शरीरलाई छिटो ऊर्जा दिन्छ। यो खाँदा शरीरमा ग्लाइकोजनको मात्रा बढ्छ । फलत: त्यसले थकान कम गर्न सहयोग गर्छ। खासगरी, कडा श्रम गर्ने मानिस वा शारीरिक गतिविधि गर्नेहरूका लागि सख्खर धेरै नै लाभदायक मानिन्छ।

पाचन प्रक्रियामा सुधार- सख्खरमा रहेको प्राकृतिक तत्त्वहरूले पाचन प्रक्रियालाई राम्रो बनाउन सहयोग पुर्‍याउँछ। यसले शरीरमा एसिडहरूको सन्तुलन कायम राख्न मद्दत पुर्‍याउँछ, जसले गर्दा ग्यास्ट्रिक समस्याहरू कम गर्न सक्छ। सख्खरले आन्द्राको म्युकसलाई सुरक्षा प्रदान गरेर पाचन प्रक्रिया सुचारु बनाउन मद्दत गर्छ।

रक्तचाप नियन्त्रणमा सहयोगी-सख्खरमा पोटासियमको उच्च मात्रा पाइन्छ । सबैलाई थाहा भएकै कुरा हो, पोटासियमले रक्तचाप नियन्त्रण गर्न महत्त्वपूर्ण भूमिका खेल्ने गर्छ। खासगरी, पोटासियमले शरीरमा सोडियमको प्रभावलाई नियन्त्रण गरेर रक्तचापलाई कम गर्न सहयोग पुर्‍याउँछ। त्यसैले उच्च रक्तचाप भएका मानिसहरूको लागि सख्खर उपयोगी हुन सक्छ, किनकि यसमा चिनीको तुलनामा सोडियमको मात्रा निकै कम हुन्छ।

रोग प्रतिरोधात्मक क्षमता वृद्धि- सख्खरमा प्राकृतिक रुपमै एन्टिअक्सिडेन्टहरू पाइन्छन् । एन्टिअक्सिडेन्टहरुले हाम्रो शरीरको रोग प्रतिरोधात्मक क्षमतालाई बलियो बनाउँछ। यसले शरीरलाई फ्री र्‍याडिकल्सबाट बचाउने कार्य पनि गर्छ, जसले गर्दा दीर्घकालीन स्वास्थ्य समस्याहरूको जोखिम पनि कम गराउँछ । सख्खरमा भएका एन्टिअक्सिडेन्टहरुले  शरीरलाई हानिकारक विषाक्त पदार्थहरूबाट बचाउँछ, जसले गर्दा शरीर स्वस्थ रहन मद्दत गर्दछ।

बुढ्यौलीको असरलाई कम गराउँछ- सख्खरमा रहेको एन्टिआक्सिडेन्टले छालाको स्वास्थ्यलाई पनि सुधार गर्न मद्दत पुर्‍याउँछ। यसले फ्री र्‍याडिकल्सलाई निष्क्रिय पारेर छालामा रहेका कोशिकाहरूलाई संरक्षण गर्छ, जसले गर्दा छाला स्वस्थ र ताजा देखिन सक्छ। यसले गर्दा हामीमा बुढ्यौलीका असरहरु चाँडो देखापर्न दिँदैन, हाम्रो  छालालाई चमकदार बनाउन सहयोग पुर्‍याउँछ।

तनाव र थकान कम गर्छ- सख्खरको सेवनले शरीरमा तनाव र थकान कम गर्न मद्दत पुर्‍याउँछ। यसले शरीरमा मानसिक स्वास्थ्यका लागि महत्त्वपूर्ण सेरोटोनिनको स्तर बढाउन सहयोग गर्छ । सेरोटोनिनले मानिसलाई मानसिक रूपमा सन्तुलित राख्न सहयोग पुर्‍याउँछ र काममा थप ऊर्जा दिन्छ।

कफको उपचारमा सहयोगी- परम्परागत रूपमा वा घरेलु औषधीको रुपमा सख्खरलाई कफ वा रुघाखोकीको उपचारमा प्रयोग गरिन्छ। सख्खरले श्वासप्रश्वास प्रणालीलाई सुचारु गर्न मद्दत गर्छ र घाँटीमा रहेको कफलाई बाहिर निकाल्न सहयोग पुर्‍याउँछ। यसलाई तातो पानीमा घोलेर वा चिया जस्ता पेय पदार्थमा मिसाएर सेवन गर्दा रुघाखोकीमा फाइदा गर्छ ।

मासिक धर्मसम्बन्धी समस्यामा सहयोगी- महिलाहरूका लागि सख्खर विशेष रूपमा उपयोगी मानिन्छ। मासिक धर्मका क्रममा हुने दुखाइ कम गर्न सख्खर सहयोगी हुन्छ। साथै, मासिक धर्मको अवधिमा हुने कमजोरीलाई पनि यसले घटाउन मद्दत गर्छ, किनभने यसले शरीरलाई तुरुन्तै ऊर्जा दिन्छ र महिनावारीका कारण शरीरबाट खेर गएका आवश्यक खनिजहरूको कमीलाई पनि पूरा गर्छ।

ख्याल गर्नुपर्ने कुरा- नेपालीमा एउटा उखान छ– चिनी पनि बेसी खायो भने तीतो हुन्छ । भनाइको अर्थ के हो भने फाइदा गर्छ भन्दैमा जथाभावी  सख्खरको खानु ठीक हुन्न । यसका स्वास्थ्य फाइदाहरु धेरै भए पनि मात्रा सीमित गरेर सेवन गर्नु नै उचित हुन्छ। अत्यधिक सख्खरको सेवनले शरीरमा तौल बढ्ने, रक्तचिनीको स्तर बढ्ने जस्ता समस्याहरु देखापर्न सक्छ ।



२०८१ असोज २२ १९:२२ बजे

प्रतिक्रिया