हरेक साल आउने बडादशैँ तिमी
सबै नेपालीको घर आँगनमा
खुसि हाँसो उमंग बोकेर
उल्लास एवं जोश जाँगर बोकेर
रमाउँदै आउनु भनेका थियौँ
तर तिमी आउनु भन्दा अघि
तिमी आई पुग्ने गाउँ बस्ती र शहरमा
अहिले सम्म नदेखेको बर्षात
मानिसहरुलाई आतंकित पार्दै
बाढी पहिरोसाथ उथुलपुथुल पार्दै आयो ।
त्यो भिषण बाढी पहिरो
हामी नेपालीका लागि
अभिसाप भएर आयो
जसको चर्चा परिचर्चा
गरिसक्नु छैन यसबेला ।
देशको राजधानीभित्रकै
बिभिन्न शहर भित्र पसेर
कैयौँ घरै बगाईदियो
बस्ती बगाईदियो
बाँकी घरबस्ति पनि
बस्न नमिल्नेगरी बिगारीदियो ।
ती निरीह सोझासाझा मानिसले
के केनै बिगारेका थिए र ?
बर्षात र बाढीले उनिहरुलाई बगाईदियो
बाँचेकालाई रुवावासि बनायो
बगेर जानेको जिन्दगी बर्वाद बनाईदियो ।
राजधानीबाट गाउँ जाने सडक र
गाउँबाट शहर र राजधानी पस्ने सडकमा
बर्षात हुँदै बाढी पहिरो बनेर
सवार हुँदै गरेका
यात्रु सहितका गाडीलाई
बाढीपहिरो बनेर पोतपात गरिदियो ।
बिचराहरु कोही आमाबाबु भेट्न
कोही छोराछोरी र
लोग्ने अनि श्रीमानलाई भेट्न
कोही दाजुभाई दिदीबहिनी भेट्न
कोही गाउँतिर खुसिसाथ जादै थिए
कोही शहरतिर उमंगसाथ आउँदै थिए
आफ्ना मोफसलका डाँडाकाँडा
पहाड पाखा पखेरा नदीनाला अनि
खेतकाँ फाँट बेशी आली गह्राहरुमा
झुलीरहेका लहलह परेका
ती पहेँलपुर धानका बाला हेर्दै जाँदै थिए
तर बर्षात बाढी पहिरो ती निरीह
मानिसहरुलाई देखि सकेन
ती अबोध बालकहरुलाई सही सकेन
ती सृष्टिका खानी आमा र बालाई
आफ्ना सन्तानको खुसि
देख्न नपाउनेगरी सदाका लागि
नदि खोला र बगरमा बगाईदियो
माटो र खोल्सामुनी पुरीदियो
नदिभित्र गाडी सहित डुवाईदियो ।
मान्छेहरु कतिले लासलाई देखेर
अलाप बिलाप चीत्कार गरिरहेका छन्
कतिले भने लासै देख्न पाएका छैनन्
मानिससँगै बसेर बगेर मरेका
बस्तुभाउ गाईभैसी पाठाबाख्राको
आत्माले पनि के के भनिरहेको होला ?
मान्छेको घरबस्ति बगायो
बाँच्ने आधार जग्गा पशुबस्तु ब्यवसाय बगायो
धनमाल कागजपत्र सर्टिफिकेट
नागरिकता बगायो ।
कैयौँ मानिस बिदेशबाट
घरतर्फ आइरहेका थिए
कैयौँ मानिस घरखेत राखेर
बैदेशिक रोजगार र आफन्त भेट्न
बिदेशतिर जाँदै थिए
ति सबैका सपना र चाहनाहरुलाई
ती सबैका रहर आकांक्षाहरुलाई
बर्षातले बाढी र पहिरोसाथ बगाइदियो ।
अब प्रश्न उठिरहेछ
हामी मानिस चाडपर्व मान्न भनेर
हत्ते मरिहत्ते गरेर गाउँबेसि जान्छौँ
शहरमा पनि भविष्यको
सपना बोकेर बस्छौँ
एकैठाउँ बस्न हामीलाइ रहर त छ
घरपरिवार सँगसँगै बस्ने चाहना त छ
तर पनि हाम्रा अनेकौँ बाध्यताले
अनेकौँ परिस्थिति र कारणले हिँडेका हुन्छौ ।
यस्तो बाध्यतामा
न बर्षातले साथ दिन्छ न बाढी पहिरोले
हरेक साल कुनै न कुनै
परिस्थितिहरुको सामना गर्दै
चाडवाड मनाउनुपर्छ ।
यसैले बडादशैँ २०८१
जे बितण्डा हुनु थियो भयो
अब सुखले बाँच्न पाउनुपर्छ
शान्ति र उमंगले हाम्रा
चाडवाड र संस्कृति मनाउन पाउनुपर्छ
हामीले हाम्रा जन्मघर र कर्मक्षेत्रमा
ईच्छा अनुसार बस्न अनि
हाँसखेल गर्न गर्न पाउनुपर्छ
बडादशैँ २०८१ मा
हे जगतमाता शक्तिकि देवी
भगवती माता
बिना बाधा ब्यवधान
सबै घरपरिवार भेला भएर
बडादशैँ उल्लासले मनाउन पाउनुपर्छ ।
(प्रशान्त) २०८१।६। १८ प्यूठान खलंगा ।
प्रतिक्रिया