८ वर्षमा पनि पूरा भएन कालीगण्डकी कोरीडोर चराङ–छोसेर सडकखण्ड

bimbonline बिम्ब अनलाइन
२०८१ असोज १० ०७:४८ बजे

म्याग्दी।चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत मुस्ताङको चराङ–छोसेर खण्डमा सडक निर्माणको काम आठ वर्ष बित्दा पनि पूरा भएको छैन ।  

छ वर्षअघि सकिनुपर्ने २५ किलोमिटर लामा सडक निर्माणको काम अधुरो हुँदा स्थानीयबासी, पर्यटक र व्यवसायीलाई सास्ती भएको छ । लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसी नर्बु गुरुङले सडक निर्माणमा भएको ढिलाइका कारण यातायात सञ्चालनमा समस्या, दुर्घटनाको जोखिम, खाल्डाखुल्डी, धुलो र हिलोले हैरान बनाएको बताए ।  २०७३ सालमा सुरु भएको सडकको कामले अझै पूर्णता पाएको छैन। उनले भने डेढ वर्षपछि गत आर्थिक वर्षको अन्तिममा कार्यक्षेत्रमा आएका व्यवसायीले सडक निर्माणको कामलाई गति दिन सकेका छैनन् । 

लो–घेकर दामोदरकुण्ड गाउँपालिकाको केन्द्र चराङदेखि लोमान्थाङ गाउँपालिका–१ छोसेरको नेचुङ जोड्ने २५ किलोमिटर सडक स्तरोन्नति गर्न विसं २०७३ मा तामाङ–गौरी–पार्वति–कोशी एण्ड न्यौपाने जेभीले रु २६ करोडमा ठेक्का लिएको थियो । चराङमा कुलो र ढलको काम बाँकी छ । अरू ठाउँमा कटिङ र फिनिसिङ्को काम हुन बाँकी छ । 

विसं २०७५ साउनमा सम्पन्न गर्ने लक्ष्य राखिएको यस खण्डको भौतिक प्रगति करिब ९२ प्रतिशत रहेको बेनी–जोमसोम–कोरला सडक आयोजनाका सूचना अधिकारी ईञ्जिनियर विष्णु चापागाईंले बताए । सडक ११ मिटर फराकिलो बनाउने, नाली र पर्खाल निर्माण गरी ग्राभेल गर्ने लक्ष्य छ । सूचना अधिकारी चापागाईंले बाँकी कामलाई छिटो पूर्णता दिन ताकेता गरिएको बताए । 

मुस्ताङको सदरमुकाम जोमसोमबाट चीनको सिमाना कोरला नाका जोड्ने एक सय १० किलोमिटर सडक दुई लेनको ग्राभेल बनाउन बेनी–जोमसोम–कोरला सडक आयोजनाले विसं २०७२÷७३ देखि सातवटा खण्डमा ठेक्का लगाएको थियो । 


२०८१ असोज १० ०७:४८ बजे

प्रतिक्रिया